स्मृतिमा २४ औं जनयुद्ध दिवश
नेपाली जनताको सचेतन पहलकदमीमा आमुल परिवर्तनको लक्ष सहित शुरु भएको महान जनयुद्ध आज २४ औं बार्षिक दिवसमा आईपुगेको छ। २०५२ फागुन १ गतेदेखि “प्रतिक्रियावादी राज्यसत्ताको समुल अन्त गर्दै नयाँ जनवादी सत्ता स्थापना गर्न दिर्घकालीन जनयुद्धको बाटोमा अघि बढौं ।” भन्ने मुल उदघोषका साथ नेकपा(माओवादी) को नेतृत्वमा यो अभियान अगाडि बढ्यो। सामन्त ̷ जमिन्दार, दलाल पुँजिपतिवर्ग, नोकरशाही पुँजिपतिवर्गलाई क्रान्तिको प्रमुख निशाना किटानी गरेको जनयुद्धले सर्वहारा श्रमजिवीवर्ग देखि राष्ट्रिय पुँजिपतिवर्गसम्मलाई मित्रशक्तिको रुपमा परिभाषित गर्यो।
२०४६ को जनआन्दोलन पछिको राजनैतिक व्यवस्था सामन्तवाद र साम्राज्यवादकाबीचको गठजोडमा, हाम्रो सन्दर्भमा भारतीय विस्तारवादको समेत स्वार्थमा भएको सम्झौताबाट संबैद्यानिक राजतन्त्र र बहुदलिय प्रजातन्त्रको नाममा अभिव्यक्त भएको थियो। नेकाँको नेतृत्वमा अभ्यास गरिएको संसदीय अभ्यासले नेपालमा संसदीय व्यवस्थाकै धज्जी उडाईदियो। मुलुकमा निरंकुशताको अभ्यास भयो। काँग्रेस इतरका शक्तिलाई दुःख दिने कुनै हथ्कण्डा पनि बाँकी रहेनन। जसले ‘राजतन्त्रात्मक संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने माओवादी उक्तिलाई व्यवहारीक रुपमा पुष्टी गरिदियो। सरकारी दमनले माओवादी जनयुद्धको तयारीलाई अझ नजिक ल्याईदियो। ०५२ फागुन १ गते नै माओवादीले सम्पुर्ण उत्पीडित वर्ग, जाती, क्षेत्र र लिंगका जनसमुदायलाई मुक्तिको अभियानमा सहभागी हुन अपील गर्दै बन्दुकको नालमा टिकेको सत्तालाई बन्दुकको नालबाटै ढलाईदिने उदघोषसहित अघि बढ्यो।
तत्कालीन राज्यले माओवादी जनयुद्धलाई दबाउन सबै खाले दमनका उपायहरुको अबलम्बन गर्यो। माओवादीले पनि राज्यआतंकको जोडदार रुपमा प्रतिरोध गर्दै अघि बढ्यो। पाँच बर्षको लामो लडाईको अनुभव, राष्ट्रिय अन्र्तराष्ट्रिय शक्ति सन्तुलनमा आएको फेरबदल लगायतको बस्तुगत अबस्थाको मुल्यांकन गर्दै माओवादीले गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको निर्वाचनको कार्यनिति अघि सार्यो। क्रान्ति, परिवर्तन र शान्तिप्रतिको जनभावनाको कदर गर्दै युद्ध र वार्ताका कोशीसहरु पनि पटकपटक भए। जब राजतन्त्र अन्तिम पटक सिमित प्रजातान्त्रिक हक खोसेर निरंकुश बन्ने बाटो समात्यो त्यसको पुर्ण समाप्ती संभव बन्न गयो। दलहरु संविधानसभाको लागि तयार भए, माओवादी जनवादी गणतन्त्रको रणनितिबाट तत्कालीन कार्यनितिको रुपमा लोकतान्त्रिक गणतन्त्रमा आउन तयार भयो। यसरी नेपालमा राजतन्त्रको पुर्ण अन्त गरि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र संविधानसभाको निर्वाचन मार्फत यसको संस्थागत विकास गर्न संभव भयो। नेकपा(एकताकेन्द्र मसाल) लगायतका क्रान्तिकारी राजनैतिक शक्तिहरुले जनयुद्धसँग सामिप्य रहि जनसंघर्षमा आफ्नो मोर्चा सम्हाले। त्यसले शान्तिप्रक्रिया पछि पार्टी एकतासम्म पुग्ने आधार तयार भयो। चुनवाङ बैठकबाट माओवादीले लिएको लोकतान्त्रिक गणतन्त्रको बाटो र तत्कालिन नेकपा(एमाले) लगायत दलहरुले लिएको बाटो यी दुइ पार्टीको बीचमा भएको पटक पटकको वार्ता र लिखित सहमतिको आधारमा माओवादी र सात दलबीच भएको १२ बुँदे समझदारी बन्ने आधार तयार भयो। जुन कोर्षले आजको नेपाललाई निर्देशित गरिरहेको छ, ती दुई ठुला कम्युनिष्ट पार्टी आज एउटै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निमार्ण गर्ने ऐतिहासिक स्थानमा आईपुगेका छन।
नेपाली समाजको आमुल रुपान्तरणको लागि जनयुद्धको जुन ऐतिहासिक भुमिका रह्यो, आज हामी त्यसलाई स्मरण र सम्मान गर्ने दिनमा आईपुगेका छौं। आफ्नो जीवन र व्यक्तिगत चाहनालाई देश र जनताको निम्ति सर्मपण गर्ने महान शहिदहरु, वेपत्ता योद्धाहरु, घाईते योद्धाहरु, शहिद वेपत्ता योद्धाका परिवार र सम्पुर्ण न्यायप्रेमी जनसमुदायलाई सम्मान र नमन गर्ने दिनमा हामी उपस्थित भएका छौं।
जनयुद्धले स्थापित गरेका केही मुल्यहरुः
१. मालेमावादी शिक्षाको आलोकमा विशौं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका शिक्षा तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय परिस्थितिको ठोस विश्लेषण सहित नेपालमा क्रान्ति संम्भव छ भन्ने निष्कर्ष बोकेर नेपाली समाजको वर्गविश्लेषण गर्नु, त्यसको आधारमा जनयुद्धको ऐतिहासिक थालनी गर्नु, निरन्तरता दिनु र अन्र्तविरोध सञ्चालन सम्बन्धि माओवादी मान्यता अबलम्बन गर्दै अघि बढ्नु, राजनैतिक परिस्थितिको ठोस विष्लेषण गर्दै संविधानसभाबाट संविधान निमार्णको कार्यनिति अवलम्बन गर्नु, नेपाली समाजको पश्चगामी चरित्र बोकेको सामन्तवाद र त्यसको मुल प्रतिनिधि राजतन्त्रलाई समाप्त पार्ने आधार तयार गर्नु जनयुद्धको ऐतिहासिक उपलब्धि थियो।
२. विचारधाराको अन्त्य, संगठनको अन्त्य, संस्कृतिको अन्त्य जस्ता विषयहरु उठाएर विर्निमाण र विघठनको नारामा माक्र्सवादको अन्त्यको ढोल पिट्दै आएको उत्तरआधुनिकतावादका विरुद्ध जनयुद्धले विचार निमार्णको क्षेत्रमा महत्वपुर्ण भुमीका निमार्ण गर्यो। क्रान्ति सम्पन्न गर्ने मात्र होइन प्रतिक्रान्ति रोक्ने नयाँ ढंगको कम्युनिष्ट पार्टी, सेना र सत्ता निमार्ण गर्ने, पार्टी र सत्तामा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्ने तथा क्रान्तिकाल र क्रान्ति पश्चात् निमार्ण हुने क्रान्तिकारी सत्ताभित्र सामन्तवाद तथा साम्राज्यवाद विरोधी शक्तिहरुले दलगत प्रतिस्पर्धा गर्न सक्ने वैचारिक आधार बोकेको २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धि प्रस्ताव अगाडि सार्यो। विज्ञानले विकासको लागि प्रयोगको माग गर्दछ भन्ने तथ्यलाई आत्मासाथ गर्दै मालेमावादको नेपाली समाजमा प्रयोगद्धारा विकास भएका विचार श्रृखलालाई प्रचण्डपथको रुपमा संश्लेषण गर्यो।
३. जनयुद्धले समाजमा मौलाएको स्वार्थी, व्यक्तिवादी, निम्न पुँजीवादी तथा उपभोक्तावादी संस्कृतिलाई परास्त मात्र गरेन यसले देश र जनताका निम्ति आफुलाई समर्पित गर्ने, राष्ट्रिय स्वाधिनता र जनताको मुक्ति भन्दा ठुलो आफ्नो जीवन नभएको र त्यसका लागि वलिदानको जस्तोसुकै मुल्य पनि चुक्ता गर्न तयार हुने क्रान्तिकारी विचार र संस्कृतिको निमार्ण गर्यो। नेपाली जनताका हजारौं सर्वोत्तम छोराछारी शहिद हुन तयार भए। सयौं सर्वोत्तम छोराछोरी वेपत्ता हुन तयार भए । हजारौं आज पनि अंगभंग भएर जीईरहेका छन। हजारौं क्रान्तिकारी योद्धाहरु बेघरबार हुन तयार भए । लाखौं लाख जनसमुदायले देश र जनताको मुक्ति आन्दोलनमा आफ्नो क्षेत्रबाट अमुल्य सहयोग र योगदान गर्न तयार भए । यो जनयुद्धले पैदा गरेको त्याग, वलिदान र सर्मपणको गौरवशाली भावधारा थियो।
४. जनयुद्धले राष्ट्रियता र जनवाद अर्थात लोकतन्त्र सम्बन्धि परम्परागत मान्यताहरुलाई रुपान्तरण गर्यो। राष्ट्रियताको कुरा गर्दा सामन्ती दरबारसँग नजिक हुने र लोकतन्त्रको कुरा गर्दा छिमेकी भारतसँग निकट हुने पुरानो चिन्तनलाई जनयुद्धले परास्त मात्र गरेन, राष्ट्रियता र जनवादको प्रगतिशिल परिभाषाभित्र सिंगो देशलाई ल्याईपुर्यायो। पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको नेपालको एकीकरण भौगोलिक एकीकरण थियो जसले बहुजातिय, बहुभाषिक र बहुसंस्कृतिक पहिचानलाई समाप्त गर्यो। आन्तरिक राष्ट्रियतालाई दमन गरेर समाप्त पारेर वृहत राष्ट्रिय एकता प्राप्त गर्न असंभव थियो। जनयुद्धले पहिलो पटक नेपाली जनताका सबै जाती, भाषा, संस्कृतिक पहिचानको कुरा उजागर गर्यो र सबै उत्पीडित राष्ट्रियतालाई अगाडी ल्याईदियो। जुन नेपाल राष्ट्र निमार्णको बलियो आधार बन्न संभव थियो। तसर्थ जनयुद्ध वर्गीयमुक्ति तथा राष्ट्रियमुक्ति आन्दोलनको कुल योग थियो। परम्परागत नेपाली राजनीतिमा सधैंभरि शक्तिको श्रोत कि त दरबार कि त दिल्ली भन्ने मान्यता हावी थियो। जनयुद्धले शक्तिको श्रोत जनता हुन र जनताले आफ्नो इतिहास आफै बनाउन सक्छन भन्ने कुरा पुष्टी गर्यो। यो बैचारिक मान्यतालाई नेपाली जनता र जनताका प्रतिनिधिहरुले जनआन्दोलनको उत्कर्षमा र संविधानजारि गर्ने समयसम्म आउँदा पुष्टी गरीसकेका छन।
५. जनयुद्धले समाजमा पछि परेका र पारिएका किसान, मजदुर, उत्पीडित जाती र समुदाय, कर्णाली, सेतीमहाकाली लगायतका उत्पीडित क्षेत्र र समाजको आधा हिस्सा ओगटेको महिलाहरुमा शक्तिशाली वैचारिक अभियान संचालन गर्यो। दुनियाँका श्रमिक तथा उत्पीडितहरु एक हौं भन्ने मालेमावादी वैचारिक मान्यताका आधारमा नेपाली समाजमा इतिहासमा कहिल्यै नभएको जनजागरण, राजनैतिक सचेतना र जनएकता पैदा गर्यो। इतिहासमा पहिलोपटक हजारौं महिला दिदीबहिनीहरु नियमित सेनाको रुपमा जनमुक्ति सेनामा लामबद्ध बने। झुपडीहरु रातो झण्डा बोकेर उठे। पुरानो सत्ताका विरुद्धको यो अद्धितिय जागरण र विद्रोहलाई हामी कुन शब्दले सम्बोधन गर्ने आफै गरौं। फलस्वरुप समाजका उत्पीडित क्षेत्रबाट जन्मेका जनताका छोराछोरीलाई राजनीतिको नेतृत्वतहमा मात्र पुर्याएन राज्यसत्ताको केन्द्रभागमा समेत पुर्यायो।
“दार्शनिकहरुले दुनियाँको व्याख्या त गरेका छन तर मुख्यकुरा यसलाई बदल्नु हो।” भन्ने कार्लमाक्र्सको कालजेयी विचारलाई एकपटक नेपाली न्यायप्रेमी जनसमुदायले लागु गर्ने प्रयत्न गरे। सशस्त्र जनयुद्ध र शान्तिपुर्ण जनआन्दोलनको रुपमा त्यसको प्रयोग भएको छ र परिणामस्वरुप हामी आजको स्थानमा आईपुगेका छौं। तसर्थ आज महान जनयुद्धको गौरवशाली इतिहासलाई सम्मान गर्ने दिन हो। नेपाली कम्युनिष्ट आन्दोलनको मुलप्रवाह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संस्थागत रुपमा फागुन १ गतेलाई जनयुद्ध र जनआन्दोलनका शहिदहरुको सम्मानमा श्रद्धाञ्जली गरेर यो जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ । नेकपाले नेपालको ऐतिहासिक राजनैतिक परिर्वतनमा जनयुद्धले खेलेको गौरवशाली भुमीकाको स्वामित्व लिनु स्वागतयोग्य कुरा हो। सम्पुर्ण परिर्वनकामी जनसमुदायले बेहिच्किचाहट जनयुद्धको गौरवगाथालाई सम्मान गरौं।
१ फागुन, २०७६