रिर्पोट/ सेती महाकालीमा अखिल(क्रान्तिकारी)

२१ औं शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलन !
शैक्षिक अधिकार र पूर्णप्रजातन्त्रको लागि रणनैतिक प्रत्याक्रमण !!

“मालेमावाद मानव जातिलाई नै मुक्त गर्ने एकमात्र वैज्ञानिक दर्शन हो र यसको ज्ञानविना जनताका सेवाका सबै कुराहरु खोक्रा बकवास मात्र हुन्छन् आम विद्यार्थीहरुमा यो वैज्ञानिक विचारधाराको अध्ययन, प्रचार र अनुशरणको तिर्खा जगाउनु आजको आवश्यकता हो।”
– अध्यक्ष क. प्रचण्ड
“प्रतिक्रियावादी राज्यसत्ताले अवलम्बन गरेको शिक्षानीति स्वभावैले सामन्त, दलाल र नोकरशाही पुँजीपतिवर्गको स्वार्थ पुरा गर्न आवश्यक नोकर तयार पार्ने उद्देश्यमा आधारित रहेको छ। चरम व्यक्तिवादी, अराजकतावादी, पदलोलुप र दास मनोवृतिका विरुद्ध विद्रोह गरी प्रतिक्रियावादी वर्गको समग्र शिक्षा व्यवस्थालाई ध्वंश नगरी जनवादी शिक्षा व्यवस्थाको निर्माण सम्भव छैन। यतिबेला आम विद्यार्थीहरुमा यो चेतना पैदा गर्न अनिवार्य छ कि नेपाली जनताको इतिहासको निर्माण शोषक वर्गका स्कूल र कलेजबाट होइन अशिक्षित र अपहेलित भनिएका मजदूर र किसानको बन्दुकबाट भईरहेको छ।”
– अध्यक्ष क. प्रचण्ड
आदरणीय प्रमुख अतिथि, विशेष अतिथि, आमन्त्रित अतिथि कमरेडहरु तथा भेलामा सहभागी प्रतिनिधि क्रान्तिकारी विद्यार्थी साथीहरु,
नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको ५५ औ वर्ष, अनेरास्ववियू स्थापनाको ३९ औं वर्ष र नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको ९ औ वर्ष पार गरि २१ औ्र शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वैचारिक र व्यवहारिक नेतृत्व गर्ने ऐतिहासिक र गौरवशाली जिम्मेवारी हाम्रो संगठन अनेरास्ववियू(क्रान्तिकारी)ले प्राप्त गरेको छ। देशको राजनैतिक शक्ति सन्तुलनको विशिष्ट स्थितिमा “शैक्षिक अधिकारका लागि नयाँ संविधान, आमुल परिवर्तनको पक्षमा १६ औं राष्ट्रिय सम्मेलन” भन्ने मुल नाराका साथ ऐतिहासिक १६ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको पनि करीब डेढ वर्ष बितिसकेको छ। विगत राष्ट्रिय सम्मेलन देखि यहाँसम्म आउँदा देश भित्र र देश बाहिरको वस्तुगत एवं आत्मगत स्थितिमा महत्वपूर्ण परिवर्तनहरु भएका छन। २१ औं शताब्दीमा सर्वहारा क्रान्तिका सम्भावना र चूनौतिहरुका नयाँ नयाँ वैचारिक, राजनैतिक, फौजी र संगठनात्मक आयामहरुको उद्घाटन गर्दै महान नेपाली जनयुद्ध प्रतिक्रियावादी सत्ताका विरुद्ध “क्रान्तिकारी रुपान्तरणको प्रक्रियालाई नयाँ उचाईमा उठाउँदै रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरौं ” भन्ने उद्घोषका साथ नयाँ र अन्तिम चरणमा प्रवेश गरेको छ । नेपालको विशिष्ट भू–राजनैतिक अवस्थितिमा भइरहेको माक्र्सवाद—लेनिनवाद—माओवाद र प्रचण्डपथको वैज्ञानिक प्रयोग र विकास प्रक्रियाले वर्ग संघर्ष र विकासको द्वन्द्वात्मक नियम अनुसार नै नेपाली जनयुद्ध विश्व साम्राज्यवाद र भारतीय विस्तारवाद समेतलाई गम्भीर चुनौती बन्न पुगेको छ। सामन्ती प्रतिगामी तत्वहरु वैदेशिक प्रतिक्रियावादका सामु आत्मसमर्पण गर्दै राष्ट्रघात र जनहत्याका निकृष्ट अपराधलाई बढावा दिने दुश्स्वप्न देखिरहेका छन। यो सन्दर्भमा परिवर्तनका वाहक, राष्ट्रियताका पहरेदार समाजको अग्रगामी र चेतनशील वर्ग युवा विद्यार्थीहरुको गौरवशाली र क्रान्तिकारी संगठन अखिल(क्रान्तिकारी) नेपाली क्रान्तिको एक अभिन्न अंगको रुपमा उच्चतम बलिदानीको बीचबाट मालेमावाद र प्रचण्डपथको संवाहक शक्तिको रुपमा सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको अथक योद्धा बनेको छ। गत माघ देखि यता संगठनले विकसित विचार र नेतृत्वलाई देशव्यापी रुपमा आम विद्यार्थी बीच पुर्याउन कमल पसिन्द्र संगठन विस्तार र सुदृढिकरण अभियान मार्फत विचार, संगठन, संघर्ष र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु हासिल गर्दै आएको छ।
देशको सूदूर पश्चिमी मोर्चा सेती–महाकालीमा क्षेत्रीय समन्वय समिति मार्फत १६ औं राष्ट्रिय सम्मेलनले निर्दिष्ट कार्ययोजना र गत केन्द्रीय सचिवालयको वैठकका निर्णयहरुलाई सेती महाकालीको ठोस विशिष्टतामा पहिलो चरणमा “एकीकृत जनप्रतिरोध अभियान” मार्फत र दोश्रो चरणमा “सशस्त्र जनमार्चिङ्ग अभियान र एकीकृत नयाँ जनसैन्य अभियान” को पार्टी योजनालाई आम विद्यार्थी बीचमा केन्द्रीय सदस्यद्धय सहिद कमल पौडेल र पसिन्द्र पटेलको नाममा नामाकरण गरिएको अभियान “कमल पसिन्द्र संगठन विस्तार र सुदृढिकरण अभियान” को नाममा लागु गरियो। विकसित विचारलाई लागु गर्ने क्रममा अभियानले त्यसको वैज्ञानिकतालाई मात्र पुष्टि गरेन त्यसको थप संश्लेषणका लागि प्रशस्त खजानाहरु प्रदान गर्यो । अभियानको क्रममा प्राप्त उपलब्धीहरुलाई सकारात्मक चुनौतीको रुपमा लिँदै वर्तमान सन्दर्भमा वैदेशिक हस्तक्षेप सामन्यतया अमेरिकी साम्राज्यवाद र विशेषगरी भारतीय विस्तारवादका विरुद्धको संघर्ष र रणनैतिक प्रत्याक्रमणको चुनौतीपूर्ण अभिभारा सेती महाकाली क्षेत्रका विद्यार्थीहरुको अगाडि पनि नेपाली क्रान्ति र क्रान्तिकारी विद्यार्थी आन्दोलनले सुम्पेका अभिभारा हुन। सर्वहारा वर्गको अग्रदस्ता ने.क.पा.(माओवादी) को नेतृत्वमा नेपाली जनयुद्धले रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरिसकेको स्थितिमा र भावी विकासका चुनौतीपूर्ण आवश्यकताले क्रान्तिकारी विद्यार्थी आन्दोलनमा समेत विचार, संगठन, संघर्ष र सँस्कृतिको समग्र क्षेत्रमा थप विकास, स्पष्टता र रुपान्तरणको माग गरिरहेको छ। सोही वैचारिक स्पष्टता र रुपान्तरणको लागि आवश्यक अन्तर्क्रिया, ठोस कार्ययोजना निर्माण र कार्यक्रम तर्जुमा गर्नका लागि “२१ औं शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलन, शैक्षिक अधिकार र पूर्ण प्रजातन्त्रकोलागि रणनैतिक प्रत्याक्रमण” भन्ने मुल नारा सहित यो सेती महाकाली क्षेत्रीय भेलाको आयोजना गरिएको छ।
हामीलाई आशा एवं विश्वास छ, भेलाले विश्व परिस्थिति र घरेलु परिस्थिति, विकसित विचार प्रचण्डपथ, विस्तारवादी हस्तक्षेप, रणनैतिक प्रत्याक्रमण, कार्यशैलीमा शुद्धीकरण र रुपान्तरणबारे ने.क.पा.(माओवादी) ले लिएका निर्णयहरुको सही बुझाई र स्पष्टता हासिल गर्नेछ। भेलाले रणनैतिक प्रत्याक्रमणको यस संवेदनशील र निर्णायक चरणमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको ठोस पहल कदमी र भुमिकाबारे आम विद्यार्थीहरुमा बैचारिक स्पष्टता कायम गर्नेछ। भेलाले वर्गीय, जातिय, लैङ्गिक, शैक्षिक तथा राष्ट्रियताका समस्याबारे स्पष्टता कायम गर्दै विचार, संगठन, संघर्ष र सांस्कृतिक रुपान्तरणका क्षेत्रमा ठोस कार्ययोजना तर्जुमा गर्नेछ। भेलाले विगतमा सेती महाकाली क्षेत्रमा भए गरेका विद्यार्थी आन्दोलनको सिंहावलोकन गर्दैै उपलब्धी र सिमा समस्याको ठोस किटानी गर्नेछ।

महान शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली !
“जब मानिसले निहित स्वार्थ र संकीर्णताका घेराहरु तोडेर धर्तिका विशाल, बहुसंख्यक जनताका मुक्ति र प्रगतिको लागि आफूलाई समर्पित गर्दै त्यो महान आदर्शका निम्ति वलिदान हुनलाई जीवनको वास्तविक मुल्यबोध गर्दछ। तब दुनियाँका कुनै पनि तागतले उसलाई हराउन सक्दैन।”
– क. प्रचण्ड
क्रान्तिकारी विद्यार्थी आन्दोलनको यो उचाई र गौरव प्राप्त गर्नका लागि “विद्रोह गर्नु अधिकार हो” भन्ने उन्मुक्तिको महान् वाणीलाई जीवन दर्शन बनाई वर्गयुद्धको अग्रिम मोर्चामा हामफाल्ने हाम्रो गौरवगाथा, आस्थाका धरोहर, मर्मस्थलका ढुकढुकी, जसले मानिसद्वारा मानिसमाथि हुने सबै प्रकारका शोषण, दमन र उत्पीडनका विरुद्ध सर्वहारा श्रमजीवि वर्गको आजादीको झन्डा उठाए, स्पार्टकसको दास विद्रोहदेखि पेरिसका कम्युनार्ड हुँदै रुसी बोल्सेभिक क्रान्तिमा वीरताका गाथा तयार गर्दै, महान् सर्वहारा साँस्कृतिक क्रान्तिको झण्डा उठाउदै विश्व क्रान्तिको महान् यात्रामा रगत बगाउने सम्पूर्ण महामानवहरु, मालेमावाद र प्रचण्डपथको आलोकमा जनवादी स त्ता र शिक्षा प्राप्तिको अभिष्टमा आन्दोलनको वलिवेदीमा प्राणोत्सर्ग गर्ने जनयुद्ध पूर्वका गंगालाल श्रेष्ठ, दशरथ चन्द, चिनिया काजी, मित्रमणि आचार्य, शिवप्रसाद पौडेल, फणेन्द्र तिमिल्सेना, सम्झना दहाल, अनिश शाक्य तथा जनयुद्धका हाम्रा महान् शहीदहरु दिल बहादूर रम्तेल, बेनोज अधिकारी, जनम बराल, रामबहादूर रायमाझी ऋषि घिमिरे, टिकाराम गौतम, गणेश ढकाल, शंकर तमु, नारायण शर्मा, प्रीतकुमार मोक्तान, पसिन्द्र पटेल, कमल पौडेल, तिलक भण्डारी, लालबहादूर बोहरा, जयबहादूर चन्द, भक्ति सञ्ज्याल, धिरबहादूर बम, रतन चौधरी, गणेश चौधरी, गोविन्द भण्डारी, लक्ष्मी भण्डारी, छविराज बोहरा, दुर्गाकुमारी सापकोटा, नरकला गिरी, बसन्त बोहरा, जितसिंह ठगुन्ना, दुर्गादत्त जोशी लगायतका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वहाँहरुले देखाएको बाटोमा दृढतापूर्वक अघि बढेर महान लक्ष्य हासिल गर्ने दृढ प्रतिज्ञा गर्दछौं।

फाँसीवादी सत्ताको क्रुर कस्टडीमा बन्दी बनाईदा र वेपत्ता पारीदा पनि आफ्नो अवस्थाको चुली झुक्न नदिने सम्पूर्ण साथीहरुलाई सम्मानपूर्वक जुझारु अभिवादन टक्रयाउँछौं। हामी यस अवसरमा सामन्ती आततायी निरंकुश सत्ताद्वारा वेपत्ता पारीनु भएका पुर्वमहासचिव पूर्ण पौडेल, महासचिव हिमाल शर्मा, भू.पू.उपाध्यक्ष कृष्ण के.सी., के.स.स.हरु विपिन भण्डारी, नविन राई, दिल बहादूर राई, कृष्ण चौधरी, जानकी चौधरी, कमल पि.एम., कटक राई, देवहरी रिजाल, गोकुल निरौला, दिपेन्द्र पन्त, सिएन र्ढुगाना, अहेन्द्र विक्रम लिम्बु, काठमाडौं अध्यक्ष विना मगर, बझाङ्ग अध्यक्ष हंसराज खड्का, कञ्चनपुर अध्यक्ष बसन्त चौधरी, डोटीका विद्यार्थी नेता रमेश थापा लगायतका सम्पूर्ण साथीहरुलाई तत्काल सार्वजनिक गरी बिनासर्त रिहा गरियोस भन्ने माग पुनः दोहोर्याउँछौं।

अन्तर्राष्ट्रिय परिस्थिति :
चीनमा कमरेड माओत्सेतुङ्गको निधन पश्चातका घटनाक्रम, सोभियत संघको विघटन र शीतयुद्धको अन्त पश्चात विश्वभर अमेरिकी साम्राज्यवादले उदण्डता मच्चाइरहेको छ। साम्राज्यवादी एकाधिकार “भूमण्डलीकरण” “उदारीकरण” र “नीजिकरण” का नाममा तेश्रो विश्वका उत्पीडित राष्ट्र एवं जनताका प्राकृतिक साधन श्रोत, श्रम र बजारमाथि लुटपाट गरिएको छ । जनताका जनवादी, समाजवादी एवं राष्ट्रिय मुक्ति आन्दोलनलाई “आतंकवाद” को संज्ञा दिँदै फाँसीवादी फौजी आक्रमण गरिरहेको छ।

आजको विश्वभर प्रमुख अन्तरविरोधको रुपमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादका विरुद्ध उत्पीडित राष्ट्र र जनताको आक्रोश र प्रतिरोधको नयाँ लहरहरु जन्मिरहेका छन। सेप्टेम्बर ११ पछि “आतंकवाद” विरुद्धको युद्धको नाममा अमेरिकी साम्राज्यवादले अफगानिस्तान र इराकमा गरेको साम्राज्यवादी हमलाका विरुद्ध विश्वव्यापी जनमत निमार्ण भएको छ। “प्रजातन्त्र” र “मानवअधिकार” को ढोल बजाएर नथाक्ने आतंकवादको नाइके अमेरिका इराकी जनताको प्रतिरोधले पागल बनेको छ। अरबको तेल भण्डार कब्जागरी आफ्नो संकटग्रस्त अर्थतन्त्र टिकाउने साम्राज्यवादी योजना थप संकटमा परेको छ र इराक बुश मण्डली र उसका कुत्ताहरुको कब्रस्तान सावित भएको छ। अमेरिकी चुनाव मार्फत पुनः सत्तामा आउन सफल साम्राज्यवादको नाइके बुशले कट्टर दक्षिणपन्थी कोन्डालिजा राइसलाई विदेशमन्त्री नियुक्त गरेर आफ्नो नाङ्गो साम्राज्यवादी हस्तक्षेप अझ तीब्र बनाउने सम्भावना बढेको छ। यसरी अमेरिकी साम्राज्यवाद फौजी रुपमा हावी हुन खोजेतापनि राजनैतिक रुपमा एक्लिँदै र हार्दै गएको छ। आफ्नो बजार र प्रभाव क्षेत्रको पुनः विभाजनमा प्रकट हुने अन्तर साम्राज्यवादी अन्तरविरोध, अफगानिस्तान र इराकमा भएको अमेरिकी आततायी आक्रमण र अन्य साम्राज्यवादी देश विशेषतः यूरोपेली देशहरुको आर्थिक स्वार्थ माथिको हस्तक्षेपले यो अन्तरविरोध पनि व्यक्त भइरहेको छ। सम्भावित प्रतिद्वन्दि चीनलाई घेराबन्दी गर्न अमेरिकी साम्राज्यवाद भारतीय घोडा चढेर नेपालको सामरिक भूमि कब्जा गरी फौजी अखडा खडा गर्ने रणनीति अन्र्तगत भारतीय विस्तारवादलाई अघि सारेको छ। मध्यपूर्वमा प्यालेष्टाइनी जनताको राष्ट्रियताको आन्दोलन खतम गर्न उसको नोकर इजराइली फाँसीवाद अघि सारेको छ। पेरु, टर्की, फिलिपिनो लगायतका जनमुक्ति आन्दोलनलाई प्रत्यक्ष रुपमा दमन गर्न कठपुतली सत्तामार्फत अघि बढिरहेको छ। यसरी अमेरीकी साम्राज्यवाद विश्व जनमतकै निकृष्ट दुश्मन सावित भएको छ। अमेरिका भित्रै बुश मण्डलीका विरुद्ध अमेरिकालाई विश्वबाटै एक्लो र असुरक्षित राष्ट्र बनाएको आक्रोशमा लाखौका जनप्रदर्शन भइरहेका छन। आज एशिया, अफ्रिका र दक्षिण अमेरिकाका मात्र होइन युरोप र अमेरिकामा समेत जनआक्रोशको आगो दन्किरहेको छ। हामी गम्भीर हुने विषय यहाँ छ कि यो आक्रोश किन निर्णायक संघर्षमा परिणत हुन सकेन? घनिभूत रुपमा विस्फोटक बन्दै गएका अन्तरविरोधहरु रहेको आजको साम्राज्यवाद र सर्वहारा मुक्तिका युगमा किन क्रान्तिको आँधि उठ्न सकेन? यसको उत्तर खोज्दै सर्वहारावर्गको अग्रदस्ता ने.क.पा.(माओवादी) को केन्द्रीय समिति बैठकबाट पारित दस्तावेजको सार खिच्दै पार्टी पश्चिम केन्द्रीय कमाण्डको रिपोर्ट तथा कार्य योजनामा भनिएको छ “विचारधारात्मक तथा साँस्कृतिक रुपमा उत्तर आधुनिकतावादी विभ्रममा पैदा भएको भूमण्डलीकरण, उदारीकरण र नीजिकरणको नाममा अमेरिकीकरण गर्ने एकाधिकार पूँजीवादको नयाँ रुप लिएर आएको र आतंकवाद विरोधी युद्धको नाममा फाँसीवादी सैन्य राजनीतिका रुपमा देखा परेको साम्राज्यवादी विश्व व्यवस्थाको विकल्पमा मालेमाका ३ संघटक अंगका रुपमा गुणात्मक विकासद्वारा वैचारिक हस्तक्षेप गर्दै प्रचण्डपथलाई नयाँ उचाईमा स्थापित गरी समाजवादी विश्व व्यवस्थाका लागि विश्वक्रान्तिको लहर श्रृष्टि गर्ने कुरामा के.स.को दस्तावेजले जोड दिएको छ।” यो भनेको आजको युगमा साम्राज्यवादका विरुद्ध लड्ने वैचारिक हतियारले लैस सर्वहारावर्गको पार्टी निमार्णको प्रश्न टट्कारो बनेको छ।

नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलन र भारतीय विस्तारवाद विरुद्धको संघर्षबारे :
नेपाल कम्युनिष्ट पार्टीको स्थापना लगत्तै जन्मेको अखिल नेपाल विद्यार्थी फेडरेशनले क्रान्तिकारी विद्यार्थी आन्दोलनको जग बसाल्यो। राणाशासन विरुद्ध आन्दोलनमा सहभागिता, दिल्ली सम्झौता विरोधी संघर्ष, भारतीय मिलिटरी मिसनको विरोध, न्यून बैतनिक कर्मचारीहरुको मागको समर्थन, विद्यार्थीको शैक्षिक अधिकारको साथै जनअधिकार र जनजीविकाका लागि संघर्षरत भई अ.ने.वि.फे.ले सामन्तवाद, साम्राज्यवाद र भारतीय विस्तारवाद विरोधी आन्दोलनको एक अङ्गको रुपमा आफूलाई स्थापित गर्यो। धोकापूर्ण त्रिपक्षीय दिल्ली सम्झौताको विरुद्धको आन्दोलन राष्ट्रियताको पहरेदारीकै आन्दोलनको एक अंग थियो। जसमा पहिलो पटक विद्यार्थी नेता चीनिया काजिको शहादत हुनपुग्यो। सन् १९५० को कोशी, गण्डकी लगायतका असमान सन्धी सम्झौता विरोधी आन्दोलन र २०२५ को भारतीय चेकपोष्ट र असमान सन्धी विरोधी आन्दोलन विस्तारवादी हस्तक्षेप विरुद्ध आन्दोलनका निरन्तर मोर्चाहरु हुन। क्रान्तिकारी विद्यार्थी आन्दोलनको वैचारिक र कार्यक्रमिक नीति निर्माण गर्न सफल २०२६ को तेश्रो राष्ट्रिय सम्मेलनले सामन्तवाद, साम्राज्यवाद, नोकरशाही पुँजीवाद, सामाजिक साम्राज्यवाद र भारतीय विस्तारवादका विरुद्ध संघर्ष गर्ने दिशा निश्चित गरेको थियो। शैक्षिक सवालका साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा आन्दोलनको उठान गर्ने नीति निर्माण गरेको छ। २०३५, ३६को विद्यार्थी आन्दोलन र राष्ट्रियता र प्रजातन्त्रको बारेमा यसले खडा गरेको बहस २०४५ चैत्र २० मा पारवहन सन्धीलाई निहु बनाई भारतले नेपालमाथि आर्थिक नाकाबन्दी गर्यो। त्यसका विरुद्ध ४ अखिल संयुक्त भई संचालन गरेको आन्दोलनले पञ्चायत विरोधी आन्दोलनमा एक कोशे ढुंगा सावित भयो। आन्दोलनको निर्णायक मोडमा काँग्रेस, बाममोर्चा, दरबार तथा वैदेशिक प्रतिक्रियावाद मुलतः भारतीय विस्तारवादको मध्यस्ततामा धोकापूर्ण त्रिपक्षीय सम्झौता भयो। राष्ट्रियता र जनतन्त्रका निम्ति कैयौं शहीदहरुले बलिदानी दिइ भएको यस आन्दोलनमा शोषित पिडित जनसमुदायको भावनामाथि कुठाराघात गर्दै राजतन्त्रात्मक संसदीय व्यवस्थामा संझौता भयो। यो नेपाली जनता माथिको गद्दारी र धोका थियो। ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ले यस सभ्झौतालाई नेपाली जनतामाथिको धोका एवं गद्दारी भएको घोषणा गर्दै जनआन्दोलनलाई निरन्तरता दिने घोषणा गर्यो। स्थापनाकाल देखि नै शिक्षा प्रणालीमा वैदेशिक हस्तक्षेप र सामन्तवादी स्वार्थका विरुद्ध लड्दै राष्ट्रिय स्वाधिनता र प्रजातन्त्रका निम्ति संघर्षरत अखिल (क्रान्तिकारी) जनआन्दोलनमा पनि आफ्नो श्रेष्ठ भूमिका स्थापित गर्यो। वि.सं. २०५० को बानेश्वर काण्डमा प्रदर्शित विस्तारवाद विरोधी विद्यार्थी विद्रोह, कालापानीमा भारतीय फौजको अतिक्रमण विरोधी आन्दोलन, कालापानी मार्च, महाकाली सन्धी विरोधी आन्दोलनमा विद्यार्थी सहभागिता तथा ५ अखिलको संयुक्त रुपमा ऋतिक रोषन काण्डको (२०५७ अशोज) समयमा भारतीय सरकारलाई विरोध पत्र दिने, मृतकका परिवारलाई क्षतिपूर्ति लगायतका माग राख्दै गरिएको उपत्यका बन्दसम्मको संघर्षले विस्तारवाद विरोधी र राष्ट्रियताको पहरेदारीमा युवा विद्यार्थीको बलिदानीपूर्वक संघर्षलाई पुष्टि गर्दछ । जुनसुकै तह र तप्कामा भए पनि राष्ट्रियताका पक्षमा युवा विद्यार्थीको सक्रिय सहभागितालाई पुष्टि गर्दछ। भारतीय विस्तारवाद विरोधी संघर्षको विषयमा १६ औं राष्ट्रिय सम्मेलनको प्रतिबेदनमा भनिएको छ– “सयौं वर्षदेखि दक्षिण एसियामा नियन्त्रण गर्दै आएको भारतीय विस्तारवादी पञ्जाबाट हाम्रो मुलूक पनि अछुतो रहेको छैन। राजनैतिक, आर्थिक, साँस्कृतिक हरेक क्षेत्रमा आफ््नो प्रभुत्व जमाउँदै आएको भारतिय विस्तारवाद हाम्रो मुलूकको राष्ट्रिय सार्वभौम सत्ताको निम्ति बाधक तथा नेपाली जनवादी क्रान्तिको तगारोको रुपमा खडा भएको छ। यसका विरुद्ध सयौं वर्षदेखि नेपाली जनताले लड्दै आएको लडाइलाई नयाँ ढंगले संगठीत गर्दै र दक्षिण एसिया स्तरमा यसका विरुद्ध संयुक्त मोर्चा विकास गर्न आवश्यक भएको छ।”

नेपाली जनक्रान्तिको विकास र नेपाली जनताको भारतीय विस्तारवाद विरुद्ध संघर्षबारे माओवादी केन्द्रीय समितिको दस्ताबेजले नेपाली जनताको राष्ट्रियता, जनतन्त्र एवं जनजिवीकाका निम्ति ऐतिहासिक रुपले अगाडी बढीरहेको महान् जनयुद्धका विरुद्ध अमेरिकी साम्राज्यवादको दलाली र समर्थन गरेर भारतिय विस्तारवाद प्रत्यक्ष हस्तक्षेपमा उत्रदै गएको तथ्य स्पष्ट भएको, मात्रिका यादव, सुरेश आलेमगरको गिरफ्तारी र सुर्पुदगी तथा क. गौरवको गिरफ्तारी र नेपालको सामन्ती दरवारीयाहरुसंगको मोलमोलाई र सौदावाजी गर्दै गरिएको माथिल्लो कर्णाली सम्झौता प्रत्यक्ष विस्तारवादी हस्तक्षेप र सामान्ती निरंकुशतावादीको राष्ट्रिय आत्मसम्पर्णवादको भद्धा नमुना हो, भनिएको छ। हालै पार्टी हेडक्वाटरलाई समेतलाई लक्षीत गर्दै स्थायी समितिका वरिष्ट सदस्य क. किरण र पटनामा ११ जना क्रान्तिकारी नेताहरुमाथि भारतका विभिन्न शहरहरुमा गरिएको हस्तक्षेप र गिरप्तारीले उक्त कुरालाई थप प्रमाणित गर्दछ। हिमालय पर्वत श्रृंखलालाई आफ््नो उत्तरी सिमाना मान्ने जहावारलाल नेहरुको सिद्धान्तको अनुसरण गर्दै नेपालको भुटानीकरण वा सिक्किमीकरण गर्ने रणनीतिमा भारतिय विस्तारवाद अत्यन्तै कुटील र षड्यन्त्रमूलक ढंगले अगाडी बढिरहेको छ। नेपालमा हमेशा अस्थिरता, अराजकताको पक्षपोषण गर्ने भारतिय एकाधिकार पूंजिपति शाषकहरु अहिले कथित आतंकवादका विरुद्ध सहयोगका नाममा देशभक्त र स्वाभीमानी नेपालीको कत्लेआम गर्न र त्यसरी नेपाललाई आफ््नो कब्जामा पार्ने कुनियत सहीत खुलेआम फौजी हस्तक्षेपको धम्की दिइरहेका छन। नेपालमा शान्तीपूर्ण वार्तामार्फत अग्रगामी राजनैतिक निकासको प्रमुख बाधकका रुपमा भारतीय विस्तारवाद नै खडा भयो। नेपालमा पुरानो सत्ताको नाइकेहरु आज आफ््नो आयु लम्ब्याउने दिवा सपनामा साम्राज्यवाद मूलतः भारतीय विस्तारवादकै अगाडी घँुडा टेकेर नेपाल र नेपाली जनताको स्वतन्त्र अस्तित्व एवं स्वाभिमान माथि खेलवाड गर्ने जघन्य अपराध गरिरहेका छन। उपरोक्त सार सहितको विश्लेषण गर्दै पार्टी दस्ताबेजले पुरानो सत्ताको राष्ट्रिय आत्मसमपर्णवाद र भारतीय विस्तारवादी हस्तक्षेप एवं सन्नीकट फौजी हमलाको खतराका विरुद्ध एकजुट हुन सम्पूर्ण स्वाभिमानी, देशभक्त नेपालीहरुलाई आव्हान गरेको छ। दस्ताबेजले पार्टीको नयाँ योजनामा वैचारिक, राजनैतिक र फौजी हरेक दृष्टिले राष्ट्रिय आत्मसम्पर्णवाद र विस्तारवादी हस्तक्षेपका विरुद्ध केन्द्रीत हुन जोड दिएको छ। सिंगो देशलाई युद्धमोर्चामा परिणत गर्दै आम जनतालाई फौजीकरण गरेर तथा जनयुद्धको रणनीतिलाई नयाँ उचाइमा उठाएर कुनै पनि साम्राज्यवादी वा विस्तारवादी सैन्य हस्तक्षेपका विरुद्ध नेपाल र नेपाली जनताको स्वतन्त्रतताको रक्षा गर्न सकिने दृढ विश्वास पनि दस्तावेजले व्यक्त गरेको छ साथै दस्तावेजले उक्त लडाईमा आम देशभक्त नेपाली (पुरानो सत्ताका शाही सेनाका जवान पनि) को मात्र होइन न्यायप्रेमी भारतीय जनसमुदाय र विश्वभरिकै जनसमुदायको समेत सहयोग र समर्थन लिने विश्वास गरिएको छ।

नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास राष्ट्रियताको लागि वलिदान गर्ने देशभक्तिपूर्ण आन्दोलनको एक महत्वपूर्ण अंग हो। आज पुरानो सत्ताको राष्ट्रिय आत्मसम्पर्णवाद र भारतीय विस्तारवादी हस्तक्षेप, माओवादी जनयुद्ध रणनैतिक प्रत्याक्रमणमा प्रवेश गरेको घोषणा पछि भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण, सैन्य आक्रमणको धम्की, हेलिकप्टर लगायतको सहयोग, विगतदेखि नेपालका ४६ भन्दा बढी स्थानमा गरिएको विस्तारवादी अतिक्रमण आदी इत्यादी परिस्थितिमा नेपाली विद्यार्थीहरुको कार्यभार अध्ययन गर्नु मात्र नभै राष्ट्रिय अस्तित्व रक्षाको लागि टाउकोमा कफन बाँधेर विस्तारवादी हस्तक्षेप र राष्ट्रिय आत्मसम्पर्णवादी पुरानो सत्ताका विरुद्ध प्रत्याक्रमणको मोर्चामा सम्पूर्ण शिक्षालयलाई बदल्ने जरुरी काम हुन जान्छ। राष्ट्रियताका पहरेदार हामी सम्पूर्ण नेपाली विद्यार्थी सामु नेपाली क्रान्तिले सुम्पेको ऐतिहासिक जिम्मेवारी हो।
सेती–महाकालीको सन्दर्भमा राष्ट्रिय आत्मसम्पर्णवाद र विस्तारवादी हस्तक्षेपका विरुद्धको संघर्षमा भिमदत्त पन्तले चलाएको संघर्ष नेपाली जनताको मुक्ति आन्दोलको ऐतिहासिक अंग बनेको छ। जसलाई विस्तारवादी सैन्य हस्तक्षेपद्धारा दमन गरियो। आजको यो संवेदनशील घडीमा भारतको भौगोलिक घेरामा रहेको यस क्षेत्रमा विस्तारवादी घुसपैठ र षड्यन्त्रप्रति सर्तक बन्दै प्रत्यक्ष रुपमा कालापानी, पञ्चेश्वर, पूर्णागिरी, महाकाली लगायतका थुप्रै स्थानमा गरिएको विस्तारवादी हस्तक्षेप, भारतीय सेनाद्धारा पटक–पटक महेन्द्रनगर, धनगढीमा हुने खुल्ला प्रबेश र जनतामाथी हुने भारतीय अत्याचार र आतंक, पुरानो सत्ताको राष्ट्रिय आत्मसम्पर्णवादी नीति र जनतामाथी लादिएको भारतीय बजारको लुट र धरासयी राष्ट्रिय अर्थतन्त्र, शैक्षिक क्षेत्रमा भारतीय संस्कृतिको कुप्रभाव आदीका विरुद्ध सेमका युवा विद्यार्थीहरु संघर्षरत छन। राष्ट्रियताका लागि गरिने लडाइमा नेपाली जनताको न्यायप्रेमी आन्दोलन(जनयुद्धको मोर्चामा) दृढतापूर्वक उभीनु हाम्रो प्राथमिक दायीत्व बन्नेछ। आउनुहोस् युवा विद्यार्थी साथीहरु वैदेशिक हस्तक्षेप विरुद्धको जनयुद्धको झण्डालाई दह्रोसंग समातौं र भारतीय विस्तारवादको राजनैतिक, आर्थिक, साँस्कृतिक र शैक्षिक प्रतिष्ठान उपर धावा बोलौं।

राष्ट्रिय राजनैतिक परिस्थितिः
आज देशमा पुरानो सत्ताको अस्तित्व साम्राज्यवाद र विस्तारवादको आडमा शहर बजार, सदरमुकाम र ब्यारेकमा समेत रक्षात्मक बन्न बाध्य भएको छ। महान् जनयुद्धको बढ्दो प्रत्याआक्रमणले पराजित हुदै गएको सामन्ती अधिनायकवाद ऐतिहासिक रुपले अपरिहार्य बनिसकेको राज्यसत्ताको पुर्नसंरचना र अग्रगामी राजनैतिक निकासतिर होइन साम्राज्यवाद विशेषतः भारतिय विस्तारवादकै आडमा अस्तित्वको अन्तिम घडीसम्म सामन्ती निरंकुशता लादन उद्दत देखिन्छ। २१ औं शताब्दीको बर्तमान युगमा पनि देशलाई कथित हिन्दु अधिराज्य र आफूलाई विष्णुको अवतार मान्ने निरंकुश ज्ञानेन्द्र राजपरिषद सम्मेलनको नामबाट देशब्यापी मध्ययुगिन बर्बरता लादने दिवा सपना देखिरहेको छ। देश र जनताको राष्ट्रिय ढुकुटीमा ब्रम्हलुट मच्चाउँदै देशलाई वैदेशिक सैन्य हस्तक्षेपको अखडा बनाउने एकसुत्रिय योजनामा राष्ट्रिय आत्मसम्पर्णवादीहरु उद्दत छन। अर्थतन्त्रको सम्पूर्ण बागडोर विदेशी दलाल पूंजिपतिलाई सुम्पेर वेरोजगार नेपाली युवाहरुलाई विदेश लखेट्ने र संसारभर छरेर उनिहरुको बेहाल पार्ने कसरत नै पुरानो सत्ताको दैनिकी बनेको छ। यसको ज्वलन्त उदाहरण ः हेटौडा चिनी कारखाना, विदेशीको पोल्टामा, नेपाल राष्ट्र बैंक, विश्व बैंकको पोल्टामा सुम्पिनु, नेपाली कामदारको सस्तोश्रम विदेशी गल्लीका श्रम बजारमा विक्रि गर्नु त्यति मात्रै होइन इराक पठाएका १३ नेपाली आतंकवादीद्धारा मारिएको घटना विशेष स्मरणीय छ। खाडीमा मारिएका बेरोजगार नेपालीको विषयलाई लिएर काठमाण्डौमा गरिएको जनप्रदर्शन देखि डराएका शासकहरुले फुटाउ र शासन गरको नीति अनुसार कथित विश्व हिन्दु परिषद नामको आतंककारी जत्था परिचालन गरि धार्मीक विद्धेस फैलाई आन्दोलनलाई भाड्ने काम गरे। शैक्षिक क्षेत्र बैदेशिक दलाल कम्पनी र भ्रष्टहरुको आवाज बनेको छ, शैक्षिक बजेट हतियार किन्न, गोला बारुद खरिद गर्न प्रयोग गरिएको छ भने शिक्षण संस्थामाथि शाही सेनाको परेड खेल्ने थलो बनेको छ। देश र जनताको राष्ट्रियता, जनतन्त्र र जनजिविकाको ग्यारेण्टीको झण्डा बनेको विजयोन्मुख जनयुद्धलाई परास्त गर्न तल्लीन यी राष्ट्रघाती, आत्मसम्पर्णवादीका फासिष्ट क्रियाकलापले देशलाई भयाबह स्थितिमा पुर्याएको छ।

राजनैतिक रुपले संविधानसभा मार्फत गणतन्त्रको संस्थागत विकास गर्ने नेपाली जनताको जनतान्त्रिक आकांक्षाका विरुद्ध प्रतिगामी सामन्ती तत्वहरु मार्फत वैदेशिक प्रतिक्रियावादीहरुले नयाँ–नयाँ षड्यन्त्र र हस्तक्षेप गरिरहेका छन। सामन्ती प्रतिगमनका विरुद्ध आन्दोलनरत राजनैतिक दलहरुलाई फुटाउने र सामन्ती दरबारसामु आत्मसम्पर्ण गराउने काम बैदेशिक प्रतिक्रियावादीहरुले गरिरहेका छन। आफ््नो राजनैतिक पतनको पराकाष्टाको रुपमा देश र जनताप्रति विश्वासघात गर्दै एमाले लगायतका दलहरु प्रतिक्रियावादी षड्यन्त्रमा सामेल भएका छन। नेकाँ लगायतका कतिपय शक्तिहरु संसद पुर्नस्थापनाको अमुर्त नारा लगाउँदै भयानक अर्कमाण्यताको शिकार भएका छन। अखिल र नेविसंघले लगाएको गणतन्त्रको नाराबाट आतंकीत देशी विदेशी प्रतिक्रियावादीहरुको षड्यन्त्रमा तीनका मातृ पार्टीहरुले युवाहरुको युगिन चेतनामाथी जर्वजस्त बिर्को लगाउने कुचेष्टा स्वरुप नेतृत्व परिवर्तन गरि आन्दोलनमाथि चिसो पानी खन्याएका छन। यसरी संसदीय दलहरु आफ्नै पंक्तिभित्रका असली देशभक्त र प्रजातन्त्रवादीहरुमाथि नकारात्मक रुपमा प्रस्तुत भएका छन् । संसदवादीहरुको यो राजनैतिक पतन अर्कमण्यता, दलाली र निरिहतालाई राम्रोसंग बुझेका सामन्ती प्रतिगामी, साम्राज्यवादी शक्ति विशेषतः भारतीय विस्तारवादले विरालोले मुसो खेलाए झैं खेलाइरहेको छ। नेकपा मसाल र उसको जनमोर्चा समेत ज्ञानेन्द्रकै राजनैतिक मंच जस्तो गरि जनताको न्यायपूर्ण आन्दोलनका विरुद्ध विषबमन गर्दै हिड्नु बिडम्बनाको कुरा हो।
अहिले देशमा जनयुद्धका विरुद्ध असक्षम ठानिएका देउबाको नेतृत्वमा तथाकथित सक्षम सरकार को गठन भएको छ। त्यसका मन्त्रीहरुले पूङ्ग न पुच्छरका शान्तिवार्ताका राग अलापिरहेका छन। बाहिर शान्तिको ढवाङ फुकेर प्रजातान्त्रिक देखिने र भित्रि रुपमा ठूला–ठूला जनसंहार गर्दै विदेशी सेनालाई भित्र्याउने सामन्ती हत्याराहरुको षड्यन्त्रलाई चकनाचुर पार्दै अघि बढ्नु मुक्तिकामीहरुको दायित्व हो। देशको ९० प्रतिशत भु–भागलाई आफ्नो नियन्त्रणमा लिइसकेको माओवादी जनयुद्ध नयाँ वैकल्पिक सत्ताको रुपमा खडा भएको छ। जनताको मुक्ति आन्दोलनको नेता पार्टी ने.क.पा. (माओवादी) का अध्यक्ष क. प्रचण्ड भन्नुहुन्छ –“अवको वार्ता पुरानो सत्ताका तुच्छ नोकरहरु संग होइन तिनका मालिकहरुसंग र ति कथित मालीकहरुसंग पनि सम्पूर्ण अधिकार जनतालाई बुझाउ भन्नका लागि मात्र हुनसक्छ।”
उपरोक्त विश्लेषण सहित ने.क.पा.(माओवादी) निकासबिहिन वार्ता होइन जनतालाई पूर्ण अधिकारसम्पन्न बनाउन बैदेशिक प्रतिक्रियावादद्धारा संरक्षित घरेलु सामन्तवादका विरुद्ध रणनैतिक प्रत्याक्रमणको निर्णायक युद्धमा हाम फालिरहेको छ। रणनैतिक प्रत्याक्रमणको घोषणा पछि यहाँसम्म आउँदा देशका विभिन्न मोर्चामा दुश्मनको ठूलो फौजी शक्ति परास्त भएको छ। रेन्जर फोर्स भनिएको कथित विशिष्ट दर्जाको लडाकु फोर्स क्षतविक्षत बनेको छ। विशेष लडाकु भनिएका शाही हेलीकप्टर नकाम सिद्द भएका छन। जनताले प्रतिरोध युद्धको घोषणा संगै गाउँका गाउँ ब्यारेकमा बदल्दै टनेल, बंकर खन्दै प्रत्याक्रमणको मोर्चामा दुस्मनलाई पराजित गरिरहेका छन। राजनैतिक रुपमा विश्व जनमतका अगाडी नाङ्गिएको बुस मण्डलीले उसकै हात भित्र रहेका अन्य शक्तिहरुलाई हाम्रा विरुद्ध खुलेआम धम्की दिन अघि सारेको छ। भर्खरै भारतीय गुप्तचर संस्था र को प्रतिनिधिको नेपाल भ्रमण र एकलकाँटे, मनोगढन्ते, पुर्वाग्रही र गैरजिम्मेवार अभिब्यक्ति पनि राजनैतिक पराजयकै पराकाष्टा हुन।

सेती–महाकालीमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको ऐतिहासिक पृष्टभूमी :
“नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास प्रक्रियाबारे हामीले निरन्तर समिक्षा, बहस र मूल्यांकन गर्दै आएका छौं। इतिहासलाई तिथि मिति र घटनाको थुप्रोको रुपमा होइन, विचार र राजनैतिक कार्यदिशाको आधारमा मुल्या्रकन गरिनु पर्दछ। व्यवहारमा प्राप्त नयाँ चेतना र आवश्यकताको धरातलबाट गरिने बिगतको मूल्याँकनको उद्देश्य, क्रान्तिकारी ध्रुबिकरणलाई जोड दिदै विजयलाई सुनिश्चित गर्नु नै हो। २१ औं शताब्दीको क्रान्तिकारी विद्यार्थी आन्दोलनको शैक्षिक र राजनैतिक भूमिकालाई नयाँ स्तरमा उठाउनु नै इतिहास मूल्यांकनको मर्म रहेको स्वतः स्पष्ट छ। क्रान्तिकारी विद्यार्थी आन्दोलनको विकास प्रक्रियाबारे चर्चा गर्दा नेपाल कम्युनिष्ट पार्टीका आरोह अवरोहबाट पृथक गरेर हेर्नु सर्वथा अवैज्ञानिक ठहरिने छ।”
– १६ औं राष्ट्रिय सम्मेलनबाट पारित प्रतिबेदनबाट
माथिको अनुच्छेदलाई आत्मसाथ गर्दै सेती महाकालीको क्रान्तिकारी आन्दोलनको छोटो र मोटामोटी ऐतिहासिक पृष्टभूमिको चर्चा गर्दा नेपाली कम्युनिष्ट आन्दोलनको विकास प्रक्रियामा सेती–महाकाली क्षेत्रको आन्दोलनको अवस्था र यसको आरोह अवरोहको चर्चा स्वाभाविक रुपमा महत्वपूर्ण हुन जानेछ। यद्यपी यसलाई विद्यार्थी आन्दोलनकै क्षेत्रबाट चर्चा गरिने छ।

कर्णाली नदी देखि पश्चिममा अवस्थित सुदुर पश्चिम नेपाल, जसलाई सेती–महाकाली भनिन्छ। केन्द्रीय सामन्ती सत्ताको आक्रमण पूर्व यो विशाल डोटेली साम्राज्यको रुपमा रहेको थियो। अहिले आएर दोधारा चाँदनी सहित महाकाली सिमानदीको सिमारेखाले पश्चिममा भारतसंग अलग्गिएकोछ भने उत्तरका अपी–शैपाल हिमश्रृङ्खला चिनसंगका सिमास्तम्भ बनेर खडा भएका छन। देशकै लागि लिम्पियाधुरा, कालापानीको दुखिरहेको घाउ बोकेको यो क्षेत्रमा दक्षिण तराइका समतल फाँटमा समेत सीमाक्षेत्रका जंगे पिलर विस्तारवादी डकैती र अतिक्रमणका कारण दिनरात खुम्चिदै भित्र पस्न बाध्य छन। यही भौगोलिक धरातलभित्रको सेती–महाकाली क्षेत्रमा हाम्रो संगठन अखिल (क्रान्तिकारी) सामान्यतः ०३५/३६को विद्यार्थी आन्दोलन पश्चात् संगठीत रुप धारण गरेपनि विशेषगरि जनयुद्धको शुरुवात पश्चात् नै घनिभूत रुपमा आन्दोलनका गतिबिधि सञ्चालन गर्दै आएको छ। वि.सं. २०५६ साल यता आएर क्षेत्रीय समन्वय समितिको नामबाट आन्दोलनको कमाण्ड संयोजन गर्दैै क्षेत्रभर क्रियाशील रहेको छ। ०५९ श्रावण देखि कर्णाली पश्चिमको कालीकोट र अछाम जिल्लालाई आधार बनाई आधार इलाका विस्तार गर्ने योजना अनुसार यी भुगोलहरु सेती महाकालीका राजनैतिक भुगोलमा समावेश गरिएका छन। माओवादी आन्दोलनको गुणात्मक विकास र यसको भू–सामरिक महत्वका दृष्टिले कैलालीको पहाडी भूगोल र सुर्खेतका २ ओटा गाजस सहितको छुट्टै जिल्ला समिति सहित ११ ओटा जिल्ला समितिहरु सेती–महाकाली क्षेत्रमा क्रियाशील छन। पुरानो सत्ताको बर्दिंया जिल्लामा पर्ने ११ ओटा गाजसको भमरा टापु माओवादी आन्दोलनको राजनैतिक विकासको कोणबाट कैलाली जिल्लामा समावेश गरिएका छन। यही राजनैतिक भूगोल भित्रको विद्यार्थी आन्दोलको इतिहास र राष्ट्रिय महत्वका आन्दोलनहरुमा यसको भूमिका बारे चर्चा गर्दा जहाँनिया राणाकालदेखि बहुदलकाल, पञ्चायतकाल, बहुदलको पुर्नस्थपनाकाल र आमूल परिर्वतनको लागि शुरु भएको जनयुद्ध र यसले प्राप्त गरेको उचाई सामन्ती निरंकुशतावादका विरुद्धको रणनैतिक प्रत्याक्रमणको स्थितिमा आउँदा यसलाई ४ भागमा बाँडेर अध्ययन गर्न सकिन्छ।
१) राणाकालदेखि ०३५÷०३६ को विद्यार्थी आन्दोलनसम्म
२) ०३५÷०३६ को विद्यार्थी आन्दोलनदेखि ०४६ को जनआन्दोलनसम्म
३) जनआन्दोलनदेखि ०५२ जनयुद्धको शुरुवातसम्म
४) जनयुद्धको शुरुवातदेखि हालसम्म
(१) राणाकालदेखि ०३५/०३६ को विद्यार्थी आन्दोलनसम्मः पुरानो सामन्ती सत्ताको सौतेलो व्यवहार र उत्पीडनमा परेको सेती–महाकाली क्षेत्रका सामन्त, जमिन्दार र शाषकवर्गबाहेक आम जनता भावनात्मक रुपले केन्द्रीय राज्यसत्तासंग एकाकार हुन सकेनन। त्यो जहिले पनि अभिजात बर्गका शासकहरुका विरुद्धमा रह्यो तर त्यसले नेतृत्वको अभावमा सही रुपमा संगठित हुन पाएन र परिणाममुखी संघर्ष पनि भएनन। राणाशासनका विरुद्ध पनि समय समयमा यस क्षेत्रका जनताले विविध रुपमा संघर्ष गरेका थिए। निरंकुश राणाशासन विरुद्ध वैचारिक र सांगठानिक रुपमा संघर्षको शुरुवात महान् शहीद दशरथ चन्द्र ठाकुर बाट भएको देखिन्छ। त्यसबेला सेती महाकाली क्षेत्रका मध्यम वर्गीय परिवारका छोरा–छोरी भारतमा पढ्न जाने, कुमाउ गढवालमा समाजिक, साँस्कृतिक सम्बन्ध हुने कारण भारतमा हुने गतिविधिको प्रभाव यस क्षेत्रमा परेको देखिन्छ । दशरथचन्द्र अलमोडाको शिक्षा आर्जनपछि उच्च शिक्षाका लागि बनारस जानुभयो। भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी चन्द्रसेखर आजाद, भगतसिंहको राजनैतिक विचारधाराबाट प्रभावित दशरथचन्द्र लेनिनको नेतृत्वमा सोभियत रुसको समाजवादी क्रान्तिबाट बढी नै प्रभावित भई नेपालमा सोही अनुसार अघि बढ्ने आशयका साथ पश्चिम बंगालका दिपायन घोषसंगको भेटपछि निरंकुश राणाशासनका विरुद्ध काठमाण्डौं गएर संघर्षलाई संगठित गर्ने प्रक्रियाको थालनी गर्नु भएको बुझिन्छ। तर, त्यो बिचमा कुरा खुल्न गई दशरथचन्द्र पक्राउ पर्नु भयो र राणाशाही सत्ताले उहाँलाई फाँसी दियो। उहाँको सहादत्त पछि यर्थाथता बाहीर नआउनु र उहाँका सहकर्मीले उहाँको राजनैतिक विचारलाई आफ््नो अनुकूलतामा बर्जुवा प्रजातन्त्रवादीको रुपमा ब्याख्या गर्नुले उहाँको बारेमा भ्रम पैदा हुन गयो । सेमका पहिलो कम्युनिष्ट दशरथचन्द्र हुनुहन्थ्यो भन्ने यस क्षेत्रका कम्युनिष्ट आन्दोलनका हालका अग्रणीहरुको दाबी छ। भारतको सोही आन्दोलनबाट प्रभावित हुने अर्को विद्यार्थी हुनुहुन्थ्यो, भीमदत्त पन्त। जसले सामन्तवाद र साम्राज्यवादका विरुद्धको सशस्त्र संघर्ष कैलाली कञ्चनपुरको ऐतिहासिक भुमिबाट शुरु गर्नुभयो। नेपालका सामन्त जमिन्दारवर्गको सत्ताको बलबुत्ताले नसकेपछि हजारौंको भारतीय फौजको हस्तक्षेपबाट उक्त आन्दोलनलाई दबाइयो र भीमदत्त पन्तको हत्या गरियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व संसोधनवादीहरुको कब्जामा रहेको र उहाँको शहादत्तपछि उत्तराधिकारीको अभावमा सेमको कम्युनिष्ट आन्दोलन र युवा विद्यार्थी आन्दोलन पनि लामो समयसम्म पछि पर्न गयो। वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रको सैन्य कुद्वारा यस क्षेत्रमा केही युवा विद्यार्थीहरु कम्युनिष्ट भएको आरोपमा बन्दी बनाइएको बुझिन्छ। वि.सं. २०२८ सालको झापा आन्दोलनको बेलासम्म काठमाण्डौमा पढ्न जाने विद्यार्थीहरुमा वाम विचारको प्रभाव परेको देख्न्छि। अधिकांशमा भने नेविसंघको प्रभाव थियो । यो हुनुको कारण सेममा पारिएको कम्युनिष्ट विरोधी छाप र तात्कालीन नेतृत्वले यस क्षेत्रमा पहलकदमी लिन नसक्नु नै थियो। वि.सं. २०२८ देखि ०३५ को अबधिमा नेकपाका विभिन्न गुट, डि.वि. सिंहको रातो झण्डा, चौम, माक्र्सवादी, माले आदी यस क्षेत्रमा सक्रिय देखिन्छन। तर नेतृत्वपंक्ति आन्दोलनको विस्तार र संगठन निर्माण भन्दा गुटगत स्वार्थकै घेरामा अल्मलिन पुगे।

कालीकोट केन्द्रीय सामन्तीसत्ता र स्थानिय सामन्त तथा भुरे टाकुरे शाषकद्वारा दोहोरो उत्पीडन र चपेटामा परेको कर्णाली अञ्चलको सबैभन्दा पिछडिएको कान्छो जिल्ला हो। यो जिल्ला जुम्लाको तिब्रिकोटबाट छुट्टिएर ०३४ सालमा स्थापना भएको देखिन्छ। यहाँको शैक्षिक स्थिति पनि अत्यन्तै पिछडिएको अवस्थामा छ। केही मध्यम वर्गीय परिवारबाट जिल्ला बाहीर अध्ययन गर्न गएका विद्यार्थीहरु नै पञ्चायती कालरात्री विरुद्ध जुर्मुराएको पाइन्छ।

(२) २०३५/०३६ को विद्यार्थी आन्दोलनदेखि २०४६ को जन आन्दोलनसम्मः २०३५/०३६ को विद्यार्थी आन्दोलनले नेपालको विद्यार्थी आन्दोलनमा विशिष्टि महत्व राख्दछ। यो आन्दोलन निरंकुश पञ्चायती ब्यवस्था विरुद्ध लक्षित भयो। यसले निर्विकल्प भनिएको पञ्चायति व्यावस्थाका विकल्पमा सुधारीएका पञ्चायत वा बहुदल भनि जनमत संग्रहको घोषणा गर्न सामन्ती राजालाई बाध्य बनायो। यस आन्दोलनले देशव्यापी रुपमा व्यापक राजनैतिक जागरण पैदा गर्यो। विद्यार्थीका शैक्षिक माग पुरा गर्नुका साथै स्ववियुको पुर्नस्थपना गर्न र पञ्चायतको भातृ संस्था राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको विघटन गर्न सरकारलाई बाध्य पार्यो। उक्त आन्दोलनको नेतृत्व अखिले नै गरेको थियो। अ ने रा स्व वि यू आम विद्यार्थी तथा जनसमुदायको विचमा अत्यन्तै लोकप्रिय बन्न पुग्यो। आन्दोलनद्धारा प्राप्त खुल्ला परिबेशमा संगठनले राष्ट्रिय सम्मेलनको आयोजना गर्यो। देशब्यापी संगठन निर्माण र विस्तारका काम तिब्र रुपमा भए। त्यतीबेला संगठनमा पाँचौ र छैटौ भन्ने विवादले उग्ररुप लियो। आफुलाई खुश्चोबी संसोधनवादको पक्षमा उभ्याएको अखिलको नेतृत्वले प्राविधिक तर्क अगाडी सार्दै संगठनमा विभाजन ल्याए र आफुलाई अखिल(पाँचौं) को नाम दिए। क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्ने विद्यार्थीहरुले राष्ट्रिय सम्मेलन गरि अ.न.ेरा.स्व.वि.यू.(छैठौं) को रुपमा आफुलाई उभ्याए।

यसै क्रममा छैठौंले २०३८ चैत्र १९, २० र २१ गते सातौं राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो। सम्मेलन सफल पार्ने तयारीको क्रममा कैलालीका सबै माध्यामिक विद्यालय र क्याम्पसहरुको सहभागितामा २०३८ माघ २४ गते प्रथम जिल्ला सम्मेलन अनुपम उत्साहका साथ सम्पन्न भयो। उक्त सम्मेलनको उदघाटन राष्ट्रिय सम्मेलन केन्द्रीय तयारी समितिका सदस्य नवराज सुवेदीले गर्नु भएको थियो। उक्त सम्मेलनमा लेखराज भट्टले स्वागत भाषण गर्नु भएको थियो । सम्मेलनले लेखराज भट्टको नेतृत्वमा जिल्ला समिति निमार्ण गर्यो। जुन समिति सेती महाकाली क्षेत्रकै पहिलो थियो। लगतै सम्पन्न राष्ट्रिय सम्मेलनले भट्टलाई केन्द्रीय समिति सदस्य निर्वाचित गर्यो। २०३९ फागुन ९ र १० गते सम्पन्न कैलालीको दोश्रो जिल्ला सम्मेलनले पनि पुनः लेखराज भट्टलाई नै अध्यक्ष चुन्यो। २०४० सालमा सम्पन्न तेश्रो जिल्ला सम्मेलनबाट जनक शाह, ०४१ मंसीरमा गेटा गाविसको गेटीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट राजकुमार बैद्य अध्यक्ष चुनिनु भएको देखिन्छ। यो बिचमा नेतृत्वको निस्क्रियताले केही समय संगठनात्मक गतिविधि प्रभावित देखिएको छ।
०३८ र ०४० को बिचमा कैलाली कञ्चपुरमा कमैया मजदुर आन्दोलनको साथै शैक्षिक सवाललाई लिएर विद्यार्थी आन्दोलनहरु सञ्चालन भए। वि.सं. २०४२ को बमकाण्डले धनगढीलाई पनि प्रभावित गर्यो। त्यसले निरंकुश पञ्चायतलाई अखिलका विद्यार्थीमाथी दमन गर्न सजिलो बातावरण बन्यो। धरपकड र वारेण्ट जारी गर्ने काम गर्यो। त्यतिबेला विद्यार्थी र शिक्षकहरुले संगठनका केन्द्रीय योजनानुसार संघर्षका कार्यक्रमहरु सम्पन्न गरे।
०४४ सालका कृष्ण सेनको संयोजकत्वमा संगठनको दशौं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा सम्मेलन पछि भानु शर्माको अध्यक्षतामा बनेको केन्द्रीय समितिका सदस्य हरि अधिकारी कुमार नेपालगञ्ज क्याम्पसमा विएलमा भर्ना भई नेपालगञ्ज पश्चिमको सम्पुर्ण भागलाई जोडेको पश्चिम कमानको विद्यार्थी आन्दोलनको संयोजन गर्नुभयो। त्यही बिचमा बर्दियामा तिलक शर्मा हिमाल विद्यार्थी आन्दोलनको केन्द्रीय नेतृत्वमा आएर भेरी कर्णाली क्षेत्रको काममा क्रियाशिल बन्नु भयो। बर्दिया जिल्ला अध्यक्ष हुँदै ज्ञान प्रसाद चालिसे विद्यार्थी आन्दोलनको नेतृत्व तहमा आउनु भयो। पञ्चायत विरोधी आन्दोलन चलिरहँदा कैलाली, कञ्चनपुर, डोटी र अछाममा संगठनका गतिविधिहरु भए। अ.ने.रा.स्व.वि.यू. दशौं के.स. का केन्द्रीय सदस्य हरि अधिकारी र महेन्द्र क्याम्पस नेपालगञ्जका स्ववियु सभापति गोविन्द बन्दीको नेतृत्वमा विद्यार्थीहरुले निरंकुश पञ्चायतको प्रतिनिधि फत्तेसिंह थारुलाई कालामोसो दले र आन्दोलनलाई उत्कर्षमा पुर्याए। गृह जिल्ला गोरखामा बाचस्पती देवकोटाले पार्टी छोडेर एमालेतिर प्रवेश गरेपछि हरि अधिकारी गोरखा फर्कनु भयो।
०३६ चैत्रमा कालीकोटमा पनि नेत्रराज शाहीको अध्यक्षतामा अखिल (छैटौ) को प्रारम्भिक विद्यार्थी संगठन बन्यो। सेममा विद्यार्थी आन्दोलनको मुख्य थलो कैलाली कञ्चनपुर नै बन्यो। वामपन्थी विचार भएका विद्यार्थीहरुले काठमाण्डौ अध्ययनको क्रममा संगठीत भएर यस क्षेत्रमा संगठीत वा स्वतन्त्र रुपमा भएपनि कम्युनिष्ट विचारको प्रचार प्रसारमा ठूलो भूमिका खेलेका थिए त्यस दौरानमा मण्डले र ने वि संघको विद्यार्थी क्षेत्रमा वार्चस्व रहेको बेला अखिल (छैटौ) लाई प्रतिस्पर्धामा ल्याउने र अन्य प्रगतिशील वामपन्थी विद्यार्थी संगठनलाई अगाडी बढन सहयोग गर्ने काम त्यतिबेलाको स्थानिय पार्टीले महत्वपूर्ण भूमिका खेले। कर्णाली विद्यार्थी हित मञ्चमा वामपन्थी विद्यार्थीहरु नेतृत्वमा पुगेपछि छैटौ पक्षधर विद्यार्थीहरु कालीकोट लगायतका कर्णालीका जिल्लाहरुमा आन्दोलित बन्दै गए। मञ्चको नेतृत्व सिंहराज शाहीले गरेका थिए र केन्द्रीकृत नेतृत्वमा २०४० देखि ४२ सम्म आन्दोलन सञ्चालन भइरहयो त्यतिबेला संगठनमा भएको फुट र विभाजनले यस क्षेत्रमा पनि प्रभावित गर्यो।

(३) २०४६ को जनआन्दोलन देखि महान् जनयुद्धको ऐतिहासिक थालनीसम्म (२०५२)ः पञ्चायती निरंकुशता विरुद्धको आन्दोलन उत्कर्षमा पुगिरहेको बेला सेममा विद्यार्थी आन्दोलनमा स्पष्ट तिन धार देखा पर्दछ जो राष्ट्रिय स्तरकै विद्यार्थी आन्दोलनमा थियो। क्रान्तिकारी, सुधारवादी र यथास्थितिवादी। जनआन्दोलनको ऐतिहासिक सफलता पछि सिर्जित नयाँ परिस्थितिमा संगठन विस्तारका काम देशब्यापी रुपमै ब्यापक भए। तत्कालिन सम्झौता धोका हो भन्दै अखिलको मूलप्रवाह देशब्यापी संघर्षको योजना सहित अघि बढ्यो। कालीकोट मान्मा खाँडाचक्रमा ऐतिहासिक रुपमा प्रथम जिल्ला सम्मेलन आर. एल. श्रमजिवीको उपस्थितिमा संघर्षकै रुपमा सम्पन्न भयो। संघर्षकै क्षेत्रमा नन्दादेवी मा. वि.को झा काण्ड विद्यार्थी आन्दोलनमा उल्लेखनिय छ। कैलाली कञ्चनपुरमा संगठनात्मक गतिविधि अगाढी बढे, अछामका केही युवाविद्यार्थी पनि अखिलको नेतृत्वमा पुगे। जनआन्दोलनको सफलता लगतै २०४७ जेठ ५ गते कैलालीको पाँचौ जिल्ला सम्मेलन विरेन्द्र विद्यामन्दीर माध्यामिक विद्यालय टिकापुरमा सम्पन्न गरि निर्मल सिंहको अध्यक्षतमा जिल्ला समिति निमार्ण भयो। ०४८ असोज ५ र ६ गते धनगढी मावि धनगढीमा के.स. हेमन्त प्रकाश वलीको आतिथ्यतामा सम्पन्न छैठौं सम्मेलनले जोख्खन चौधरी, उपाध्यक्ष मिन बहादुर सोव रहेको जिल्ला समिति गठन गर्यो भने २०५१ सातौं जिल्ला सम्मेलन त्रिनगर मावि धनगढीमा पार्टी नेतृत्व लेखराज भट्ट र संगठनका के.स. नेत्रविक्रम चन्दको अतिथ्यतामा सम्पन्न गरि पदाधिकारीमा क्रमशः शेखर शर्मा, हरि श्रीपाईली, डबल विक, विश्वमाया शर्मा र कमला ज्ञवाली लगायतको जिल्ला समिति निर्वाचित गर्यो।
कैलालीमा २०४८ को चैत्र २४ को जनआन्दोलन दिवशको दिन रहेको नेपाल बन्द यस क्षेत्रकै ऐतिहासिक बन्न पुग्यो। तत्कालिन गिरिजा सरकारको हत्यारो जत्थाले गोली चलाउँदा विद्यार्थी नेता हरि ज्ञवाली र लक्ष्मी जैशी सख्त घाइते हुनु भयो। केन्द्रीय योजनाहरुको कार्यन्वयन निरन्तर रुपमा हुदै गयो तर जिल्ला सम्मको नेतृत्व सम्हालेका शेखर शर्मा, राम कुमार बैध र केन्द्रीय नेतृत्वसम्म पुगेका व्यक्तिहरुको आन्दोलनबाट भएको पलायन र निस्कृयताले संगठनको प्रभावकारी विस्तारको काममा गतिरोध पैदा गर्यो।
२०४८ सालको एकता राष्ट्रिय सम्मेलन पश्चात कञ्चनपुरमा पहिलो जिल्ला सम्मेलन गरि बिर बहादुर थापाको नेतृत्वमा संगठनको निर्माण गरिएको थियो। सुरुवाती दिनमा संगठनको प्रभाव जिल्लाको दक्षिण पुर्वी भागमा रहेको थियो, वाम तथा कम्युनिष्ट क्रान्तिकारीहरुको प्रभाव थियो।
२०५१ मंसीरमा डडेल्धुरा सदरमुकाम अमरगढीमा संगठनका केन्द्रीय सदस्य लेखनाथ पौडेल र पार्टी नेता जयराज भट्टको विशेष उपस्थितिमा संगठनको प्रथम सम्मेलन सम्पन्न गरि खगराज भट्टलाई अध्यक्ष निर्वाचित गर्यो। ०५२ मा सम्पन्न संगठनको १३ औं राष्ट्रिय सम्मेलनले अध्यक्ष खगराज भट्टलाई केन्द्रीय समिति सदस्य चयन गर्यो। २०५२ फागुनमा अध्यक्ष तथा के.स. खगराज भट्टलाई प्रतिक्रियावादीहरुले गिरप्तार गरे। उहाँको गिरप्तारीले कमिटि निस्क्रिय बन्न पुग्यो। ०५२ सालमा सम्पन्न संगठनको १३ औं राष्ट्रिय सम्मेलनमा बैतडीको प्रतिनिधित्व गर्न बैतडी तल्लादेहीका बोहरा थरका एकजना युवा विद्यार्थी पुगेका थिए। जनयुद्ध शुरुवात पछि उनी लगायतको नेतृत्वको टिम संगठनको सम्पर्कमा आईपुगेनन।
२०५२ को शुरुवातमा जनयुद्धको थालनीको पुर्वतयारी स्वरुप ग्रामिण वर्गसंघर्षको राजनीतिक प्रचार अघि बढेको सेम अभियानमा संगठनको महत्वपूर्ण भूमिका रहयो। त्यतिबेला संगठनको नेतृत्व सेतीमा लेखनाथ पोड्याल र महाकालीमा खगराज भट्टले गरेको देखिन्छ। यता कालीकोटमा २०४८, ०४९ र ०५१ मा क्रमशः दोश्रो र तेश्रो जिल्ला सम्मेलन तथा जिल्ला भेला गरि क्रमशः काली बहादुर शाही, रमेश विष्ट र जनम बराललाई नेतृत्व चयन गरेको देखिन्छ। २०४८ सालमा तत्कालिन गिरिजा प्रसाद कोइराला सरकारको विरुद्ध पुत्ला जलाउँदा फुकोट कालिकोटमा प्रहरीसंगको विद्यार्थीको प्रतिरोध उल्लेखनीय छ।

(४) जनयुद्धको शुरुवातदेखि हालसम्मः  “नयाँ जनवादी गणतन्त्र नेपालको स्थापना गर्न दिर्घकालीन जनयुद्धको बाटोमा अघि बढौं।” भन्ने उदघोषकासाथ २०५२ फागुन १ गतेदेखि सर्वहारा वर्गको अग्रदस्ता ने.क.पा.(माओवादी)को नेतृत्वमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध महान् जनयुद्धको ऐतिहासिक थालनी भयो। जनयुद्धको थालनी र निरन्तरता नेपालको राजनैतिक इतिहासमा एक युगान्तकारी परिघटना बन्न पुग्यो। देशका विद्यमान राजनैतिक शक्तिहरु तथा सामाजिक जीबनका हरेक अंगमा यसको प्रत्यक्ष र परोक्ष प्रभाव पर्न गयो। यस ऐतिहासिक पहलबाट विक्षिप्त बनेको प्रतिक्रियावादी सत्ता हाम्रो संगठन अखिल (क्रान्तिकारी)लाई नै माओवादी देख्न थाल्यो। संगठनमाथि अघोषित रुपमा प्रतिबन्ध लगाई देशब्यापी हत्या, दमन र धरपकडमा उत्रियो। यसै क्रममा २०५२ फागुन १४ गते गोर्खामा कक्षा ४ मा अध्ययनरत बाल विद्यार्थी दिल बहादुर रम्तलेलाई प्रतिक्रियावादी सत्ताले पहिलो निशाना बनायो र उनि जनयुद्धका पहिला शहीद बन्न पुगे। जनयुद्धको देशब्यापी प्रभावदेखि अत्तालिएको प्रतिक्रियावादी सत्ताले सेती महाकालीमा कैलाली, कञ्चनपुर, अछाम र डडेलधुरातिर विस्तार हुन थालेको जनयुद्धको प्रभावलाई रोक्न जनयुद्धको वैचारिक वाहक बनेको हाम्रो संगठनमाथि निशाना केन्द्रीत गर्यो। संगठनको काममा डडेलधुरा पुग्नु भएका केन्द्रीय सदस्य खगराज भट्टलाई डडेलधुराबाट र केन्द्रीय सदस्य लेखनाथ पौड्ललाई अछामबाट गिरफ्तार गरि राज्यद्रोहको मुद्धा लगाई जेल चलान गर्यो। भट्ट र पौडेल क्रमशः महाकाली र सेती अञ्चलबाट २०५४ सालमा खगराज भट्ट जेलबाट छुटेपछि कञ्चनपुर दोश्रो जिल्ला सम्मेलन सम्पन्न भयो। सम्मेलनले खगराज भट्टलाई अध्यक्ष निर्वाचित गर्यो। २०५४ मंसीर १६ देखि २० सम्म काठमाडौंमा सम्पन्न सम्मेलनको चौधौं राष्ट्रिय सम्मेलनले महाकालीबाट खगराज भट्ट र सेतीबाट अछाम जेलमा रहनुभएका केन्द्रीय लेखनाथ पौडेललाई पुनः केन्द्रीय समिति सदस्यमा निर्वाचित गर्यो।
उता २०५३ सालमा कालीकोटमा जिल्लाब्यापी रुपमा सञ्चालित साँस्कृतिक अभियानले नयाँ उत्साह र उभार पैदा गर्यो र जिल्लाभर विद्यार्थी संगठीत र आन्दोलित भए। २०५४ बैशाखमा केन्द्रीय उपाध्यक्ष ज्ञाम प्रसाद चालिसेको प्रमुख उपस्थितिमा कालिकोटको चौथो जिल्ला सम्मेलन सम्पन्न भयो। जिल्लाभर राजनैतिक प्रशिक्षणहरु सम्पन्न भए। जनवादी शिक्षा प्राप्तीको आन्दोलनमा विद्यार्थीको उत्साहजनक सहभागीता बढेर गयो। संगठन विस्तार र सुदृृढिकरणका कामले तिब्रता पाए। २०५४ मै अछाममा जिल्ला भेलाले अध्यक्षमा टंक बोगटीलाई चयन गर्यो। कैलालीमा जिल्ला सम्मेलन सम्पन्न गरि रमेश गिरी अध्यक्ष चुनिए भने कञ्चनपुरमा र बझाङमा पनि जिल्ला भेला सम्पन्न भए। २०५४ मंसिरमा सम्पन्न चौधौं राष्ट्रिय सम्मेलनले निदृष्ट गरेका प्रतिरोध संघर्षका क्रममा सेती महाकाली क्षेत्रको विद्यार्थी आन्दोलनमा नयाँ गति पैदा भयो।

देशब्यापी रुपमा पैदा भएको क्रान्तिकारी उभारलाई बन्दुकको बलमा दबाउने कुचेष्टा गर्दै प्रतिक्रियावादी सत्ताद्धारा ’किलोसेरा टु‘ ’जंगल सर्च अप्रेशन‘ नामक नरसंहारकारी अप्रेशन सञ्चालन गर्यो। हत्या, दमन, बलात्कार, आगजनी, लगायत क्षेत्रमा नै लुटपाटका बर्वर हतकाण्डा अपनाउँदै शुरु गरेको उक्त अभियानको असर यस क्षेत्रमा कैलाली र कालीकोटमा बढी पर्न गयो। केही नेतृत्वहरुको गिरप्तारी पछि हत्या गरियो भने केहीलाई गिरफ्तारी गरि बन्दी बनाईयो। कैलालीमा पार्टी नेतृत्वहरु यज्ञश्वर शर्मा, टंक बोगटी, भानु शर्मा, र भिम ब. भाटका साथै विद्यार्थी जिल्ला सविच छविप्रसाद बोहराको हत्या गरियो। यसै चरणमा बाजुरामा पार्टी नेता हेमन्त प्रकाश वली र मनबहादुर बमको गिरफ्तारी, अछाममा अखिल(क्रान्तिकारी)का संयोजक रामप्रसाद तिमिल्सेनाको गिरफ्तारी, कालीकोटमा संगठनका अध्यक्ष भक्तिप्रसाद संज्यालको हत्या, कैलालीमा अध्यक्ष रमेश गिरीको पलायन हुनु आदीले तराईमा भइरहेको आन्दोलनको घनिभूत विस्तार र पहाडको राजनैतिक प्रभाव विस्तारमा केही गतिरोध उत्पन्न भयो। संगठनमा केही आत्मसुरक्षवाद र अर्कमण्यताले स्थान लियो यद्यपी गौरवशाली वलिदानीबाट शिक्षा लिदैं ग्रामिण वर्गसंघर्ष तिब्र बन्दै गयो। जनताका दुश्मन सामन्त, दलाल, नोकरशाह, जमिन्दार, सुदखोरहरु गाउँबाट विस्थापित बन्न पुगे।
दमन र प्रतिरोधको प्रभाव र असर क्याम्पस र विद्यालयमा अध्ययनरत युवा विद्यार्थीमा पर्न गयो। यसै बेला २०५६ कार्तिक देखि माघसम्म सम्पन्न “कर्णाली जनहातेमालो अभियान”ले कर्णालीबासीसंग जनयुद्धलाई जीवन पद्धती बनाउन प्रेरित मात्र गरेन, के.स. जनम बरालको नेतृत्वमा बाजुरा र अछामसम्म सञ्चालित अभियानले अछाम बाजुरामा अखिल (क्रान्तिकारी)लाई विस्तार गर्न सफल रह्यो। यही बिचमा २०५६ मंसीरमा कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाका प्रतिनिधिहरु सहभागी भेलाले खगराज भट्टको नेतृत्वमा सेती महाकाली क्षेत्रीय समन्वय समितिको गठन गर्यो भने २०५६ फागुन १४ गते हुम्ला, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत लगायतका जिल्लाहरुको भेलाले कर्णाली क्षेत्रीय समन्वय समितिको गठन गर्यो। जनम बरालको संयोजक, झकबहादुर मल्ल सचिव र सदस्यहरु विन्दमान विष्ट, लोकजंग शाही (हिरासत), देविराम देबकोटा (हिरासत), गोविन्द तिमिल्सेना लगायत ९ सदसीय समन्वय समिति गठन भएको थियो।
कैलालीमा नवौं जिल्ला सम्मेलन सम्पन्न भएकै दिन के.स. नेप बहादुर चौधरीको गिरफ्तारीले संगठनले पुनः अर्को धक्का बेहोर्नु पर्यो र केही समय केन्द्रीय योजनाबाट कटेको अवस्था रह्यो। जनयुद्धको राष्ट्रिय राजनैतिक प्रभाव विस्तार र फौजी सफलता संगै सेती–महाकालीका सबै जिल्लामा जनयुद्धको राजनैतिक विस्तार हुदैं गयो। संगठनको प्रभावमा परेका युवा विद्यार्थीहरु धनगढी, महेन्द्रनगर र भारतको उत्तराअञ्चलको पिथौरागढस्थित कलेजमा संगठीत बन्दै गए। पहाडबाट कलेजमा पढ्ने आउने युवा विद्यार्थीहरुमार्फत जनयुद्धको राजनैतिक प्रभाव र संगठनको विस्तार क्रमश पहाडतिर भयो। यो बिचमा डोटी बाहेकका सबै जिल्लाहरुमा जिल्ला संयोजन समितिहरु गठन भए। २०५७ को पूवार्धमा सम्पन्न संगठको उपकेन्द्रीय भेलाले सेममा संगठन विस्तारमा ठोस वैचारिक उर्जा पैदा गर्यो। २०५७ को उत्तरार्धसम्म जाँदा कलेजहरुमा र पहाडका जिल्लाहरुमा पनि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा ध्रुबिकरणको प्रक्रिया अघि बढयो। दक्षिणपन्थी संसाधनवाद र नवसंसोधनवादको दलदलबाट विद्रोह गरि क्रान्तिकारी युवा साथीहरु अखिल (क्रान्तिकारी) आवद्ध हुनु भयो। शिक्षा क्याम्पसमा डडेलधुरामा हरिसिंह मालको नेतृत्वमा अनेरास्ववियु परित्याग गरि भएको क्रान्तिकारी ध्रुबिकरण उल्लेखनीय छ।

वि.सं. २०५७ को उत्तरार्धतिर सम्पन्न ने.क.पा.(माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलन र यसले सश्लेषण गरेको विशिष्ट विचार श्रृंखला मालेमावाद र प्रचण्डपथको सही राजनैतिक कार्यदिशा र फौजी कार्यदिशाका आधारमा देशब्यापी राजनैतिक तथा फौजी सफलता प्राप्त हुदै गएका थिए। २०५७ मा नै क्याम्पसहरुमा स्व वि यू चुनाव सम्पन्न भए। राज्यले खडा गरेको अघोषित प्रतिबन्धको चूनौतीलाई चिर्दै हाम्रा संगठनात्मक र संघर्षका गतिविधि क्याम्पसहरुमा अघि बढे। राष्ट्रियता, जनतन्त्र र जनजिवीका लगायत शैक्षिक सवालमा केन्द्रीय स्तरमा एकल तथा संयुक्त आन्दोलनको नेतृत्व गर्दै हाम्रो संगठन अघि बढ्यो। फलस्वरुप हामीलाई ’उग्रबाम‘ देख्ने संसोधनवादी र नवसंसोधनवादी पण्डाहरु हाम्रो नेतृत्वलाई स्वीकार्दै स्व वि यू चुनावमा संयुक्त प्यानल बनाई जान सहमत भए। यस स्व वि यू मा सेती महाकाली क्षेत्रमा हामीले महत्वपूर्ण सफलता प्राप्त गर्यो। सिगनाथ विज्ञान क्याम्पसमा प्राप्त स्ववियूको सफलता र सिद्धनाथ बहुमुखी क्याम्पसको प्राप्त मत र कडा प्रतिस्पर्धा, कैलाली क्याम्पसको स्ववियू निर्वाचनमा भएको सहभागिता र डडेलधुरा क्याम्पसमा स्ववियु निर्वाचनका लोकप्रिय उम्मेदवारसहितको धु्रबिकरणले स्ववियूमा हाम्रो प्रभावकारी उपस्थिति रहन आयो। स्ववियू कार्यालय र होस्टेल जनगुनासो सुन्ने थलो बन्न थाले । यसरी क्याम्पसहरुमा संगठनको प्रभावशाली आधार खडा हुदै गयो।
उता कालीकोटमा अध्यक्षको हत्या पछि लोकजंग शाही अध्यक्ष चुनिनु भयो। संगठनको काममा सुर्खेत जाँदा उहाँको गिरफ्तारी र सचिव धिरबहादुर बमको शहादत्तले नेतृत्वको अभाव र पीडा भइरहेको बेला बस्तुगत आवश्यकतालाई पुरा गर्न हिम्मतका साथ आन्दोलन अघि बढयो। कमरेड जनम बरालको उपस्थितिमा जिल्ला सम्मेलन गरि खडकराज सेजुवाललाई अध्यक्ष निर्बाचित गर्यो। २०५७ बैशाखमा जिल्लाभर संगठन विस्तार र परिचालन तिब्र बन्यो। स्थानीय रुपमा रहेका समस्यालाई उठान गरि आन्दोलन सञ्चालन गरियो।

मालेमावाद र प्रचण्डपथको विकसित विचारलाई आम जनसमुदाय विशेषतः शहरका जनता र विद्यार्थीमा प्रचार प्रसार र स्थापित गर्ने काम युवा विद्यार्थीहरुबाट भयो। २०५८ बैसाख देखि असोजसम्म महान् अग्रगामी छलाङ्गको दुईचरणको योजनामा पश्चिम कमाण्डमा सञ्चालित ‘अग्रगामी कदम अभियान’ अन्तरगत पहिलो चरणको ३ महिनामा सेती महाकालीका कैलाली र कञ्चनपुरमा जिल्ला तथा क्याम्पसहरुमा भएको संंगठनलाई पहाडमा विस्तार गरियो। अभियान टोली संयोजक रमेश मल्लको नेतृत्वमा कञ्चपुर जिल्ला समिति अध्यक्ष शरद अवस्थी, कैलाली जिल्ला समिति अध्यक्ष शिवराज ज्ञवाली, अभियान लगतै बझाङ जिल्ला भेलाबाट अध्यक्ष चयन हुनु भएका जनक बुढा लगायतका साथीहरुको यो अभियानमा नेतृत्वदायी भुमीका रह्यो।

यसैबेला देशको राजनैतिक स्थितिमा ठूला ठूला फेरबदलहरु भए। महान् जनयुद्धले पुरानो सत्ताको विघटन र नयाँ सत्ता गठनको कामलाई तीब्र पारीदियो। प्रतिक्रियावादी सत्ताको संकट टार्न बैदेशिक शक्तिको षडयन्त्रमा जेठ १९ नारायणहीटी हत्याकाण्ड रचना गरियो। दरबार हत्याकाण्ड पश्चात् परम्परागत राजतन्त्रको अन्त भएको र गणतन्त्रको संस्थागत विकास गर्नु पर्ने मुद्धालाई नेकपा(माओवादी) ले प्रमुखताका साथ अघि सार्यो। यसको प्रचार प्रसारलाई अखिल(क्रान्तिकारी)का क्षेत्रव्यापी सभा सम्मेलन र प्रशिक्षण मार्फत व्यापक गरियो। अभियानको दोश्रो चरण (साउन भदौ र असोज)मा संगठनका के.स. जनम बरालको नेतृत्वमा कैलाली, कञ्चरपुर र डोटीमा, रेशम पुनको नेतृत्वमा डडेल्धुरा, बैतडी र दार्चुलामा तथा रमेश मल्लको नेतृत्वमा बझाङ र बाजुरामा संगठन विस्तार, जिल्ला स्तरका भेला तथा सम्मेलनका गतिविधि अघि बढे। क्रान्तिकारी शक्तिसंग सर्मनाक हार खाएको गिरिजा सरकारको बहिर्गमन र शेरबहादूर देउवालाई जनविरोधी सरकारको प्रमुख बनाईयो । राजनैतिक शक्ति सन्तुलनको विशिष्ट अवस्थामा शक्ति संचयको उद्देश्यले दरबार हत्याकाण्डमार्फत नक्कली राजा बनेका ज्ञानेन्द्र शाहीले युद्धविराम गरी वार्ता प्रक्रियामा अघि बढाउन बाध्य भयो।
शान्तिवार्ता प्रक्रियाको खुला राजनैतिक परिवेशमा हाम्रो संगठनको तर्फबाट क्याम्पस र सदरमुकाममा ठूला ठूला जनसभा र जिल्ला सम्मेलनहरु सम्पन्न भए। यसै क्रममा २०५८ श्रावणको अन्ततिर प्रथम क्षेत्रीय भेला कैलालीको जनप्रिय उच्च मा.वि.मसुरियामा सम्पन्न भयो। भेलाले जनम बरालको संयोजकत्वमा सेती महाकाली क्षेत्रीय समन्वय समितिको गठन गरियो।

उक्त क्षेत्रीय भेला लगत्तै बसेको क्षेत्रीय समन्वय समितिको बैठकले १५ औं राष्ट्रिय सम्मेलनको तयारीको लक्ष्य सहित व्यापक संगठन विस्तार, दुई लाख सदस्यता विवरणको योजना तर्जुमा गर्यो। विभिन्न जिल्लामा सम्पन्न प्रचार सभा, जनसभा मार्फत संविधानसभा र गणतन्त्रको पक्षमा लहर सिर्जना गर्ने कार्य सम्पन्न भयो भने नीजि विद्यालयहरु संगको वार्ता पनि यसै बीचमा सम्पन्न भए। सेती महाकाली क्षेत्रीय समन्वय समितिको तर्फबाट ‘राष्ट्रिय सम्मेलन हाम्रो’ भन्ने गीति एल्बल निकालियो। विराटनगर सम्मेलनमा सबै जिल्लाको उत्साहपूर्वक सहभागिता रहयो। राष्ट्रियता र जनवादको लडाई लडिरहेका क्रान्तिकारीहरुले माले अखिलको संशोधनवादी दल दलबाट विद्रोह गरी भएको धु्रवीकरणले एकता र धु्रवीकरणको प्रक्रियालाई एकता राष्ट्रिय सम्मेलनले एक उत्कर्षमा पुर्यायो। यसले ध्रुवीकरणको लागि तल्लो तहदेखि आधारभूमी खडा गर्दै आएको सेती महाकालीमा अखिल (क्रान्तिकारी) एकमात्र विशाल विद्यार्थी संगठन बन्न पुग्यो। वार्ताको टेबुलमा संविधानसभा जस्तो प्रजातान्त्रिक प्रस्तावलाई पुरानो सत्ताले अस्वीकार गरे पछि राजनैतिक संकट गहिरियो। प्रतिक्रियावादी सरकारले काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न नदिने, निशेधाज्ञा जारी गर्ने, शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउने, आधार इलाकादेखि छात्रबास सम्म सैनिक अपरेशन सञ्चालन गर्न थाल्यो। २०५८ असोज ८–१२ मा विराटनगरमा सम्पन्न एकताको १५ औं राष्ट्रिय सम्मेलनबाट जनम बराल, नेपबहादुर चौधरी, रमेश मल्ल, शरद अवस्थी र जनक बुढा संगठनको केन्द्रीय समितिमा निर्वाचित हुनु भयो। यो विशिष्ट घडीमा राष्ट्रिय सम्मेलन पछि बसेको केन्द्रीय समितिको निर्णय अनुसार २०५८ कार्तिकमा सेती महाकाली क्षेत्रीय समन्वय समितिको दोश्रो वैठक कैलालीमा सम्पन्न भयो। सम्मेलनको भाव सम्प्रेशनको लागि प्रचार सभाको साथै नयाँ राजनैतिक प्रक्रियामा अघि बढ्न विचार, संगठन र संघर्षको क्षेत्रमा तयारी गरेर जाने निर्णय गर्यो।

गौरवशाली बलिदानी र भिषण प्रतिरोध संघर्षका १५ महिनाः
पुरानो सत्ताको ध्वंशको प्रक्रिया अघि नबढाई अग्रगामी विकल्प संभव नभए पछि जनमुक्ति सेनाले मंसिर ८ गते दाङ्ग, स्याङजा र सोलुमा भिषण आक्रमण गरी जनयुद्धको नयाँ स्तरमा विकास भएको संंकेत गर्यो। उक्त आक्रमणबाट सन्तुलन गुमाएको साम्राज्यवादको कठपुतली ज्ञानेन्द्र देउवा गुटले मंसिर ११ देखि देशमा संकटकाल लागु गरी ने.क.पा (माओवादी)सहित अखिल(क्रान्तिकारी) र सम्पूर्ण क्रान्तिकारी जनसमुदायलाई ‘आतंककारी’ घोषणा गर्यो। नेतृत्वको टाउकाको मोल तोकियो र रेडकर्नर नोटिस जारी गरियो।
शान्तिवार्ताकालको भारी संगठन, शहरकेन्द्रित खुला कार्यशैली नयाँ परिवेशमा चुनौतीपूर्ण थिए। अर्काैतिर विजयको संसदीय मानसिकता सहित केन्द्रीत भएका अवसरवादीहरु, शान्तिपूर्ण राजनीतिमा मात्र रमाउने कायर तथा आत्मसुरक्षावादीहरु आन्दोलनबाट पाखा लागे र विद्यार्थी एवं जनसमुदायलाई धोका दिए। उता आन्दोलनको भेलमा घुसपैठ गरी आएका अन्र्तघातीहरुले केही स्थानमा गद्दारी गरि आन्दोलनलाई क्षति पुर्याए। सेती–महाकालीले यो पिडा बढी नै खेप्नु परयो। प्रतिरोध संघर्षमा खारीएको कैलाली बाहेक अरु थिएनन। संकटकालको पहिलो चरणमै २०५८ मंसीर २४ गते कैलालीको बेलादेवीपुर सेहेरीमा क्षेत्रीय संयाजक कमरेड जनम बराल, भू.पू. के.स. क. लेखनाथ पौडेल लगायत ११ जना नेता कार्यकर्ताको शहादत्त हुन पुग्यो। उहाँहरुलाई खाना खाईरहेको बेला घेरा हाली नियन्त्रणमा लिएर कायरपुर्वक हत्या गरियो। आन्दोलनलाई प्रत्यक्ष नेतृत्व गर्दै अगाडि बढ्नु पर्ने स्थितिमा नेतृत्वको स्तरबाटै भएको बलिदानीले क्षेत्रको आन्दोलनले अभिभावकविहिन अवस्थाको अनुभूति गर्नु पर्यो। २०५८ पौष १२ गते डडेल्धुरा जोगबुढाको लामिगडामा जिल्ला अध्यक्ष लालबहादुर बोहरा सहित ६ जना कमरेडहरुलाई हत्यारो शाही सैनिक जत्थाद्धारा नियन्त्रणमा लिई हत्या गरियो भने कञ्चनपुर जिल्ला समितिका सचिवालय सदस्यद्धय जितसिंह ठगुन्ना र दुर्गादत्त जोशीको क्रमशः २०५९ जेठ १२ र श्रावन ११ गते हत्या गरियो। जनहत्या र आतंकले सिमा नाघ्यो। सुचना सञ्चार विच्छेद हुनु, कतिपय जिल्ला र तल्ला कमिटिहरुमा समन्वयको अभाव हुनु, प्रतिक्रियावादी बर्बर दमन र आतंक तथा आत्मसर्मपणको हल्लाले आलोकाँचो संगठित ठूलो पंक्ति आन्दोलनबाट पलायन भयो। लाखौं संगठित विद्यार्थी अस्तव्यस्त बने यद्यपि हरेक ठाउँमा नेतृत्वको एक हिस्सा भने जनमुक्ति आन्दोलनको जटिलतासंगै प्रतिरोध आन्दोलनमा सहभागी बन्दै अघि बढ्यो। संकटकालको दोश्रो चरणमा क्षेत्रमा कार्यरत केन्द्रीय सदस्य नेप बहादूर चौधरी र अन्य केन्द्रीय सदस्यहरुको पहलमा नयाँ स्तरमा कामलाई संयोजन गरीयो। सबै जिल्लामा संयोजन समिति निर्माण गरी संकटकालको भण्डाफोर, शहीदहरुको सम्मानमा श्रद्धाञ्जलीसभा, शहिद परिवार भेटघाट र समवेदना व्यक्त गर्ने आदी कामलाई अघि बढाइयो। उपकेन्द्रको बैठकबाट घोषित एक हप्ते शैक्षिक हड्ताललाई (जेठ १ देखि ७ सम्म) क्षेत्रमा सफल पारीयो भने संकटकालको प्रतिरोध गर्दै कैलाली र बैतडीमा जिल्ला भेला सम्पन्न भए। बैतडीमा एक महिने झासु अभियान (झालालेक देखि सुत्लासम्म) र दार्चुलामा एक महिने कुर्च अभियान (कुटीयाङदी देखि चमेलीया चौलानीसम्म संगठन विस्तार) सम्पन्न भए।
२०५९ श्रावण देखि नयाँ ढंगले सेती महाकाली उपक्षेत्रको भु—राजनैतिक हेरफेर भयो। पार्टीले आन्दोलनको घनिभूत केन्द्र र पश्चिमी आधार इलाका बनेको कालिकोट र यो भन्दा पहिले भेरी कर्णालीको भुगोल राखेर रहेर क्रियाशिल बनाईएको अछाम र बाजुराका माथिल्लो भु—भागलाई सेति महाकालीतिर समाहित गरियो। यो निर्णयले केन्द्रीय सदस्यद्धय खडगराज सेजुवाल(कालीकोट) र झपट साउद(अछाम) सहित त्यहाँको सुदृढ संगठन सेती महाकालीले प्राप्त गर्यो। २०५९ श्रावण ८ र ९ गते क. पम्फा भुषाल विद्युत र नेपबहादुर चौधरी सिंहराजको विशेष उपस्थितिमा बसेको बसेको क्षेत्रीय समन्वय समितिको तेश्रो बैठकले रमेश मल्लको संयोजकत्वमा सेती महाकाली क्षेत्रीय समन्वय समिति पुनर्गठन गर्यो र संगठन विस्तार र सुदृढीकरणको तीन महिने योजना तर्जुमा भयो। अभियानको पहिलो जिल्ला सम्मेलन अर्थात कालिकोटको छैठौं जिल्ला सम्मेलन हजारौं प्रतिनिधि र मलिशियाको मार्चपास सहित दुश्मनको हवाई गस्तीको प्रतिरोध गर्दै मेहलमुडीमा सम्पन्न भयो। अभियानले डोटी, बझाङ्ग र बाजुरालाई विशेष ढंगले झक्झकायो भने अन्य जिल्लाहरुमा राजनैतिक प्रभाव विस्तार गर्दै संगठन विस्तारको आधार तयार पार्यो। यसै बेला निजिकरण र व्यापारीकरण विरुद्धको संघर्ष कैलाली कञ्चनपुरमा तीब्र बन्यो। कैलालीको खडक मेमोरियल र कञ्नपुरको ए.जी. संघर्षको निशानामा परे। प्रतिरोध संघर्षको नेतृत्व गर्दै आउनु भएका कञ्चपुर जिल्ला अध्यक्ष तिलक भण्डारीलाई हत्यारो आततायी शाही जत्थाले सिभिल रुपमा पिछा गरेर सुडा पेट्रोल पम्पनेर २०५९ माघ १३ गते खुकुरी प्रहार गरि हत्या गरे। यहाँसम्म आउँदा देशको राजनैतिक स्थितिमा तीब्र रुपमा फेरबदल भयो। साम्राज्यवादको आडमा सामन्ती सत्ताद्वारा गरिएको हत्या, दमनका सबै षडयन्त्रहरु चकनाचुर भएर देशव्यापी रुपमा नयाँ सत्ता फौजी र राजनैतिक दुबै क्षेत्रमा पुरानो सत्तामा हावी भएपछि विशिष्ट शक्ति सन्तुलनको स्थिति निर्माण भयो। पुरानो सत्तासंगको दोश्रो वार्ता प्रक्रिया अघि बढ्यो।

दोश्रो वार्ताकालमा सेती महाकालीमा शान्तिवार्ताको कुनै अनुभूति भएन। प्रतिरोध संघर्षकै बीचबाट अछाम र कैलालीको जिल्ला सम्मेलन गरीयो। यसैबेला कञ्चनपुरमा एमाले अखिलको संशोधनवादी धाराबाट जयबहादूर चन्दको नेतृत्वमा विद्यार्थी साथीहरुले विद्रोहगरी अखिल(क्रान्तिकारी)मा ध्रुबिकृत हुनु भयो। लगत्तै क्षेत्रका सबै जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गरी १६आंैं राष्ट्रिय सम्मेलनमा सबै जिल्लाको महत्वपूर्ण सहभागिता रहयो। जिल्लाहरुमा सम्मेलनका संदेश सभाहरु सम्पन्न भए। युद्ध विरामकै क्रममा बझाङ र अछाममा शाही अमेरीकी सेनाद्वारा हाम्रो संगठनका नेता कार्यकर्तालाई अपहरण गर्ने, वेपत्ता पार्ने र सामुहिक बलात्कार गर्ने सम्मका बर्बरताको प्रदर्शन गरे। २०६० भाद्रमा ज.व.स.को क्षेत्रीय संयुक्त भेला सम्पन्न भयो। भाद्र ९ गते क्षेत्रको प्रथम बैठक सम्पन्न भयो। यो बीचमा संकटकालको भण्डाफोर, शाही अमेरिकी सेनाको अत्याचार, अग्रगामी निकासको बाधक साम्राज्यवादको भण्डाफोर गर्दै विचार र संगठनलाई विद्यार्थी बीचमा स्थापित गर्ने काम सम्पन्न भए। साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मासर्मपणवादी तत्वहरुको कारण वार्तालाई अग्रगामी निकास दिन सम्भव भएन । पुरानो सत्ताले दोरम्भा हत्याकाण्ड लगायत देशव्यापी फाँसीवादी हर्कतद्वारा युद्धविराम भंग गर्यो। देशव्यापी दमन र प्रतिरोधको श्रृंखला अगाडि बढेपछि सामन्ती फाँसीवादद्वारा हाम्रो संगठनलाई पुनः आतंककारीको विल्ला भिराईएको छ। यतिखेर आतंककारीको विल्ला भिराए पनि त्यसको कुनै असर संगठनमा परेको छैन बरु युद्धविराभ भंग भएपछि संगठनको गतिविधी तीब्र र चुस्त बन्दै गएका छन। यो भनेको युवा विद्यार्थी वर्गको सामन्तवाद र साम्राज्यवाद विरोधी संघर्षमा राजनैतिक र फौजी रुपमा लड्ने चेतनाको विकास हुनुको परिणाम हो।

एकीकृत जनप्रतिरोध अभियान देखि हालसम्मको कार्यसिंहावलोकनः
गोलमेच सम्मेलन, अन्तरिम सरकारको गठन र संविधानसभाको निर्वाचनको अग्रगामी राजनैतिक निकासको लागि वार्ताको टेबुलमा प्रस्तुत ने.क.पा.(माओवादी) को राजनीतिक प्रस्तावलाई पुरानो प्रतिक्रियावादी सत्ताले अस्वीकार गर्दै आएपछि अग्रगामी निकासको प्रक्रियामा गतिरोध उत्पन्न भइसकेको थियो। त्यसैबेला सम्पन्न संगठनको ऐतिहासिक १६ औं राष्ट्रिय सम्मेलन पछि बसेको केन्द्रीय समितिको बैठकले देशको राजनीति जुन ढंगले अघि बढ्छ, त्यही ढंगले जाने निर्णय गर्यो। शान्तिपूर्ण अग्रगामी निकासको वाधक साम्राज्यावादको भण्डाफोर गर्दै, विचार र संगठनलाई विद्यार्थी विचमा स्थापित गर्ने काम सम्पन्न भए। वार्तालाई अग्रगामी निकासको माध्यम बनाउन संभव भएन। यसैबेला पश्चिम नेपालमा “आधार इलाकालाई जुझारु किल्लामा बदल्दै योजनबद्ध विद्रोहको तुफान सृष्टि गरौं।“ पार्टी, सेना र जनसमुदायको एकतालाई सुदृढ गर्दै एकीकृत जनप्रतिरोध अभियान भब्य रुपले सफल पारौं।” भन्ने नाराका साथ माओवादी अभियान अगाडी बढ्यो। उक्त अभियानदेखि हालसम्म करिब डेढ वर्षको समयावधिमा हाम्रो संगठनले सेती महाकाली क्षेत्रमा गरेका वैचारिक, राजनैतिक, सांगठानिक र संघर्ष सम्बन्धि कामहरुको छोटो समिक्षा प्रस्तुत गर्ने प्रयास गरिएको छ।

वैचारिक/राजनैतिक कामः मालेमावाद र प्रचण्डपथको विकसित विचार र नेतृत्वलाई इतिहासका शिक्षा र २१ औं शताब्दीमा जनवादको विकासबारे दस्ताबेज, क्रान्तिकारी पार्टी र यसको नेतृत्वलाई आम विद्यार्थीवर्ग एवं जनसमुदायमा स्थापित गर्ने काम विभिन्न राजनैतिक अभियान मार्फत गरियो। पहिलो चरणमा एकीकृत जनप्रतिरोध अभियान मार्फत दोश्रो चरणमा पार्टी क्षेत्रको सशस्त्र जनमाचिङ्ग अभियान र तेश्रो चरणमा पार्टी क्षेत्रको एकीकृत जनसैन्य अभियान मार्फत दोश्रो र तेश्रो चरणको पार्टीको अभियानलाई विद्यार्थी बिचमा ‘कमल पसिन्द्र संगठन विस्तार र सुदृढीकरण अभियान’ को रुपमा पूरा गरियो।
अभियानलाई तिन चरणमा बाँडेर हेर्दा पहिलो चरणमा रा.स.ले निदृष्ट गरेको विकसित विचार र नेतृत्वलाई जनतासम्म गाँस्ने योजना मुताबिक अछामको मंगलसेन, कैलाली धनगढी, दार्चुलाको गोकुले, बझाङको जुजिमा केन्द्रीत रुपमा र क्षेत्रभर विकेन्द्रीत रुपमा सन्देशसभा मार्फत २१ औं शताब्दीको जनवादबारे, वार्ता प्रक्रियामा अमेरिकी साम्राज्यवाद र उसको कठपुतली पुरानो सत्ताको अग्रगामी निकास विरोधी षड्यन्त्र र प्रतिरोध संघर्षको आवश्यकतावारे छलफल, अन्र्तक्रिया र प्रशिक्षण सञ्चालन गरियो।

शाही आततायी सत्ताद्धारा संकटकाल घोषणा गरे लगतै २०६० भाद्र ६, ७ र ८ मा सम्पन्न ज.व.स. को संयुक्त प्रशिक्षण भेला मार्फत विकसित विचारबारे जवस नेतृत्वहरुमा बुझाइमा स्पष्टता र एकरुपता पैदा गर्ने तथा अभियानको ठोस मिति विधिको मुर्तिकरण ग¥यो । विद्रोहको संगठन निर्माण गर्ने प्रश्न वैचारिक प्रश्न भएकोले २१ औं शताब्दीको जनवादको अभ्यास संगठन निर्माणको क्षेत्रमा गर्नुपर्ने विषयमा भएको प्रशिक्षणले नयाँ ढंगको संगठन निर्माणको वैचारिक आधार खडा गर्यो।
विद्यार्थी आन्दोलनको केन्द्र कलेज र विद्यालयमा बनाउने संकल्पका साथ क्षेत्रीय समन्वय समितिको प्रथम बैठक सम्पन्न भयो। परिणामतः अछाम उच्च मा.वि. विनायक लगायत दर्जनौ विद्यालयका शिक्षक तथा विद्यार्थीहरु टिमबद्ध जनफर्मेशनहरु तयार गरि अभियानमा परिचालन भए। यसले अभियानमा नयाँ हलचल ल्याइदियो । आधार क्षेत्रमा सत्ता सुदृढ गर्नेदेखि भित्रको क्षेत्रमा संगठन विस्तारको मजबुत आधार भूमि तयार गर्यो। यसको राजनैतिक प्रभाव क्षेत्रभरी विस्तार भयो। यसले शैक्षिक आन्दोलनमा २१ औं शताब्दीको जनवादको अभ्यास गर्ने व्यवहारीक ढोका खोली दियो।

माघ १२, २०६० मा क्षेत्रीय समन्वय समितिको दोश्रो बैठक सम्पन्न भयो। बैठकले एकीकृत जनप्रतिरोध अभियानको समिक्षा गर्दै नयाँ अमियानको कार्ययोजना तर्जुमा गर्यो। २१औं शताब्दीको जनवादको व्यवहारीक प्रयोगद्वारा पैदा भएको उभारलाई सुदृढ, विकास र विस्तार गर्नु पर्ने चुनौती संगठनको अगाडी थियो। त्यसलाई शसस्त्र जनमाचिङ्ग अभियानको योजना अनुसार जनताद्वारा जनप्रशिक्षणको विधिद्वारा अभियानलाई अघि बढाउने निर्णय भयो। नयाँ ढंगको संगठन जननियन्त्रित संगठन निर्माणको लक्ष्य अनुसार विद्यालयमा सुद्धिकरण आन्दोलन संञ्चालन गरियो। अन्तरविद्यालय स्तरिय अन्र्तक्रिया मार्फत जनप्रशिक्षणलाई प्रभावकारी तुल्याउँदै आधार क्षेत्रमाा सुदृढीकरणमा जोड दिइयो भने विस्तारका क्षेत्रमा मोडेल विस्तार गर्ने योजना मुताबिक क्षेत्रका सबै जिल्लाका विद्यालयहरुलाई टिमबद्ध फर्मेशन बनाई अभियानमा परिचालन गरियो।
कमाण्ड नं. १ र २ का ६ ओटा जिल्लामा आन्तरिक रुपमा वैचारिक राजनैतिक स्कुलिङ संचालन गरियो। महिला विद्यार्थीहरुको नेतृत्व क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ महिला विद्यार्थीहरुको उपक्षेत्रीय भेला सम्पन्न गरियो। राजनैतिक कामभित्रै आधार क्षेत्रको कालीकोट जिल्लामा संगठनको पहलमा जनसाक्षरता अभियान सञ्चालन गरियो। अछाममा शिक्षक विद्यार्थीहरुलाई व्यवहारिक र शिपमूलक शिक्षाको जग बसाल्न कृषि तालीम संचालन गरियो। यसरी यो अभियानले “कमल पसिन्द्र संगठन विस्तार र सुदृढिकरण अभियान”को उद्देश्य हासिल गर्न सफलता मिल्यो।
अभियानको तेश्रो चरण वा उत्कर्षमा रणनैतिक प्रत्याक्रमणको आधार तयार पार्न संगठीत फर्मेशनहरुलाई कम्पनी बटालियन हुदै विग्रडस्तरमा केन्द्रीकृत र बिकेन्द्रीकृत रुपमा परिचालन गरियो। आधार इलाकाबाट कैलाली, कञ्चनपुरमा शक्ति केन्द्रीत गरि अभियानलाई विद्रोह इलाकामा केन्द्रीत गरियो। प्रतिक्रियावादीहरुका विद्यार्थी अपहरण र युद्धमा मानव ढालप्रयोगको भ्रमहरु चिर्दै महिनौं दिनसम्म विद्यार्थी अभियानमा परिचालित भए। अभियानले विद्यार्थी वर्गमा प्रतिरोध क्षमताको विकास गर्यो। सयौं युवा विद्यार्थीहरु जनमुक्ति सेनाको नियमित फर्मेशनमा भर्ति हुने लहर चल्यो। अछाम, डोटी, दार्चुला, बैतडी, बझाङ, कञ्चनपुरमा यो लहर बढी देखा पर्यो। कलेजहरुमा छुट्न गएको राजनैतिक गतिविधिलाई संयोजन गर्न यस क्रममा सफलता मिल्यो। संगठन भित्र देखा पर्ने आत्मसर्मणवाद, आत्मासुुरक्षावाद, अर्कमण्यतावाद, उदारता, यन्त्रिकता, जड्ता लगायतका विपरितहरुसंग लड्दै संगठनलाई वैचारिक र राजनैतिक रुपले सापेक्षीत रुपमा परिपक्व र जुझारु बनाउनु नै अहिले सम्मको विचार र राजनीतिको क्षेत्रमा प्राप्त सफलता हो।

संगठन सम्बन्धि कामः नयाँ विचार अनुसारको नयाँ संगठन भनेको के हो र यो कसरी निर्माण गर्न सम्भव छ भन्ने प्रश्नको व्यवहारीक उत्तर खोज्ने काम यो अवधिमा भयो। पहिलो चरणमा आन्दोनको नारामा आउने जतिलाई संगठीत गर्ने काम आधार क्षेत्र विशेषतः अछाममा भयो। संगठनको उच्चतम रुप फौज हो भन्ने मान्यता अनुसार जनम सैन्य शिविर मार्फत मिलिसियालाई सुदृढ गरी वर्गीकरण गरियो ।
अछाममा दोश्रो जिल्ला सम्मेलन सम्पन्न भयो। दोश्रो चरणमा जनताद्वारा जनसंगठनको विधि अनुसार विधार्थीहरुद्वारा विद्यार्थी संगठित गर्ने संगठनात्मक अभियानद्धारा क्षेत्रभर हजारौं संगठन विस्तार गरियो। अभियानको अन्ततिर कैलाली र कालीकोट बाहेक ९ वटा जिल्लामा हजारौं विद्यार्थीहरुको सहभागीतामा प्रतिरोधपूर्ण रुपमा जिल्ला सम्मेलनहरु सम्पन्न भए।
आधार इलाकाको मुख्य जिल्ला कालीकोट र विद्रोहको मुख्य जिल्ला कैलालीमा इकाईदेखि एरियासम्म संगठन सुदृढ विस्तार गरि जिल्ला सम्मेलनको आधार तयार गरियो।
पछिल्लो चरणमा विकसित विचारको व्यवहारीक अभ्यास गर्दै संगठनलाई प्रतिनिधिद्धारा निर्वाचित गर्ने योजनाका साथ प्रत्यक्ष निर्वाचनको विधि प्रयोग गर्न शुरु गरियो। प्रतिस्पर्धात्मक रुपमा कालीकोट जिल्ला सम्मेलन सम्पन्न भयो। जनतका छोराछोरी सबै अखिल (क्रान्तिकारी)भन्ने नाराको व्यवहारीक कार्यान्वयन भइरहेको छ।
कैलाली, कञ्चनपुरमा पनि यो अवधिमा संगठन विस्तारको काम भईरहेको छ। दुश्मन नियन्त्रित सदरमुकाम र कलेजहरुमा नगर कमिटी र कलेज इकाई समिति निर्माण भएका छन।
जिल्लाका मुख्य मुख्य विद्यालयमा जनसाँस्कृतिक टिम र जनमिलिसिया टिम गठन भएका छन। अग्रभागका कतिपय विद्यार्थी मिलिसियालाई आधारभूत तालिम पनि दिइएको छ।

संघर्ष सम्बन्धी काम :
दमन र प्रतिरोध :ऐतिहासिक १६औं राष्ट्रिय सम्मेलनले निर्दिष्ट संघर्षको योजनामा २६ सुत्रीय मागपत्रलाई सबै जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्रको रुपमा पेश गर्ने निर्णय अनुसार श्रावण २३ गते अछाम लगायतका जिल्लामा जनप्रर्दशन सहित सम्पन्न भए।
बझाङ् जिल्ला शिक्षा कार्यालय जान थालेको अध्यक्ष हंशराज खड्काको नेतृत्वको ११ जनाको टिमलाई शाही अमेरिकी सेनाले गिरफ्तार गरि वेपत्ता पार्यो। उहाँहरु हाल सैनिक हिरासतमा हुनुहुन्छ। श्रावण २९ गते विद्यालयमा कार्यक्रम गरिरहेको बेला ओलिगाउँ अछाममा विद्यार्थीमाथि गरेको निन्दनीय व्यवहार, पासविक यातना, सामुहिक बलात्कार आदी विषयलाई लिएर चरणवद्ध कार्यक्रम सहित भाद्र १–१५ सम्म बझाङ्गका शिक्षण संस्था बन्द सफल रहयो भने भाद्र ३१ गते अछाम बन्द सफल भयो।
क्षेत्रीय समन्वय समितिको तर्फबाट यो २ वटा विषय र संगठनमाथिको प्रतिबन्ध र आतंककारी घोषणाको विषयलाई लिएर असोज १–७ सम्म १ हप्ते शिक्षण संस्था हड्ताल सफल भयो। उक्त हड्ताल आधार क्षेत्रमा अभियानात्मक रुपमा सफल पारीयो।
अभियानको प्रवाह क्षेत्रभर विस्तार भएबाट अत्तालिएको शाही अमेरिकी सेनाले डोटी मुढभरामा विद्यालय हाता भित्रै आक्रमण गर्यो। विद्यार्थी तथा सर्वसाधारणको हत्या गर्यो। त्यसका विरुद्ध कार्तिक २३, २४, २५ गते डोटी शिक्षण संस्था बन्दको कार्यक्रम सफल रह्यो। यसको लगतै एकातिर शाही अमेरीकी सेनाले डोटी घन्टेश्वरमा जनमुक्ति सेनाकासँगको मोर्चामा भोगेको फौजी पराजय र अर्कोतिर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा मुढभरा घट्नाबाट पुरानो सत्ता राजनैतिक रुपमा तिरिस्कृत भयो।
अछाममा पदम अधिकारीको आत्मसमर्पण गद्दारी र एस.एल.सी. दिन सदरमुकाम गएका विद्याथीहरुमाथि शाही सेनाद्वारा गरिएको अपहरण र विद्यार्थीको सशक्त प्रतिरोध विशेष उल्लेख्य छ।
आधार क्षेत्र विशेषतः कालिकोटमा जिल्लादेखि इकाई सम्म शुद्धिकरण बैठक मार्फत आन्दोलन सञ्चालन गरियो। यसबेला जनयुद्धको बार्षिकोत्सव, बलिदान दिवश, जनम स्मृति दिवश लगायतका क्रार्यक्रम खुला प्रशिक्षण मार्फत सम्पन्न गरिए।
दमन र प्रतिरोधको यो श्रृंखलाबद्ध विकाससंगै पहिलो चरणको अभियानकै क्रममा कञ्चनपुर अध्यक्ष जय बहादुर चन्द, कैलाली उपाध्यक्ष गणेश चौधरी लगायत क्षेत्रभरी १८ जना विद्यार्थी नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको शहादत्त हुन पुग्यो। यो शहादत्त संगठनको लागि अपुरणीय क्षति बन्न पुगेको छ। पछिल्लो अभियानमा पुनः कञ्चनपुरमा अध्यक्ष बसन्त चौधरीको गिरफ्तारी र कैलाली धनगढी नगर समितिका साथीहरुको गिरफ्तारी पुरानो सामन्ती सत्ताद्वारा संगठनलाई ‘आतंककारी’ विशेषण फिर्ता गरी वार्ताको पहल गरिरहेकै बेला भएकोले प्रतिक्रियावादी सत्ता नागरीक समाज, बद्धिजीवि,विद्यार्थी वर्गको बीचमा नाँगेझार भएको छ। संगठनले जिम्मेबार नेताहरुको गिरफ्तारीले क्षतिको पिडा खेप्नु परेता पनि त्यसलाई प्रतिरोध संघर्षमा बदल्दै कैलाली कञ्चनपुरमा विशेष गरी शहर र सदरमुकाममा अनिश्चितकालिन शैक्षिक हड्तालको कार्यक्रम मार्फत आन्दोलनमा उर्जा पैदा गर्ने काम भयो।
यी संघर्षका अलावा केन्द्रीय समितिमा घोषित अनिश्चितकालिन शैक्षिक हड्ताल तथा पार्टीको केन्द्र र क्षेत्रीय व्यूरोद्वारा निर्धारित राजनैतिक तथा फौजी योजनामा आम जनसमुदायको साथ राजनैतिक साँगठानिक, सास्कृतिक र युद्ध व्यवस्थापनको बाटोमा आम विद्यार्थी र विद्यार्थी मिलिशियाहरु परिचालित हुँदै आएका छन।

स्ववियू षडयन्त्रका विरुद्धको संघर्ष :
नेपाली विद्यार्थीहरुको आस्थाको केन्द्र बनेको अखिल (क्रान्तिकारी) लाई कलेजहरुबाट अलग्याउने र सिध्याउने तथा गणतन्त्रको पक्षमा सडकमा उर्लिरहेको विद्यार्थीको विद्रोहलाई क्याम्पसमा फिर्ता गरी एक आपसमा भिडाउने र आन्दोलनलाई तुहाउने षडयन्त्रका साथ शाही सत्ताद्धारा घोषित स्ववियू चुनावलाई प्रतिगामी खेलको संज्ञा दिँदै हाम्रो संगठन अन्तरिम स्ववियूको विकल्प लिएर अगाडि बढ्यो। सेती महाकाली क्षेत्रमा उक्त योजना कार्यान्वयनको शिलशिलामा पहिलो चरणमा प्रचारात्मक तथा अन्य संगठन र विद्यार्थीहरुसंगको अन्र्तक्रियात्मक कार्यक्रमलाई तीव्र पारीयो। पर्चा, पोष्टरिङ्ग, वालपेन्टिङ्ग, कार्टुन प्रदर्शन, पुत्ला दहन, मशाल जुलुश, कोणसभाहरु सम्पन्न गरिए। धनगढी र महेन्द्रनगरमा विभिन्न विद्यार्थी संगठनका नेता, पुरानो स्ववियू प्रतिनिधि र प्राध्यापकहरुसंग अन्र्तक्रिया सम्पन्न गरीए। पूरानो सत्ताको युनिफाइड कमाण्डको सुरक्षा घेरासहित चुनाव गर्ने उर्दी जारी गरेपछि केही स्थानमा साँकेतिक कार्यवाहीहरु सम्पन्न भए। फाल्गुन ३ गते कैलाली बहुमुखी क्याम्पसमा प्रतिरोध कार्बाही, फागुन ४ गते महेन्द्रनगर सिद्धनाथ बहुमुखी क्याम्पसमा तालाबन्दी, फागुन १२ गते शिक्षा क्याम्पस डडेल्धुरामा भएको साँकेतिक प्रतिरोध र लुकीछिपी स्ववियू घोषणा गर्ने अछाम वयालपाटा स्थित जनता क्याम्पसको स्ववियू कागजात कब्जा गरी १४ गते गरीएको ध्वँस र उमेदवारको राजीनामा प्रतिरोध संघर्षका सफलता हुन। स्ववियू षडयन्त्रका विरुद्धको यस संघर्षमा सेती महाकाली क्षेत्रमा प्रतिगामी सत्ता पूर्णरुपमा असफल भयो।

एकमुष्ट शुल्क विरोधी आन्दोलन :
सामान्यतः क्षेत्रभरी विशेषतः कैलालीमा सञ्चालित उक्त आन्दोलन विशेष प्रभावकारी रह्यो। शिक्षक र विद्यार्थीबीचको अन्तरक्रियाबाट ४ महिनासम्म सबै विद्यालयमा शुल्क उठाएनन। विद्यार्थीहरु जिल्ला शिक्षा कार्यालय .घेर्न सदरमुकाम पुगे। प्रतिक्रियावादी सत्ताले प्रकट गरेको निरिहता र विद्यालय सञ्चालनमा देखापरेको संकटले आन्दोलनमा केही अकर्मण्यता पनि पैदा भयो। जिल्लाव्यापी रुपमा नीजि तथा सरकारी विद्यालयका शिक्षक विद्यार्थीसंगको अन्तरक्रियाले आन्दोलनको विषयलाई निरन्तरता दिने गरि विद्यालय सञ्चालनमा सहजीकरणको लागि तत्काल उक्त संघर्षलाई फिर्ता लिइयो। यस बाहेक अन्य राजनैतिक संघर्षहरुमा एस.एल.सी. परीक्षाको लागि सञ्चालित आन्दोलन, पुरानो सत्ताको राष्ट्रिय गान र क्यालेन्डरको विरुद्ध र विकल्पमा सञ्चालित आन्दोलन, दार्चुलामा गोकुलेका विद्यार्थीले शिक्षक सरुवा विरुद्ध गरेको आन्दोलन, नैतिक शिक्षा विरोधी आन्दोलन, ट्युसन विरोधी आन्दोलन आदी प्रचारात्मक तथा क्रियात्मक खालका संघर्षका रुपहरु सहित सञ्चालीत संघर्ष यहाँ उल्लेखनीय छन।

प्रतिरोध संघर्ष :
विद्यार्थी मिलिशियाद्वारा जिल्ला शिक्षा कार्यालय कैलाली, डडेल्धुरा र अछाममा गरिएको कार्वाही, प्रेम सिंह र दामोदर गौलीलाई नियन्त्रणमा लिई गरिएको राजनैतिक हस्तक्षेपले शैक्षिक आन्दोलनमा नयाँ वहस सिर्जना गरेको छ। यसरी हेर्दा विचार, राजनीति, संगठन र संघर्षको क्षेत्रमा विकसित विचार र नेतृत्वलाई स्थापित गर्दैै अखिल(क्रान्तिकारी) सेती महाकाली क्षेत्रमा विशाल र जुझारु संगठनको रुपमा खडा भएको छ। वैचारिक राजनैतिक श्रेष्ठता सहित आम विद्यार्थीहरुलाई संगठनमा आब्द्ध हुन गरिएको आव्हान र जनवादी शिक्षा प्राप्तीको संघर्षमा संगठनको जुझारु परिचालन नै सेम क्षेत्रको क्रान्तिकारी विद्यार्थी आन्दोलनको वर्तमान हो। पुरानो सत्ताको समुल ध्वँस नगरि नयाँ जनवादी सत्ता स्थापना गर्न संभव छैन। जनवादी सत्ताको राजनैतिक नेतृत्वमा जनवादी शिक्षाको अभिष्ट प्राप्ति हुन्छ भन्नेमा अखिल(क्रान्तिकारी) स्पष्ट छ।

प्रचार तथा प्रकाशन : प्रचार क्षेत्रको काममा क्षत्रीय कार्यालय र केही जिल्ला समितिको तर्फबाट पत्रकार भेटघाट, प्रेस विज्ञप्ती, अपील मार्फत संघर्षका योजना सार्वजनिक गर्ने काम भए। आन्दोलनका नाराहरु, वाल पेन्टिङ्ग, व्यानर, झण्डा, कोणसभा, जनसभा प्रचारका माध्यम बने। ढिलै भए पनि प्रकाशनको क्षेत्रमा जनसंग्राम पहिलो अंक प्रकाशित गरिएको छ। क्षेत्रीय संमन्वय समितिको तर्फबाट प्रकाशनको क्षेत्रमा यो पहिलो पाइला हो।

सीमा र कमजोरीहरु :
१. नेता तथा कार्यकर्ताहरुको वैचारिक र राजनैतिक स्तर उकास्न आवश्यकता अनुरुप वैचारीक राजनीति प्रशिक्षण, छलफल र अन्तरक्रिया चलाउन सकिएन।
२. विद्यार्थी समुदायमा आएको नयाँ उभार, नयाँ तरङ्ग र नयाँ लहरको सही क्रान्तिकारी नेतृत्व कायम गर्ने।
३. सक्षम कार्यकर्ता विकासमा जोड गर्दा गर्दै पनि आवश्यकता र क्षमताको अन्र्तविरोधले अपेक्षित कमाण्ड पुगेको देखिदैन।
४. अभियान परिचालनमा मुख्यतः राजनैतिक कमाण्डकै समस्या प्रमुख बन्यो। कमाण्डको कुरा गर्दा या त नोकरशाही बन्ने या त कमाण्डनै फुत्किने गरी उदार बनिदिने कि त अभियानको योजना बनाउन गाह्रो हुने बनाए पछि लामो र मिच्छिने खालको बनाउने, पढाइको कुरा गर्दा अभियान प्रति वेवास्ता गर्ने, अभियानका कुरा गर्दा पढाइप्रति वेवास्ता गर्ने, या त अभियानमा गए पूर्णकालिन नै बन्नु पर्छ या त अभियानमा पालो कटाउन जानु पर्छ भन्ने अति बुझाई।
५. दुश्मन र अवसरवादीको अपहरण र मानव ढालको प्रचार आतंकलाई प्रयाप्त रुपमा चिरफार गर्न नसक्दा अभिभावकहरुमा पर्न जाने भ्रम र आतंकले विद्यार्थीहरुको एक हिस्सा विद्यालयबाटै पलायन हुनु (विस्तारका क्षेत्रमा अझ बढी)
६. विद्यार्थी र शिक्षकको बीचमा हुने प्रस्तुति, अनुशासित, नरम मिजासिलो र सम्मानित भन्दा पनि लगाम विहिन रुखो, कडा र अपमानित खाले गरिने नोकरशाही परिचालनले कतिपय स्थानमा अभियान प्रति वितृष्णा पैदा हुनु राजनीतिक स्पष्टता सहित परिचालन गर्ने भन्दा डर धाक धम्की, रवाफ पेलेर परिचालन गर्न खोज्दा अभियान बाध्यता बन्नु
७. यदाकदा विद्यालय क्षेत्रमा योजनाविना नै हुने गरेको अनावश्यक प्रवेश र शिक्षण सिकाईमा सहयोगी बन्ने भन्दा बोझिलो बन्ने हाम्रा कार्यशैली अभियान परिचालनमा मात्रै नभई शैक्षिक आन्दोलनकै विपरित कार्यशैली हुन। यीनलाई तत्काल सच्याउनु जरुरी छ।
८. प्रकाशनको क्षेत्रमा शुरुवात गरेता पनि निरन्तरता दिन सकिएको छैन।
९. पुरानो शिक्षा प्रणालीको विकल्पमा स्थापना गर्ने जनवादी शिक्षाको बारेमा बहस, छलफल र अन्तरक्रियाको माध्यमबाट त्यसलाई विकास गर्दै लैजाने विषयमा प्रयाप्त काम हुन नसक्नु।
१०. नयाँ सत्ताको अभ्यास भैरहेको ठाउँ विशेषत आधार इलाकामा शैक्षिक आन्दोलनलाई जनचेतनामुलक साक्षरता आन्दोलनको रुपमा प्रभावकारी रुपमा उठान गर्न नसक्नु।
११. आत्मसमर्पणवाद, आत्मसुरक्षावाद, पलायनता लगायत वैचारिक समस्याहरु क्षेत्रीय समन्वय समिति देखि जिल्लाहरुमा छिटफुट रुपमा देखा परे साथै पहिलो चरणमा व्यक्तिवादी अराजकता, यान्त्रिकता, मनोगतवाद तथा २१ औं शताब्दीमा जनवादको विकास र जनवादी केन्द्रीयताको विषयलाई बुझ्नेमा देखिएको समस्या आदी।
१२. साँकेतिक प्रतिरोध कार्यवाहीको कार्यान्वयनमा देखिएको अराजक कार्यशैलीको समस्या।
१३. शहर र क्याम्पसहरुमा राजनैतिक, संगठनात्मक काममा रहेको प्रभावकारी हस्तक्षेपको कमी।
१४. युद्धकालीन गोपनियता, सुचना संचार र रिपोटिङ्ग प्रणालीमा गतिशिलता र चुस्ताको अभाव।
१५. प्राविधिक कलेजहरुमा संगठन निर्माण र विस्तारमा यथेस्ट ध्यान पुग्न नसक्नु
१६. आन्दोलनका विविध फाँटका कामलाई मुख्य र सहायकको रुपमा परिभाषित गरी संयोजन गर्ने तथा सामुहिक निर्णय र व्यक्तिगत उत्तरदायीत्वको मर्मबोध गर्नेमा यदाकदा कमी रहने गरेका छन।
१७. संकीर्णताबाट पैदा हुने इलाकीय स्थानीय, क्षेत्रीयता तथा अराजकताका समस्याहरु यदाकदा देखा पर्ने गरेका छन।
१८. नयाँ विचार र पुरानो संगठनात्मक संरचना र कार्यशैलीको बीचमा हुने टक्करले विद्रोहको संगठन निर्माण गर्ने लाभ हासिल गर्नमा समस्या उत्पन्न हुने गरेको छ । यसको प्रयाप्त छलफल, बहस र अन्तरक्रियाको खाँचो छ।
१९. निजिकरण, व्यापारीकरण मुलतः नीजि विद्यालय विरोधी संघर्षका क्रममा बुझाईमा अस्पस्टताका कारण कतिपय स्थानमा यसलाई जडताका रुपमा लिने जनअनुमोदन नगराईकनै विस्थापन गर्ने, वैकल्पिक व्यवस्थापनको लागि चासो नराख्ने, शुल्क कटौती गर्नेलाई प्रतिस्ठाको विषय बनाउने । यसलाई नै आन्दोलनको प्रधान कार्यभारको रुपमा बुझ्ने जस्ता कमजोरीहरु हुने गरेका छन।
२०. शुल्क विरोधी आन्दोलनलाई पनि यान्त्रिक र जड रुपमा बुझ्ने। सरकारी, अर्ध सरकारी र नीजिश्रोतका जम्मै विद्यालयमा सोलोडोलो शुल्क फिर्ताको नारा लागु गर्ने जस्ता समस्या देखा पर्ने गरेका छन।
२१. राष्ट्रियताका सवालमा बैदेशिक हस्तक्षेप विशेषतः भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्धको संघर्ष तथा क्षेत्रीय जातीय तथा लिङ्गीय उत्पीडनको विषयलाई वैचारिक तथा कायक्रमिक योजनामा राखेर जानमा कमी रहयो।
२२. भारतका विभिन्न कलेजहरुमा विशेष गरी उत्तराखण्डको पिथौरागढ लगायतका क्षेत्रमा रहेका नेपाली जनयुद्धको पक्षमा भएका युवा विद्यार्थीहरुलाई संगठीत गरेर जाने काम पछि परेको छ।

आर्थिक काम :
गत प्रथम वैठकदेखि हालसम्मको आर्थिक आम व्यय तथा बचत विवरण यस प्रकार छ।
१. पुरानो मौज्दात २. लेबीबाट ३. कोटा शुल्क ः मासिक कोटा, प्रकाशन कोटा, विशेष कोटा
४. विविध शिर्षकमा जिल्लाबाट प्राप्त रकम।

व्यय ः– १.) आधारभूत खर्च २) लजिष्टिक खर्च ३) स्टेशनरी ४) कार्यकर्ता परिचालन खर्च ५) प्रकाशन खर्च ६) पुस्तकालय खर्च ७) प्राविधिक खर्च ८) भेला र प्रशिक्षण खर्च
बचतः—
समस्याहरु ः—
१. कतिपय भेला बैठक÷प्रशिक्षणमा आर्थिक विषय एजेण्डामा नपर्नु।
२. लेबी र कोटाशुल्कलाई अनुशासनको विषय बनाउन नसक्नु।
३. सदस्यता शुल्कको रकम उपल्लो कमिटिसम्म नियमित पुर्याउन नसक्नु।
४. संगठनलाई आत्मनिर्भर बनाउनका लागि आर्थिक पक्षलाई संघर्षकै अभिन्न अंगको रुपमा विकास गर्न नसक्नु।
५. चन्दा संकलन संगठन परिचालनको मुख्य श्रोत बन्नु।

आगामी कार्ययोजना
नेपाली जनयुद्धले विकासका विभिन्न चरण र उपचरण पार गर्दै रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरीसकेको छ। यो चरण जनयुद्धको समग्र विकासको अन्तिम र निर्णायक चरण हो। रणनैतिक प्रत्याक्रमणको सैद्धान्तिक अवधारणा, प्रत्याक्रमणमा प्रवेशको राजनैतिक र फौजी आधार र भावी विकासका रुपरेखाबारे बुझाईमा स्पष्टता हासिल गरी सर्वहारावर्गको अग्रदस्ता ने.क.पा.(माओवादी) को विचारधारात्मक, नीतिगत र योजनागत मार्गनिर्देशनको आधारमा क्रान्तिकारी विद्यार्थी आन्दोलनको ठोस कार्ययोजना निर्माण गर्नु हाम्रो प्राथमिक दायित्व हुन जान्छ। साम्राज्यवादी हस्तक्षेप विशेषतः भारतीय विस्तारवादी हस्तक्षेप र सामन्ती सत्ताको राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति नै प्रत्याक्रमणको प्रमुख चुनौती हो भने क्रान्तिकारी शक्ति र आम जनसमुदायलार्य नयाँ उचाईमा एकतावद्ध गर्नु, रुपान्तरण गर्नु नयाँ आत्मविसश्वासका साथ दुश्मनमाथि प्रभावकारी प्रहारलाई संगठीत गर्नु प्रमुख कार्यभार हो।

समग्र जनयुद्धको विकासमा एउटा महत्वपूर्ण अंग बनेको उर्जाशील र जुझारु मोर्चा युवा विद्यार्थीहरुको क्रान्तिकारी संगठनका हैसियतले मालेमावाद प्रचण्डपथको विकसित विचारको सही बुझाई सहित योजना कार्यान्वयनमा हामफाल्नु, घरेलु प्रतिक्रियावाद र भारतीय विस्तारवादमािथ प्रहार केन्द्रित गर्नु र क्रान्तिकारी हेडक्वार्टरलाई आम विद्यार्थी एवं जनसमुदायमा नयाँ उचाईमा स्थापित गर्ने हाम्रो अगामी कार्ययोजना हुनु पर्दछ। क्रान्तिकारी विद्यार्थी आन्दोलनको पश्चिमी मोर्चाबाट यो लक्ष्य प्राप्त गर्नका लागि ने.क.पा(माओवादी) पश्चिम केन्द्रीय कमाण्डद्वारा ठोस गरिएको ‘एकीकृत अग्रगामी रुपान्तरण अभियान’ को योजना अनुरुप संगठनको पश्चिम उपकेन्द्रीय समितिको ठोस निर्देशनको आधारमा यस क्षेत्रमा निम्न बमोजिमको कार्य योजना तय गरिएको छ।

१. बैचारिक राजनैतिक काम :
क) विचार नेतृत्व र आन्दोलनलाई अलग थलग पार्ने प्रतिक्रियावादी र अवसरवादीहरुको षडयन्त्रलाई चिर्दै मालेमावाद र प्रचण्डपथको गतिशील विकासबारे बुझाईमा एकरुपता पैदा गर्न क्षेत्र देखि इकाईसम्म प्रशिक्षण छलफल र अन्तरक्रिया सञ्चालन गर्ने। सर्वहारा क्रान्तिकारी हेडक्वाटरलाई नयाँ उचाईमा एकीकृत र केन्द्रिकृत रुपमा स्थापित गर्ने यस योजना अवधिभित्र जिल्लादेखि इकाईसम्म केन्द्रीय सदस्य र क्षे.स.स.हरुको सहभागितामा नीति तथा योजना सम्प्रेषण सम्पन्न गर्ने।
ख) भारतीय विस्तावादद्वारा श्रृंखलाबद्ध रुपमा भइरहेको राजनैतिक आर्थिक साँस्कृतिक र भौतिक हस्तक्षेपको साथै सम्भावित सैन्य हस्तक्षेपको व्यापक भण्डाफोर र प्रतिरोध आन्दोलनको तयारी गर्ने।
ग) पुरानो सत्ताद्वारा गरिएको ‘कथनिमा वार्ता र करनीमा षडयन्त्र’ को जाललाई चिर्दै अन्य विद्यार्थीहरुसंगको संवाद सहकार्यलाई नयाँ स्तरमा विकसित गरी गणतन्त्रको नारामा केन्द्रित गरी संयुक्त आन्दोलन उठान गर्न पहल गर्ने।
घ) सामन्त, साम्राज्यवाद मुलतः भारतीय विस्तारवाद तथा राष्ट्रिय आत्मसमर्पणवाद विरोधी देशभक्त वामपन्थी जनतान्त्रिक तथा प्रजातान्त्रिक विद्यार्थी समुह र व्यक्तिलाई आन्दोलनमा एकाकार गर्ने।
ङ) आधार इलाकामा जनचेतनामुलक वैचारिक राजनैतिक अभियानकै रुपमा जनसाक्षारता अभियान सञ्चालनमा जोड दिने।
च) विचारधारात्मक रुपमा जुझ्नु पर्ने विषयवस्तु बनेर आएका व्यक्तिवादी अराजकतावाद, अधिभुतवाद, यान्त्रिक भौतिकवाद, मनोगतवाद, आत्मसुरक्षावाद, संर्कीणतावाद, विचार संश्लेषणको महत्वलाई न्युनिकरण गर्ने, नयाँ विचार अनुसारको संगठन र कार्यशैलीमा विकास नगर्ने आदि समस्याका विरुद्ध लडदै विकसित विचार मालेमावाद र प्रचण्डपथ, २१ औं शताब्दीमा जनवादको विकासबारे, जनताको जनवादी अधिनायकत्व, जनवादी केन्द्रीयता, ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, सिर्जनशील क्रान्तिकारी माक्र्सवाद, शुद्धिकरण र सर्वहारा कार्यशैलीबारे शास्त्रीय तथा व्यवहारिक रुपमा अध्यापन र प्रशिक्षणलाई केन्द्रित गर्ने।
छ) सेती–महाकाली क्षेत्रको वस्तुगत अवस्थिति, भाषा, सँस्कृति र मनोविज्ञान अनुरुप शैक्षिक नीति तथा योजना निर्माणको विषयमा, स्वायत्त प्रादेशिक सरकारको शिक्षा नीतिको आधारमा, बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा छलफल, बहस र अन्तरक्रिया सञ्चालन गर्ने।
ज) शहर र सदरमुकाम भित्र रहेका कलेजहरु, सार्वजनिक तथा नीजि विद्यालयबाट विद्यार्थीहरुलाई राजनीतिक अभियान र शैक्षिक भ्रमणको रुपमा आधार इलाका प्रवेश गर्न प्रेरित गर्ने।
झ) नेतृत्वको चौतर्फी विकास मुलतः महिला, दलित तथा जनजाति क्षेत्रबाट नेतृत्वको विकासको लागि विशेष पहल गर्ने।

२. संगठनात्मक काम :
क) २१ औं शताब्दीमा जनवादको विकासको मुल मर्म अनुरुपको संगठनात्मक संरचना निर्माण गर्ने जिल्लादेखि इकाइसम्म नेतृत्व प्रतिस्पर्धात्मक प्रणालीबाट छनौट गर्ने।
ख) शहरभित्र मुख्यतः क्याम्पसहरुमा जनशक्ति उत्पादनको लक्ष्य सहित युनिटहरु निर्माण गर्ने कृषि, इञ्जिनियरिङ्ग र स्वास्थ्य क्षेत्रका कलेजहरुमा विशेष जोड दिने।
ग) रणनैतिक प्रत्याक्रमणको योजना अनुरुप संगठन निर्माण गर्ने। अहिलेको सन्दर्भमा योजनाको संगठन भन्नाले संगठनको फौजीकरण नै हो। संगठनको फौजीकरणको मूर्त अभिव्यक्ति भनेको समग्र संगठनलाई जनमिलिशियामा रुपान्तरण गर्नु हुनेछ । विगतमा हगुल्टे, विनायक लगायतका थुप्रै मोर्चामा विद्यार्थी मिलिशियाको सहभागिता र प्रतिक्रियावादी सेनामाथि आक्रमणको बस्तुगत आवश्यकताको माग बमोजिम प्रत्येक उच्च शिक्षण संस्थामा नेताहरुको एक सुदृढ मिलिशिया र त्यसको मातहतमा आम मिलिशिया निर्माण गर्ने।
घ) कुनै पनि राजनैतिक अभियान संचालन गर्दा होस वा संगठनात्मक गतिविधिहरु सञ्चालन गर्दा होस, जनमुक्ति आन्दोलनलाई आवश्यक पर्ने जनशक्ति उत्पादनलाई लक्षित गरी सञ्चालन गर्ने।
ङ) विद्यालय र कलेजहरुमा विद्यार्थीहरु भित्र रहेको अन्र्तनिहीत समतालाई प्रस्तुति गर्ने उद्देश्यका साथ विविध रचनात्मक कार्यक्रम, कविता, गीत, लेख र रचना, संस्मरण आदि विधाहरुको संयोजन गर्न संगठनको साँस्कृतिक शाखा गठन गर्ने र शिक्षण संस्था १ साँस्कृृतिक टिम निर्माण गर्ने।

च) संगठनात्मक शुद्धिकरण र कार्यशैलीमा रुपान्तरण सम्बन्धमा  विद्यार्थी नेता कार्यकर्ताले सामान्यतः सबैतिर, विशेषगरी कलेज, विद्यालय र होस्टेलमा कार्यक्षेत्र बनाउने कार्यक्षेत्रमा रहँदा जतिबेला पनि निश्चित योजना र कमाण्डमा रहने, नेताहरुले सधैभरी शिक्षण सिकाई क्रियाकलापमा उत्पे्ररक सहयोगीको भूमिका खेल्ने।
 औपचारिक संगठन र नोकरशाही परिचालनको गलत कार्यशैलीलाई सुधार गर्दै सुदृढ संगठन र व्यवस्थित परिचालनमा जोड दिने।
 २१ औं शताब्दीको जनवादको विकासले मार्ग निर्देशन गरे अनुरुप दुईलाइन संघर्षमा आम जनता तथा विद्यार्थीको भूमिका सुनिश्चित गरी नेता कार्यकर्ताको गलत विचार तथा कार्यशैलीमा नियन्त्रण कायम गर्न विद्यार्थी तथा जनसमुदायको वैचारिक÷राजनैतिक चेतना अभिवृद्धी गर्ने।
 कमिटिमा विशेषगरी जिम्मेवारी पुरा गर्न सक्ने सदस्यहरुलाई सकभर पुरा गर्न प्रेरीत गर्ने, नसके हट्न प्रेरित गर्ने र हटाउने। अनुशासन विपरित कार्य गर्नेलाई अनुशासनको कार्यवाही गरि कमिटीलाई गठन÷पुनर्गठन गर्ने।
 संगठनका नेता कार्यकर्ताको मूल्याँकन विचार र कार्यदिशाको ब्याख्या (भाषणमा) होइन। उसको जीवन व्यवहारमा जाँच्ने। क्रान्तिकारी प्रतिवद्धता, सिर्जनशीलता र कार्यान्वयनमा साहस र विवेकको आधारमा गर्ने।
 आलोचना र आत्मआलोचनालाई घट्ना सन्दर्भमा केन्द्रित गर्ने।
 मालेमावाद र प्रचण्डपथीय द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आधारमा सामन्तवादी तथा औपनिवेशिक शिक्षा नीति भित्र हुने फेरबदल र संघर्षको नाममा भइरहेको शैक्षिक पाठ्यक्रमलाई अध्ययन, छलफल र प्रशिक्षणको विषयवस्तु बनाउने। (विद्यार्थी नेता कार्यकर्ताले) युद्धकालिन अवस्थामा संगठनको कामकै व्यस्तताको बीचमा अध्यापन राजनैतिक छलफल र अन्तरक्रियालाई क्रान्तिकारी सर्वहारा संस्कारको रुपमा विकास गर्ने।
 विद्यार्थी तथा जनसमुदायले कुनैपनि विद्यार्थी नेता, कार्यकर्ताको बारेमा जनअदालतमा उजुरी गर्न पाइने अधिकारको ग्यारेण्टी गर्ने।
 विद्यार्थी नेता, कार्यकर्ताले आफ्नो जीवन शैली विद्यार्थीहरु सरह मिल्ने खालको हुनु पर्नेछ। नेता तथा कार्यकर्ताहरु विद्यार्थी तथा जनसमुदायकै विचमा सुरक्षित रहने।
 हरेक तल्ला कमिटिले माथिल्लो कमिटीको लिखित मौखिक आलोचना वा सुझाब पेश गर्ने।
 प्रत्येक कमिटिले आफ्नो कमिटी र तल्लो कमिटिको डाटा अनिवार्य रुपले राख्ने।
 विद्यालय र होस्टेलमा रहेको संगठनलाई शिक्षण संस्था भित्र उत्पादनको योजना बनाई परिचालन गर्ने। विद्यालयमा प्रत्येक महिनाको १ दिन श्रम दिन तोक्ने।
 अभियान सञ्चालन गर्दा (जहाँ र जहिले जतिबेला जस्ले पनि हुने गरेकोले) निश्चित कमिटी र नेतृत्वको कमाण्डमा निश्चित समयावधिमा पार्टी योजनामा एकीकृत हुने गरी अध्ययन लेखन, अन्र्तक्रिया, प्रशिक्षणको ठोस विधि सहित विद्यार्थी तथा समुदायको वैचारिक, राजनैतिक, संगठनात्मक, फौजी तथा शैक्षिक उद्देश्य हाँसिल गर्ने ठोस लक्ष्य तय गरि गर्ने।
३) संघर्ष सम्बन्धि कामः
(क) एकीकृत संघर्षको उठानको तयारी सहित शैक्षिक क्षेत्रमा विद्यमान समस्याहरुको संकलन गर्ने। रणनैतिक प्रत्याक्रमणको प्रचार कार्यलाई केन्द्रमा राख्दै टिमबद्ध प्रचार अभियान संचालन गर्ने। यसका लागि आवश्यक नेतृत्व सुनिश्चित गर्दै क्याम्पस, उ.मा.वि. र मा.वि. हरुको कार्यक्षेत्र निर्धारण गर्ने।
(ख) हजारौं ठाउँमा एकैसाथ मोर्चा खोल्ने लक्ष्यका साथ सम्पूर्ण तयारी गर्ने, जनमुक्ति सेना भएको ठाउँमा मात्रै मोर्चा खडा नगरेर शिक्षण संस्था, गाउँ र शहरलाई समेत मोर्चामा बदल्ने। जसका लागि शिक्षण संंस्था र गाउँहरुमा टनेल, बंकर व्यापक मात्रमा निर्माण गर्ने। विद्यार्थीहरुको एक मूख्य कार्यभार अध्ययन गर्नु हो भने अर्को महत्वपूर्ण कार्यभार विस्तारवादी हस्तक्षेपका विरुद्ध राष्ट्रिय युुद्ध लड्नु पनि हो। तसर्थ आधारभूत भौतिक तालीमको व्यावस्था सबैलाई र आवश्यकतामा सुदृढ मिलिसियालाई विविध तालिम संञ्चालन गर्ने।
(ग) विस्तारवादी हस्तक्षेपका विरुद्ध र राष्ट्रियताका पक्षमा आन्दोलनलाई संगठीत गर्ने, असमान सन्धी, नदीनाला बेचविखन, सिमा अतिक्रमण आदी मुद्दाहरुमा सेती–महाकाली र थारुवान स्वायत्त प्रादेशिक जनपरिषदले घोषणा गर्ने चरणबद्ध संघर्षको कार्यक्रममा एकेबद्धता सहित सक्रिय सहभागि बन्ने ने.क.पा.(माओवादी)को आयोजनामा हुने।
घ) जनसंघर्ष सेवोटेज र फौजी संघर्षमा हाम्रो संगठनको फर्मेशनवद्ध सहभागिता जनाउने संगठनले संगठित मिलिशियाको कमाण्ड गरी जनमुुक्ति सेनासंग समायोजन गर्ने।
(ङ) विस्तारवाद तथा घरेलु दलाल नोकरशाहद्वारा सञ्चालित सास्कृतिक तथा शैक्षिक प्रतिस्ठान माथि राजनैतिक भण्डाफोर गर्दै आवश्यकताबारे भौतिक आक्रमणलाई केन्द्रित गर्ने।
च) विभिन्न गैर सरकारी तथा सरकारी संस्थाद्वारा शैक्षिक क्षेत्रमा विभिन्न नाममा प्रवेश गरी युवा विद्यार्थीहरुको परिवर्तनकामी आवाजलाई फुटाउने र विकेन्द्रित गर्ने षडयन्त्रको भण्डाफोर गर्दै राष्ट्रिय सेवा दल तथा स्काउटको नाममा विद्यार्थीलाई भाडाका सेनामा बदल्ने प्रतिक्रियावादी षडयन्त्रलाई आम विद्यार्थीहरुको सहभागितामा ध्वस्त पार्ने।
छ) नयाँ शैक्षिक क्यालेन्डर तयार पारी लागु गर्न आन्दोलनकै रुपमा लैजाने।

प्रिय विद्यार्थी साथीहरु,
सामन्तवादी तथा औपनिवेशिक शिक्षा प्रणालीले हामी नेपाली युवा विद्यार्थीहरुलाई बेराजगार कारिन्दा र भाटको रुपमा पराधिन र दास जिन्दगी विताउन बाध्य पारेको छ। शिक्षा हुने खानेको पेवा बनेको, भौतिक पूर्वाधार विहिन, शिक्षा क्षेत्रमा विकृति, विसंगति र अराजकता त छँदैछ त्यहाँ शाही सेनाले नाङ्गो नाच नाच्दै विद्यालय क्षेत्रमा नरसंहार गरिरहेको छ। त्यसको उदाहरण बनेका छन। अछाम वली गाउँ, विनायक, डोटी मुठभरा र बाजुरा आर्टिचौर। बाजुराका उच्च मा.वि. मार्तडी कोल्टी लगायतका दर्जनौं विद्यालयमा शाही सेनाको व्यारेक छन। भारतीय विस्तारवाद नेहरु डक्ट्रिनको सिद्धान्त अनुरुपनै नेपालमा हस्तक्षेप बढाउदै आएको। विभिन्न नदी नालामा सामन्ती सत्तासँग सौदाबाजी गर्न र नेपाली जनयुद्धका विरुद्ध राष्ट्रघाति, जनघाति कदम चाल्ने प्रयत्न गर्दैछन। यस्तो बेला सबै न्यायप्रेमी वामपन्थी, प्रगतिशील तथा जनतान्त्रिक विद्यार्थीहरु राष्ट्रियता र प्रजातन्त्रको पक्षमा एक ढिक्का बनौं। नयाँ जनवादी सत्ताको अभ्यास संगै जनवादी शिक्षाको अभ्यास गर्न आवश्यक छलफल अन्तरक्रिया र वहस गरौं। शैक्षिक अधिकार र पूर्ण प्रजातन्त्रको लागि प्रत्याक्रमणको योजनामा सामेल होर्औ। जीत हाम्रो सुनिश्चित छ।

नाराहरु
१. महान् जनयुद्ध – जिन्दावाद !
२. अनेरास्ववियू (क्रान्तिकारी) – जिन्दावाद !
३. अर्ध सामन्ती र अर्ध औपनिवेशिक शिक्षाको विकल्प – जनवादी शिक्षाको प्राप्ति हाम्रो संकल्प !
४. साम्राज्यवाद तथा भारतीय विस्तारवाद – मुर्दावाद !
५. सामन्ती अधिनायकवाद – मुर्दावाद !
६. ने.क.पा.(माओवादी) – जिन्दावाद !
७. वीर शहीद – लाल सलाम !
८. जनमुक्ति सेना नेपाल – जिन्दावाद!

(२०६१ कार्तिक १ र २ गते अनेरास्ववियू(क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिको आयोजनामा अछाम भाटाकाटियामा सम्पन्न प्रथम क्षेत्रीय भेला तथा प्रशिक्षण कार्यक्रममा संयोजक रमेश मल्लद्धारा प्रस्तुत प्रतिवेदन।)

Comment