मैनतडामा गुमाएका ५ सहयोद्धाहरुको सम्झनामा

आज चैत्र २१, आजभन्दा ठिक २० बर्ष पहिले मैले एक आत्मीय राजनीतिक अभिभावक र प्रिय कमरेडहरुलाई गुमाएको दिन हो।

‘जनप्रतिरोध अभियान’ जिल्ला पार्टीको राजनीतिक तथा संगठन विस्तारको अभियान थियो। भेरीवारीका सुर्खेतका धारापानी, मालारानी, मैनतडा, साहारे, छिन्चू आदि भूभाग पार्टीको तत्कालीन राजनीतिक संरचना अनुसार सल्यान जिल्लाअन्तर्गत राखिएका थिए र त्यो क्षेत्रको अभियान टिमको नेतृत्व जिल्ला पार्टी सदस्य कमरेड लोकेन्द्रप्रकाश गिरी (चिरपरिचित)ले गर्नुभएको थियो। उहाँको टिममा एरिया सेक्रेटरी कमरेड धनबहादुर वली (रोषन), विद्यार्थीका जिल्ला समिति कोषाध्यक्ष कमरेड तिलक कुमाई (दर्शन), जिल्ला सदस्य कमरेड मोहन पुन, सहिद पत्नी तथा महिला कार्यकर्ता कमरेड पवित्रा राना बुढाथोकी हुनुहुन्थ्यो।

कमरेड चिरपरिचितको जीवनसंगिनी तथा हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य तथा कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर गिरी, २०५६ पौष १ गते जन्मिएको ४ महिना पुग्न थालेको बच्चा सूर्यप्रकाश गिरी (हाल उनी बीएस्सी एजी अध्ययन गरिरहेका छन्) सहित सोही अभियानमा हुनुहुन्थ्यो भने कमला भट्टराई (पछि सहिद हुनुभो) लगायतको ११ जनाको टोली अभियानमा थियो।

सुराकीको सूचनाको आधारमा प्रहरीले सुर्खेतको मैनतडामा उहाँहरु बसेको सेल्टर साँझ ४ बजेतिर घेरा हालेको रहेछ। प्रहरीले घर घेराउ गरेको थाहा पाएपछि घेरा तोड्ने प्रयास गर्दा गर्दै उहाँहरु पाँच जना सहिद हुनुभएको रहेछ।

त्यो बेला गिरिजाप्रसाद कोइला नेतृत्वको नेपाली काङ्ग्रेसको सरकार थियो। सरकार माओवादीप्रति निकै आक्रामक रूपमा प्रस्तुत भएको थियो। त्यो क्षेत्र भर्खरैमात्र निवर्तमान भएका सूचना तथा संचारमन्त्री पूर्णबहादुर खड्काको थियो। सरकारले निहत्था मान्छेलाई नियन्त्रणमा लिएर थुनामा राख्न सक्थ्यो तर उनीहरु माओवादीलाई कत्लेआम गरेर समाप्त गर्न चाहन्थे। यो घटनामा पनि निहत्था राजनीतिक कार्यकर्तालाई नियन्त्रणमा लिएर कायरतापूर्वक हत्या गरे।

बाहिर बच्चा समातेर दौडन खोजेकी दिलमाया बुढामगरलाई प्रहरीले घरकै मान्छे जस्तो लागेर छोडेछ। उक्त टोलीमा रहेका २ जना गङ्गा पुनमध्ये सहिद सर्वजितको जीवनसंगिनी (सर्बजितको घर कालागाउँ खरखरेना हो र उहाँ रुकुमकोट प्रहरी चौकी कब्जा गर्दा सहिद हुनुभएको हो।) उहाँ हाल बनगाड कुपिण्डे नगरपालिकामा कार्यपालिका सदस्य हुनुहुन्छ। अर्को गङ्गा पुन हाल थारमारेको बिउरेखोलामा हुनुहुन्छ।

घटनामा दुवै हातमा गोली लागि घाइते हुने हिरा बुढाथोकी घाइते शरीर लिएर घेरा तोड्न सफल हुनुभएको रहेछ। उहाँ हाल सल्यान बांगेलाँखुरी बजारमा पसल राखेर बस्नुभएको छ।

उक्त घटनामा घाँटीमा गोली लागेर घाइते हुनुभएकी कमला भट्टराई पछि बिशेष जिल्लाको महिला अध्यक्ष हुँदा मैनतडामै सहिद हुनुभयो।

यस क्षण २० वर्षअघिको तत्कालीन राज्यले निशस्त्र माओवादी नेता, कार्यकर्तामाथि गरेको विभत्स घटनामा सहिद हुनुभएका कमरेडहरु, घाइते तथा संघर्षशील योद्धाहरु सबैमा आजको दिन हार्दिक सम्मान तथा सलाम व्यक्त गर्दछु।

२० वर्षअघिको घटनालाई सम्झदै सहिद परिवार दिलमाया बुढामगर गिरीले भन्नुभएको थियो, ‘आफ्नै आँखा अगाडि जीवनसाथीलाई कब्जामा लिइ निर्ममतापूर्वक हत्या गरिएको असह्य पीडाबीच ४ महिनाको छोरोलाई छातीमा टाँसेर कहिले होस गुमाउँदै त कहिले उठ्दै र हिड्दै रातीको १२/१ बजेतिर काप्रेचौरको जलजलामा पार्टी सम्पर्कमा पुगें।’

हामीले रेडियो नेपालको समाचारमा ‘मैनतडामा दोहोरो भिडन्तमा ५ आतंककारी मारिएको’ खबर सुन्यौं। लाग्यो, कुन–कुन कमरेडलाई हत्या गरेर फेरि दोहोरो भिडन्तको नाटक रचना गरियो। घटनाको दुई दिनपछि हामीलाई थाहा भो– कमरेड चिरपरिचितसहितका सहयोद्धाहरु पो हुनुहुँदो रहेछ।

बैशाख पहिलो साता भल्चौरको कैनपानी (हाल दार्मा गाउँपालिका–४) मा अभियानको समीक्षा भयो। उक्त हत्या पार्टीको लागि अपूरणीय क्षति थियो। सल्यान जिल्लाको सफल उत्तराधिकारीको रूपमा उदियमान वैचारिक नेतृत्व, कुशल संगठक, स्पष्ट वक्ता, वर्ग निष्ठाका प्रेरक कमरेड चिरपरिचित हामीसँग रहनुभएन। न त कुशल संगठक कमरेड रोशन नै। मेरो जिल्ला कमिटी तत्कालीन अखिल (क्रान्तिकारी)का अत्यन्तै आशालाग्दा युवा तिलक कुमाई, मोहन पुन पनि हामीले गुमाइसकेका थियौं। उहाँहरुको बियोगमा शोकलाई शक्तिमा बदल्ने र सहिदको सपना साकार पार्ने साझा संकल्प गर्यौ।

आज उहाँहरुले देश, जनता, क्रान्ति र परिवर्तनको लागि बलिदान गरेको २० बर्ष पुगेछ। बिहानै सहिद चिरपरिचितको पुत्र सूर्यप्रकाश गिरीलाई फोन गरेर भनें– ‘बाबू के गर्दैछौ ?’

उसले उत्तर दियो, ‘अंकल म खजुरामा छु। तीन जना साथीसहित कोठामा छु। कोरोनाविरुद्ध कोठामा बसेर लडिरहेको छु।’

मैले भनें– ‘तिमी कति बर्षको भयौ? उसले उत्तर दियो, ‘२० बर्ष पुगें अंकल, बुवा सहिद भएको पनि आजै २० बर्ष पुग्यो नि अंकल।’

हो, मैले पनि बुवालाई सम्झिरहेको छु। सुरक्षित बस, राम्रोसँग पढ भनेर फोन राखें।

दिलमाया दिदी गाउँपालिका अध्यक्ष हुनुभएको छ। उहाँ जनयुद्धमा आफन्त गुमाउने परिवारको एक अथक सिपाही र प्रेरणा हुनुहुन्छ। सूर्यप्रकाशको अनुहारमा बस्न लागेको जुँगारेखीले ठ्याक्कै बुबाको यादलाई बिर्साउँछ। उसँग बुवाजस्तै समाजको लागि केही गर्नुपर्छ भन्ने उत्प्रेरणा र सपना देखिन्छ। उसलाई देख्दा उ जस्तै सयौं सहिदका सन्ततिको माया उर्लेर आउँछ।

हिजोआजको हावापानी बडो प्रदुषित छ। यो पुस्तालाई प्रदुषणमुक्त गरेर असल मार्ग देखाउन सकेमात्रै पनि हाम्रो कर्तव्य पूरा हुने थियो। जसको लागि संघर्षबाट आएको हाम्रो पुस्ताले आफूलाई उदाहरणको रुपमा पेस गर्ने आँट गर्नैपर्छ।

फेरि पनि, आजको दिन ती महान् योद्धाहरुप्रति हार्दिक सम्मान, सम्झना तथा श्रद्धाञ्जली व्यक्त गर्दछु।

halkaranews.com मा प्रकाशित

Comment