मेरो देश

आकाश धर्ती जहाँसुकै खोज
मेरो सगरमाथाको शीरमाथि खोज
जहाँ अजर, अटल स्वदेश भेटिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।

वीर नेपालीका सन्ततिहरु
आफ्नै स्पन्दन छामेर हेर
इतिहासका पत्र पत्रमा
रगतको गन्ध सुँधेर हेर
जहाँ वीरताको कथा भेटिनेछ
त्यहाँ बलिदानको गाथा भेटिनेछ ।

हिमाल, पहाड, तराई मधेस
प्रकृतिको मनोरम वरदान छ बिशेष
क्रान्ति र परिवर्तनको बाटो समाती
शान्ति र समृद्धिको सपना छ विशेष
जहाँ विविधतामा एकत्वको परिवेश भेटिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।

यहाँ मानव छ / मानवीयता छ
यहाँ सचेतना छ / गतिशीलता छ
जहाँ अभाव, अशान्ति र कुशासनलाई
सुशासन, शान्ति र समृद्धिमा बदल्ने दृढता छ
जल, जमीन, जडिबुटी, जलस्रोत र जनशक्ति
समायोजन र विकसित गरेर
२१ औं शताब्दीको मध्यान्तरसम्म
समाजवादी नेपाल निर्माणको योजना छ ।

स्वाधीन र समाजवादी सपनाको
जीवन्त आकृति हो नेपाल
विभेद र अपमानका विरुद्ध
समानता अनि स्वाधीनताको हुँकार हो नेपाल

हेर– धर्ती आकाश नियालेर हेर
ऊ पारि पारि क्षितिजमा हेर
जहाँ सुनौलो विहानी देखिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश देखिनेछ ।
जहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।।

२०७७ असार ३, काठमाण्डू

Comment