थारमारे हत्याकाण्ड: वर्गसंघर्षमा क्रमभंगता

२०५४ पुष,माघतिर हिउदको मौसम चिसै थियो। अखिल(क्रान्तिकारी) सल्यानको जिल्ला समिति बैठकको लागि शिवरथस्थित भरत भावुक सरको घरमा सम्पर्क गर्न भनियो। भरतसरको सम्पर्क हुँदै साँझको खाना खुरखुरे प्रेम वली प्रभातको घरमा खायौं। रात परेपछि गन्तव्यतिर पाइला चाल्यौं, जहाँ हाम्रो बैठक आयोजना गरिएको थियो। त्यहाँ पुगेपछि थाहा भयो, हामी ढाकाडाम गाविस – ८ किमटाकुरा पुगेका रहेछौं। बैठकमा पार्टीको तर्फबाट विद्यार्थी फ्रया्क्सन इन्चार्ज कमरेड टेक बहादुर बस्नेत सञ्जय र संगठनको केन्द्रीय समितिको तर्फबाट वैकल्पीक केन्द्रीय समिति सदस्य गोपाल शर्मा उपस्थीत हुनु भएको रहेछ। एकातिर भुमिगत पार्टी नेतृत्वको उपस्थीति अर्कोतीर अध्यक्ष चन्द्रबहादुर रानालाई राज्यले लगाएको झुट्ठा मुद्धा र वारेन्ट, खुला रुपमा बैठक सम्पन्न गर्ने अवस्था थिएन।

अनेरास्ववियू(क्रान्तिकारी) को १४ औं राष्ट्रिय सम्मेलन व्यापक धरपकड र प्रतिरोधकाबित भर्खरै काठमाडौंमा सम्पन्न भएको थियो। राष्ट्रिय सम्मेलन पछि सम्पन्न भएको केन्द्रीय समिति बैठकका निर्णयलाई जिल्लाको सन्दर्भमा लागु गर्न बैठक बोलाईएको रहेछ। बैठकमा संगठनात्मक निर्णय पनि गरीयो। सोही बैठकबाट संगठनका अध्यक्ष चन्द्रबहादुर राना विदाई हुनुभयो भने उपाध्यक्ष टिकाराम वली अध्यक्ष चुनिनु भयो। पार्टीको निर्देशन र संगठनको केन्द्रीय योजना मुताविक वलिदान दिवसको अवसरमा संगठनले जिल्लास्तरीय केन्द्रीकृत जनप्रर्दशन र सभा गर्ने निर्णय गरीयो। त्यतीन्जेलसम्म सल्यानमा विद्यार्थी संगठनका गतिविधिहरु खुला रुपमा हुँदै आएका थिए तसर्थ उक्त कार्यक्रम थारमारेमा सम्पन्न गर्ने पनि बैठकले निर्णय गर्यो।

जनयुद्ध तेश्रो बर्षमा प्रवेश गर्दै थियो। वर्गसंर्घषले घनिभुत आकार ग्रहण गर्दै थियो। रोल्पा र रुकुमसङ्गै सल्यानमा पनि वर्गसंर्घषका घटनाहरुको सञ्चार र प्रभाव विस्तार भैरहेको थियो। उक्त प्रभावलाई रोक्न  प्रतिक्रियावादीहरु जनतामा चरम दमन र अत्याचारका हथकण्डा प्रयोग गरीरहेका थिए। ०५१ को मध्यावधी निर्वाचनमा दुवै क्षेत्रबाट चुनाव जितेका काँग्रेसीहरु जिल्लामा आफ्नो एकछत्र राज कायम गर्न चाहन्थे भने एमालेहरु दमनबाट आहत भएका जनतालाई आफ्नो  सदस्यता भिडाउने अभियान चलाईरहेका थिए। यसले जनआक्रोशको मात्रालाई झनै बढाईरहेको थियो। हामीले थारमारेमा हजारौं जनसमुदायका बिचमा वलिदान दिवसको शान्तिपुर्ण कार्यक्रम गर्ने योजना बनायौं। त्यतीबेला १ नं. इलाकामा प्रेम वली, भागीराम वटाला (शहिद) र रेशम पुन, २ नं. इलाकामा वीरेन्द्र शाही, खगेश्वर शर्मा र रमेश मल्ल(म) तथा ३ नं. इलाकामा रमेश कुमार मल्ल लगायतका साथीहरु कार्यक्रमको जिम्मा लिएर लागेका थियौं।

जनयुद्धको तेश्रो बार्षिकी जिल्लाका प्रायः सबै इलाकामा विविध कार्यक्रम सहित सम्पन्न भईरहेका थिए। यसले प्रतिक्रियावादीहरुको निद हराम गरेकै थियो अझ त्यसमा क्रान्तिकारीको हजारौंको जनप्रर्दशनको कुराले उनीहरु सन्तुलन गुमाईसकेका रहेछन। प्रशासनले कार्यक्रमको अघिल्लो दिन नै सदरमुकामबाट दर्जनौं कमाण्डो थारमारे पठाईसकेको रहेछ। स्थानीय प्रशासनको तर्फबाट कार्यक्रम गर्न नदिने भनेर बोलाएको सर्वदलीय बैठकमा एमालेको तर्फबाट निर्वाचित थारमारे गाविस अध्यक्ष हेमराज केसीले वैधानीक कार्यक्रम रोक्न नहुने तर्क गर्नुभएछ। त्यो कुरा हामीलाई पछि मात्र थाहा भयो ।

कार्यक्रमको दिन दुई नम्वर इलाकाका साथीहरु चौरपानीदेखि नाराजुलुश गर्दै रातपाराको पीपलबोटमा पुगेका मात्र के थियौं, कोटमौलातर्फबाट थारमारे झर्दै गरेको जुलुशमा पुलीसले गोली चलाएको आवाज सुनियो। भागदौड भएको दृष्य हाम्रै आँखाले देख्यौं। पुलीसले हवाई फायर गर्दै केहि साथीहरुलाई गिरप्तार गरेछ। यो दृष्यले हामीलाई आक्रोशीत तुल्यायो। साथीहरु सिंह झैं गर्जीएर नारा लगाए र ओरालो झरे, खगेश्वर शर्मा र मैले जुलुशलाई सीधै थारमारे लैजानु भन्दा बाघचौर लैजान उचित हुने निष्कर्ष निकाल्यौं र सहायक बाटो भएर बाघचौर पुर्योयौं  खरीबोटतिरबाट आउदै गरेको ठुलो जुलुश अझै आईपुगेको थिएन तर फाँसीवादी सत्ताका बर्दिधारी र चाटुकार भने हामीलाई झम्टीन आईपुगे । कमाण्डो प्रहरीसङ्ग केही तरवार बोकेका र केही भरुवा बन्दुक बोकेका मुकुण्डोधारीहरु पनि थिए। राइफलका कुन्दा, बुट, लाठी र तरवार एकैसाथ चलाईयो। हामी निहत्था बिद्यार्थी माथिको यो बर्बरता सम्झँदा पनि घृणाको पहाड चुलीन्छ।  धनबहादुर थापाले पुलीसलाई सहजै झण्डा खोस्न दिनु भएन, केहिबेर प्रहरी र उहाँबिच तानातान भो, अरु सिपाही थपीए र उहाँलाई घिर्सार्दै अलिक पर लगेर हामै्र अगाडि गोली हाने। मेरै छेउमा एक जना भद्र मानिस पुलीससङ्ग “यो त मानवअधिकारको हनन भो” भन्दै थिए। पुलीस र मुकुण्डोधारीले “ल तेरो मानवअधिकार” भन्दै तरवार र कुन्दा प्रहार गरे। उनी रक्ताम्य भैसकेका थिए, घिर्सार्दै अलीक पर लगेर उनीलाई पनि गोली हानियो । मलाई पछि मात्र थाहा भयो उनी नै हेमराज केसी रहेछन। एक युवक जसले पुलीसलाई केही भन्न खोज्दै थिए, उनीलाई नियन्त्रणमा लिईएको थियो। घर पछाडि लिएर गोली हानिएछ सायद, उनी थारमारेका शिक्षक खिमबहादुर डि सी रहेछन।

त्यतीन्जेलसम्म हामीले प्रहरीको घेराभित्र बन्दुकको कुन्दाको धेरै चोट खाईसकेका थियौै। कता फुत्कीने, कता लाग्ने सोच्ने अवस्था थिएन। त्यतीनै बेला एकजना पुलीसले मेरो पीठ्युमा नराम्रोसंग लात हान्यो र भाग साला भनेर करायो। म हुत्तीएर सडक किनारामा पुगें अनि त्यहीबाट उठेर टाप कसें। बन्दुक पड्कीरहेको हुनाले कतिजनाको कायरतापुर्वक हत्या गरीयो यकिन थिएन। हामी बाघचौरको माथि ढिस्कोमा उक्लियौं। खरीबोटतीरबाट आएको जुलुशमा पनि गोली चलाएर तीतरवितर पारियो। संगठनका जिल्ला अध्यक्ष टिकाराम वली हामी उक्लेको ढिस्कोमै आईपुग्नु भयो अनि हामीले त्यही ढिस्कोमा गोरखाबाट शुरु भएको वलीदानको इतिहासलाई सल्यानबाट नयाँ उचाई प्रदान गर्ने शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्यौं । दाई खिम बहादुर डिसीको हत्याको खबरले बहिनी सुम्निामा डिसी लगायत हामी सबैजना स्तब्ध थियौं। यो शहादत्त सल्यानको लागि जनयुद्धको पहिलो वलिदान थियो। हामी आफु सहित सहिद परिवारलाई सम्हालिन र शोकलाई शक्तिमा बदल्न अपील गर्यौ। कार्यक्रममा टीकाराम वली र सुर्यविक्रम राना (हाल शहिद)ले सम्वोधन गर्नुभयो। गणेश शाही उमेरले सानो मान्छे कार्यक्रममा हामीसँगै आएका थिए भागदौडमा उनको घाँटीनेरको हाड भाँचीएछ, हामीलाई अर्को आपत आईलाग्यो। घटनाको भोलीपल्ट रेडियोले थारमारेमा सुरक्षाकर्मी सङ्गको मुठभेडमा परी तीन “आतंककारी”को मृत्यु भएको सामाचार प्रशारण गगर्यो। उक्त बर्बर हत्याको घटनालाई आफ्नै नजरले देखेका सल्यानी जनतालाई यो हदको निकृष्ट प्रचारवाजीले गर्दा सल्यानमा प्रतिक्रियावादी सत्ताका बाँकी रहेका सबै बस्त्र उतारिदियो।

प्रतिक्रियावादीहरुलाई लगेको हुँदो हो हत्या र आतंकले जनता हत्तोत्साहित हुनेछन तर स्थिति उल्टो भयो। जनतामा राज्यप्रति घृणाको सीमा रहेन। हत्या र आतङ्कको स्थान आक्रोश र बदलाको भावले लियो। स्थानीय काँग्रेस कार्यकर्ताहरुमा भागदौड मच्चीयो। एमालेभित्रका इमान्दार मान्छेहरु क्रान्तिकारी धु्रविकरणको प्रक्रियामा सामेल हुन थाले। अझ त्यसमा प्रतिक्रियावादीकै संरक्षणमा नेता प्रकाश ज्वाला थारमारेमा श्रद्धाञ्जली सभामा सहभागी हुँदा जनताहरुले सार्वजनिकरुपमै नकारात्मक टिप्पणी गरे। घटनाको १३ औं दिनको तीथीमा संगठनका केन्द्रीय कोषाध्यक्ष लेखनाथ न्यौपानेको उपस्थीतिमा खरीबोटमा विशाल श्रद्धाञ्जली सभा सम्पन्न भयो। जिल्लाव्यापी रुपमा शहिदप्रति श्रद्धाञ्जली सभा र प्रतिक्रियावादी सत्ताको भण्डाफोर सभाको आयोजना गरीयो। जनसरोकार मञ्च सल्यानको नाममा जिल्लाका दक्षिणी गाविसहरुमा अभियान सञ्चालन गरीयो। जसले जिल्लाव्यापी रुपमा माओवादीको पक्षमा सकारात्मक राजनितिक माहोल खडा भयो। सारमा भन्दा थारमारे हत्याकाण्डले सल्यानको वर्गसंघर्षमा पुरानो निरन्तरताको अन्त्य र नयाँ निरन्तरताको सुरुवात गरीदियो। वलीदानको नयाँ आयाम र जनप्रतिरोधको नविनतम् आधार खडा गरिदियो। वलिदान खेर जाँदैन बरु त्यसले जनतामा चेतना, जागरण र विद्रोहको लाभा बनेर लहराउँछ भन्न्ने मान्यतालाई यसले सल्यानमा स्थापीत गरि छाड्यो। जसको शिक्षा समाज रुपान्तरणको आगामी यात्रामा पनि मार्गनिर्देशक बनिरहने छ।

०६७।११।१४, कोटेश्वर

थारमारे हत्याकाण्ड : जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा बलिदान दिवस मनाउने क्रममा २०५४ फागुन १४ गते सल्यानको थारमारेमा विद्यार्थी खिमबहादुर डिसी, धनबहादुर थापा र तत्कालीन नेकपा एमालेका थारमारे गाविस अध्यक्ष एवम् मानवअधिकारकर्मी हेमराज केसीको प्रहरीले निर्ममतापूर्वक हत्या गरेको थियो।

Comment