अर्जुनदृष्टिमा संविधानसभा

महाभारतमा गुरु द्रोणाचार्यले आफ्ना शिष्यहरुलाई धनुषविद्या सिकाइसकेपछि सबै शिष्यहरुको परिक्षा लिने विचार गरेछन्। गुरुले सबै शिष्यलाई रुखमा झुण्डाएको चरोलाई देखाउँदै पालैपालो सोधेछन्– तिमीले के देखिरहेका छौं? शिष्यहरुले कसैले सिंगै चरा, कसैले गुरु र रुखमा बसेको चरा, कसैले रुख र चरा आदि उत्तर दिएछन्। जब अर्जुनको पालो आयो, अर्जुनले गुरु मैले चराको आँखो मात्र देखिरहेको छु भन्ने उत्तर दिएछन्। गुरुले निशाना लगाउन आदेश दिएछन् र अर्जुनको अचुक निशानाले चरा भुँईमा खसेछ।

आज हाम्रो अगाडि दोश्रो संविधानसभाको निर्वाचन आएको छ। हामीले संविधानसभाको निर्वाचनलाई एकमात्र अर्जुनदृष्टि बनाएका छौं। तर, एकथरि तत्व यो संविधानसभालाई भाँड्न र देशलाई अस्थीरताको भुमरीमा पार्न चाहन्छन्। यसभित्र पनि दुइथरि अतिवादीहरु छन् जो प्रकारान्तरले एकै ठाउँमा उभिने कुचेष्टा गर्दैछन्। अर्कोथरि तत्व जस्ले संविधानसभाबाट आफ्नो पक्षमा जनमत प्राप्त हुने देख्दैनन् र यसबाट भाग्ने र यसलाई टार्ने हजारथरि दाउ हेरेर बसिरहेका छन्। हामी यहाँ यही अर्जुनदृष्टिमै छलफल केन्द्रीत गरौं।

एकीकृत नेकपा (माओवादी)ले संविधानसभा निर्वाचनलाई लक्षित गरेर ‘दोश्रो संविधानसभा निर्वाचनको तयारी र जनसम्बन्ध सुदृढीकरण अभियान–२०७०’ लाई मुख्य राजनैतिक निर्णय मान्दै आफ्ना सबै नेताहरुलाई २ सय ४० निर्वाचन क्षेत्रमा परिचालित गरेको छ। यहाँ यो कुरा स्पष्ट छ कि संविधानसभाको निर्वाचन र जनसम्बन्ध भन्ने कुरा एक–अर्कामा अन्योन्याश्रित कुरा हुन्। जनसम्बन्ध पार्टीको विचारमा, राजनीतिमा र नेता कार्यकर्ताको आचरण र व्यवहारमा खोज्ने कुरा हो। आज पार्टीको विचार तथा नेता कार्यकर्ताको आचरण र व्यवहारमा देखापरेको अन्तर्विरोधको परिणाम जनसम्बन्धमा केही दरार पैदा भएको कुरालाई पार्टीले सहर्ष स्वीकार गरेको छ र त्यसलाई सच्च्याउने संकल्प गरेको छ। त्यसकै मुर्त अभिव्यक्ति हो– जनसम्बन्ध सुदृढीकरण अभियान।

एउटा सच्चा कम्युनिष्ट क्रान्तिकारी आफैभित्रका खराबीका विरुद्धको संघर्षमा विजय प्राप्त गरेर मात्र अघि बढ्न सक्छ भन्ने कुरामा माओवादी स्पष्ट छ। लामो र पट्यारलाग्दो संघर्षको मोर्चामा लडिरहेको माओवादीले एकताको सातौं महाधिवेशनमार्फत् क्रान्तिको नयाँ कार्यदिशा संश्लेषणमा सफलता प्राप्त गरेको छ। कार्यदिशाले ठोस आकार ग्रहण गर्न शान्तिकालका सात बर्ष बिते। यो सात बर्षको वर्गसंघर्ष र अन्तरसंघर्षको संश्लेषणले विशेषतः नेपाली कम्युनिष्ट आन्दोलन र सामान्यतः विश्व कम्युनिष्ट आन्दोलनकै इतिहासमा एउटा आयाम थपिएको छ। दुनियाँले देखे जानेकै बाटोमा हिड्न खोज्दा विश्वका कयौं क्रान्तिकारी आन्दोलन हेर्दाहेर्दै तहसनहस भएको इतिहास धेरै टाढा छैन। क्रान्ति र प्रतिक्रान्तिका यी शिक्षासहित नेपाली जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने र समाजवादी क्रान्तिको आधार तयार पार्ने कार्यदिशा निर्माण गर्न माओवादीले सफलता प्राप्त गरेको छ।

प्रथम विस्तारित बैठकले फेरि एकपटक सिंगो पार्टी पंक्तिलाई नयाँ ढंगले जनताको बीचमा पु¥याइदिएको छ। जनसम्बन्ध अभियान आफैमा पार्टी सुदृढीकरण अभियान पनि हो। पार्टीलाई जनताले कसरी बुझिराखेका छन् भन्ने कुराको जीवन्त अन्तरक्रियाले नै पार्टीलाई साँचो अर्थमा जनआधारित बनाउन मद्दत गर्दछ। त्यसमा पनि माओवादी भनेको काँग्रेस एमालेजस्तो जमेको पोखरी नभई यो त उर्लिएर, गड्गडाएर बग्ने भेरी र कर्णालीजस्तै हो भन्ने कुरा फेरि एकपटक पुष्टि गरिदिएको छ।

‘पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानसभाबाटै संविधान’ भन्ने वैज्ञानिक कार्यनीति नेपाल र नेपाली जनताको ऐतिहासिक आवश्यकता हो। यो जनताको चाहना र भावना पनि हो। तर एकथरि तत्व यही जनताको भावनामाथि घन ठोकिरहेका छन्। यही शक्ति हिजो मुल माओवादीलाई संविधानसभाबाट संविधान बन्न नदिने आन्तरिक कारण बने। वैद्यजीहरु जो हिजो संविधानसभाको मोर्चामा दुई दिन पनि टिक्न सकेनन्। कटवालले थुन्छ भनेर उपत्यका छोडी नौ डाँडापारि पुग्नेहरु नै भयंकर क्रान्तिकारी भएको देख्दा पेट मिची–मिची हाँस्न मन लाग्छ।

१०औं हजार शहीदको रगत, सयौं बेपत्ता योद्धाहरुको साहस र दृढता अनि हजारौं घाइते योद्धाहरुको जीवनसंघर्षसँग जोडिएको हिजोको संविधानसभाले संविधान दिन नसक्नु मुलुकको लागि दुःखद विषय थियो। शान्तिपूर्ण राजनीतिको यो निस्सासिदो लडाइँमा रहेको  शक्ति सन्तुलन, यसले लम्ब्याएको लामो संक्रमणकाललाई अन्त्य गरि संविधान निर्माणमा माओवादी नलागेको होइन। तर, आफैभित्रका जडसूत्रवादी, मनोगतवादी र अतिवादी रोगले ग्रसित तथाकथित क्रान्तिकारीहरुको असहयोग र अर्कोतिर प्रतिक्रियावादी तथा यथास्थितिवादी तत्वहरुको जनविरोधी सोंचबीचको संघर्षमै क्रान्तिकारीहरुलाई पहल लिन गाह्रो भएको थियो। माओवादी र उसको एजेण्डा एवम् प्रतिनिधि हावी भएको संविधानसभाबाट संविधान बनेको हेर्न नचाहने वैदेशिक प्रतिक्रियावाद र तीनका गोटी कांग्रेस एमालेले जनताको पक्षमा संविधान नदिन बल गरे र उनीहरु एक हद सफल पनि भए।

राजतन्त्र जसले सदियौंदेखि नेपाली जनताका बहुराष्ट्रिय/बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक पहिचानलाई निमर्मतापूर्वक कुल्चियो। जसले साम्राज्यवादी तथा विस्तारवादी तत्वहरुका सामु लम्पसार गरि दासत्व स्वीकार गर्यो र जनतालाई त्यही दास संस्कृतिको शिकार बनायो। त्यो सामन्तीतन्त्र जसले किसान/मजदुर, महिला, दलित, मधेशी, मुस्लिम, जाति जनजाति र उत्पीडित क्षेत्रका जनतालाई सधैंभर रैती बनायो। त्यो परम्परागत राजतन्त्रसमेत समाप्त पारि आएको निरंकुश व्यापारी तथा दलाल हत्यारा (जसलाई जनताले मसानघाटमा पुर्याइसकेका हुन्) सँग सहकार्यको कुरा गर्ने र नेपाली जनताको संविधानसभालाई समाप्त पार्न खोज्ने कस्ता क्रान्तिकारी?

मुलुकको विडम्वना मान्नुपर्छ एकातिर २५ लाख राहत बाँड्ने ज्ञानेन्द्रको खुबै चर्चा हुन्छ। शहीदको  आलो रगतको अपमान गर्दै वैद्यहरु तिनै ज्ञानेन्द्रसँग सहकार्यको हात फैलाउँछन्। तर, यिनै ज्ञानेन्द्रले प्रत्यक्ष शासनकालमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज लिएर अफ्रिकाको जंगलमा शिकार खेल्न जाँदा सिध्याएको ८ करोड ८५ लाख १८ हजार ५ सय ६४ को चर्चा हुँदैन। ४ करोड ८७ लाख ५६ हजार ९ सय ८२ को त अझ हिसाब मिलान भएकै छैन। खै कहाँ छ सरकार र अख्तियार? पारस शाह गैंडा लिएर अष्ट्रेलिया जाँदा सिध्याएको ६ करोडको हिसाब कस्ले चुक्ता गर्छ। काकी हेलेन शाहको उपचारको नाममा गएको १ करोड २० लाखको हिसाब कहिले मिल्छ। ०५८/०५९ मा १२ करोड ६३ लाख सिध्याएको दरबारले आफ्नै हात जगन्नाथ गर्दै क्रमशः ०५९/०६० मा ६८ करोड २७ लाख र ०६०/०६१ मा ७५ करोड १२ लाख झ्वाम पारे। यो त ज्ञानेन्द्रको सुशासन हो जसलाई वैद्य बाले मन पराए।

वैद्य बाले मन पराएको व्यापारी ज्ञानेन्द्रको दलाल राष्ट्रियता चाहिँ यस्तो छ– नेपालका करिब ५०औं उद्योगमा ज्ञानेन्द्र शाह र उनका आफ्नै परिवार व्यापार साझेदार छन्। जसमध्ये होटेल सोल्टीमा भारत कोलकत्ताकी भारती राज्यलक्ष्मीसँग उनको व्यापारिक साझेदारी छ। हिमालयन गुडरिक प्रा.लि. मा गुडरिख लरी, सूर्य नेपाल प्रा.लि. मा इन्डियन टोवाको कम्पनी, होटेल डे ला अन्नपूर्णमा द इन्डियन होटेल कम्पनी लगायतको  व्यापारिक साझेदारी छ। भारतीय पुँजीको दलाली गर्ने, त्यसैसँग साझेदारी गर्ने तथा त्यहीँ पुँजीको आडमा राजतन्त्र फर्काइदेउ प्रभो भनेर दिल्ली दरबारमा बिन्तीपत्र हाल्ने ज्ञानेन्द्र शाहलाई राष्ट्रवादी देख्नुभन्दा ठूलो विडम्वना र विचलन हाम्रा ‘क्रान्तिकारी’ मित्रहरुमा अरु के हुन सक्छ? यो अपराधको फैसला त्यसभित्रका सच्चा क्रान्तिकारी साथीहरुले छिट्टै गरुन् र संविधानसभा निर्वाचनलाई नै अर्जुनदृष्टि बनाऊन् हाम्रो कामना छ।

अन्तमा क.प्रचण्डले भन्नुभएको छ– ‘हामी हार्छौं कि जित्छौं भन्ने कुरा मुख्य होइन तर हामीलाई निर्वाचन चाहिएको छ। हामी जसरी पनि निर्वाचनमार्फत् मुलुक र जनतालाई अधिकारसम्पन्न बनाउन चाहन्छौं।’ यसको मतलब हामी हारे पनि केही फरक पर्दैन भन्न खोजिएको होइन। यो कुरा स्पष्ट छ कि निर्वाचन पनि हुनैपर्छ र एमाओवादीले पनि जित्नैपर्छ किनकि हामीसँग मुलुक र जनताका मुद्दाहरु छन् जसकारण हामीले हार्नुहुँदैन। यो लडाइँ नेपाली जनताले जित्नुपर्छ त्यो भनेकै माओवादीले जित्नु हो।

Comment