एकताको १८औं राष्ट्रिय सम्मेलनको मुल निष्कर्ष
हामीसँग ज्यूँदो इतिहास छ। विद्यार्थी आन्दोलन सबैखाले प्रतिक्रियावाद, यथास्थितिवाद र अवसरवादका विरुद्ध क्रान्ति र परिवर्तनको झण्डा हो। यो २००४ मा जयन्तु संस्कृतम् नाम लिएर राणाशाहीको विरुद्ध जन्मियो र २००६ मा पहिलोपटक अनेविफेको नाममा संगठित आकार ग्रहण ग¥यो। शैक्षिक नारामा राजनीतिक उद्देश्य भएकाले यसले राणाविरोधी आन्दोलनमा महत्वपूर्ण भुमिका खेल्यो। शिशु अवस्थामै २०१७ को फौजीकाण्डमार्फत् निमोठिएको विद्यार्थी संगठन कठीन सङ्घर्षका बाबजुद २०२२ मा अनेरास्ववियुको नाममा पुनर्जीवन प्राप्त ग¥यो।
नेपाली विद्यार्थी आन्दोलनमा विविध विचारधारा र स्कुलको प्रभाव ०२२ पछि नै परिसकेको थियोे, जसको परिणाम नेविसंघ र फेडरेशन जन्मिए र आफुलाई पञ्चायतको गुलाम “राष्ट्रवादी विद्यार्थी मण्डल”को भन्दा फरक पहिचान दिन सकेनन। ०२९ को संघसंस्था नियन्त्रण नामको निरंकुश तानाशाहीका विरुद्धको विद्यार्थी संघर्ष भुट्टोको फाँसीका विरुद्धको निहुँमा डढेलोझैं सल्कियो र निर्विकल्प भनिएको पञ्चायतलाई जनमत संग्रहको घोषणा गर्न बाध्य तुल्यायो।
०४६ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा नेपाली युवा विद्यार्थीहरुको एकीकृत र संगठित पहलकदमी राजनैतिक दलका लागि समेत सकारात्मक शिक्षा बन्न पुग्यो तर ०४६ को परिर्वतनलगत्तै विद्यार्थी आन्दोलन सत्तापक्षीय र प्रतिपक्षीयरुपमा नराम्रोसँग विभाजित बन्न पुग्यो। नेविसंघ र अखिल सत्तापक्षीय भूमिकामा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको रक्षक बनेर यथास्थितिमै रमाउन थाले भने क्रान्ति र परिवर्तनको प्रवाहको नेतृत्व गर्दै अखिल (क्रान्तिकारी) नेपाली समाजको आमुल परिवर्तनको एजेण्डासहित शुरु भएको महान् जनयुद्धको पक्षमा दृढतापूर्वक उभियो। अब अखिल (क्रान्तिकारी) क्रान्तिकारी विद्यार्थीहरुको प्रतिनिधि संगठन मात्र भएन बरु यो विशाल आन्दोलन बनिसकेको छ।
प्रतिक्रियावादी सत्ताको भीषण दमनकै बीच चौमका विविध धाराहरु र झापा आन्दोलनको क्रान्तिकारी स्कूल ध्रुवीकृत भए भने शान्ति प्रक्रियायता क्रान्तिका बाँकी अभिभारा पूरा गर्ने अभिष्टसहित दजर्न बढी देशभक्त, वामपन्थी, प्रगतिशील र जनवादी विद्यार्थी संघ, संगठन र व्यक्तित्वहरु क्रान्तिकारी धु्रवीकरणको प्रक्रियामा सामेल भएका छन्। अब हाम्रा सामु यो विशाल संगठन पङ्तिलाई प्रतिरोधी दस्तामा बदल्ने सकारात्मक चुनौती छ। जसको सामना गर्नु सफलताको आधार बन्नेछ।
आज त्यही दश बर्षको त्याग, तपस्या र बलिदानको जगमा प्राप्त भएको संविधानसभा, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता ऐतिहासिक उपलब्धिलाई मुठ्ठीभर श्रमचोर वर्गको हितमा संकुचित हुन दिने वा करोडौं जनताको वास्तविक गणतन्त्रमा बदल्ने? सामन्त, दलाल र नोकरशाहहरुको महलको शान्ति या समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय विभेदको अन्त्यसहितको वास्तविक झुपडीको शान्ति? यो आजको मुख्य प्रश्न हो। जसको उत्तर संविधानसभाले ‘नयाँ संविधान जनसंविधान’ मार्फत् दिनुपर्दछ। त्यसो नभए विद्रोहको अधिकार नेपाली जनतामा सुरक्षित छ र यसको मुख्य मोर्चा सम्हाल्न अखिल (क्रान्तिकारी) तयार छ। यो राष्ट्रिय सम्मेलनको पहिलो निष्कर्ष हो। दोश्रो कुरा, नेपाली विद्यार्थी आन्दोलन सधैंभरि राष्ट्रियताको पहरेदार बन्दै आएको छ। अंग्रेजको दलालीमा टिकेको राणाशाही त्यतिबेला अझ कमजोर भयो जब विश्वयुद्धमा अंग्रेजको पराजयसँगै उसको दलाली गर्न भाडामा पठाइएका नेपाली सिपाहीहरुले विद्रोह बोले।
एकातिर देशभित्रको यो चेतना र अर्कोतिर भारतीय स्वतन्त्रता संग्राम र चिनियाँ जनवादी क्रान्तिको नेपाली युवा तथा विद्यार्थीमा पर्दै गएको प्रभाव, यसको जगमा विद्यार्थी संगठनको स्थापना भएको थियो। तर, राणाको उत्तराधिकार काँग्रेसले पनि उसकै पाइला पछ्यायो। स्वाधीनताको झण्डामुनि पहिलो बलिदान गरे– विद्यार्थी चिनियाँकाजी उदासले। त्रिपक्षीय दिल्ली सम्झौताविरोधी आन्दोलनमा उनले सहादत प्राप्त गरे। सन् १९५० को राष्ट्रघाती व्यापार तथा वाणिज्य सन्धि, कोशी र गण्डक सम्झौता, नेपाल चाइना सिमानासम्म छरिएका भारतीय चेकपोष्टलगायतका विषयमा नेपाली विद्यार्थीहरु अग्रमोर्चामा रहेर संघर्ष गरे भने कालापानी, सुस्ता, महेशपुर, टनकपुरलगायतका स्थानमा भएको अतिक्रमणको घाउ चहराइरहेकै छ। जसका विरुद्ध अखिल (क्रान्तिकारी) सबै देशभक्त नेपालीहरुको साथमा छ। पछिल्लोपटक भारतीय विस्तारवाद अझ नाङ्गो ढङ्गले नेपालमाथि आइलागेको छ ःराजनैतिक, आर्थिक, साँस्कृतिक र भौतिकरुपमा आफ्ना दलालमार्फत् नेपाललाई अस्थिर बनाइराख्ने र अस्तित्व समाप्त गर्ने योजनामा छ भारत। तसर्थ नेपाली विद्यार्थीका सामु आफ्नो माटो, आफ्नो मुलुक र आफ्नो राष्ट्रिय स्वाभिमानका लागि जुनसुकै मुल्य चुकाउन तयार रहनुपर्ने दायित्व छ। राष्ट्रिय प्रतिरोध संघर्षका लागि तयार रहने सम्मेलनको अर्को निष्कर्ष हो।
सम्मेलनले जनवादी शिक्षा प्राप्तिको दृढतालाई अझ उन्नतरुपमा संश्लेषण गरेको छ। नेपालको राजनैतिक प्रणालीजस्तै शिक्षा प्रणाली पनि पूरै स्तुतिगान र विदेशी स्वार्थबाट निर्देशित छ। हामी शिक्षा प्रणाली पूरै राष्ट्रकाप्रति र जनताप्रति जिम्मेवार होस भन्ने चाहन्छौं। त्यसको पहिलो सर्त हो– जनपक्षीय राजनीतिको नेतृत्व। यही राजनीतिक नेतृत्वको खोजी गर्दै हामी जनयुद्धमा दृढतापुर्वक र स–गौरव होमिएका हौं। यद्यपी कतिपय मान्छेहरु जनवादी शब्ददेखि डराउँछन्। कुरा त्यसो होइन बरु जनवादी शिक्षाको परीकल्पना भनेको राज्यको दायित्वमा शिक्षा भन्ने नै हो।
शिक्षा लिने नागरिकको अनिवार्य अधिकार कुनै हालतमा कुण्ठीत हुनुहुँदैन। गरेर सिक्ने विधिको विकास, उत्पादनसँग जोडिएको शिक्षा, श्रमसँग जोडिएको शिक्षा, प्रविधिसँग जोडिएको शिक्षा समग्रमा मुलुकको हितसँग जोडिएको शिक्षा। जुन शिक्षा श्रमिक वर्गको हितसँग जोडियोस्, जनताको जिविकासँग जोडियोस्, रोजगारीका ढोकाहरु खोल्दै अघि बढोस् न कि ढोका बन्द गर्दै यसको पहिलो खोजी राजनैतिक प्रणालीबाट गरौं। मुलुकको आत्मसम्मानबाट खोजौं। त्यो राजनैतिक प्रणाली र आत्मसम्मान नयाँ बन्ने संविधानबाट खोजौं। संविधानको अन्तर्वस्तुमा खोजौं, क्रान्ति र विद्रोहको वास्तविक मर्म। यदि संविधानको अन्तर्वस्तुले क्रान्तिको मर्मबोध गरेन भने फेरि पनि विद्रोह जनताको रहर होइन बाध्यता हुनेछ। त्यो बाध्यता सामाजिक रुपान्तरणको लागि ऐतिहासिक अनिवार्यता हुनेछ। एकताको १८ औं राष्ट्रिय सम्मेलनको मुल निष्कर्ष यही हो।