डायरीः प्रमाणपत्र विस्थापनको निर्णय र आमरण अनसन
माओवादी विद्यार्थीहरु पनि गान्धीवादी आन्दोलन गर्न कस्सिएछन भनेर मान्छेहरुलाई अनौठो लाग्न सक्छ। हामीले यसपाली यसै खालको आन्दोलनको रुप र शैलीको प्रयोग गर्यो। यो स्वरुपको आन्दोलन देख्दा कतिपयलाई यीनीहरु क्रान्तिकारी चरित्रबाट स्खलीत भए भन्ने पनि लाग्ला वा यीनीहरु क्रमशः साधुवादको बाटोमा अग्रसर भए भन्ने पनि होला तर यी सोचाईहरु सर्वथा भ्रम मात्र हुनेछन।
हामी आमरण अनसनमा छौं। एउटा शैक्षिक मुद्धालाई लिएर। बिडम्बना भन्नु पर्छ, जुन देशमा सामन्तवादको मुख्य प्रतिनिधि राजसंस्था जनयुद्ध र जनआन्दोलनको बलमा घुँडा टेक्यो। जुन देशमा सार्वभौम जनताको मताधिकार प्राप्त संविधानसभाको जन्म भयो। जुन देशमा संवैधानिक रुपमा गास, वास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारलाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा संस्थागत गरियो । त्यही देशमा सामान्य शैक्षिक मुद्धामा क्रान्तिकारी विद्यार्थीहरुको मुख्य नेतृत्व नै आमरण अनसनमा बसेका छौं।
“मुखमा राम राम बगलीमा छुरा” यो प्रतिक्रियावादीहरुको जनविरोधी अस्त्र हो। यत्रो ठुलो वलिदानको जगमा प्राप्त भएको राजनितिक स्वतन्त्रता झुपडीले पनि अनुभुति गर्न पाउने छ भन्ने जनताले आशा गरेका थिए। संसदवादी दलहरुको सोच्ने तरीका बदलिनेछ, सामन्तवादसँग जोडिएको तिनको घाँटी अलग्गीनेछ र जनताको घाँटीसम्म जोडिन आइपुग्नेछ, जनताको अपेक्षा थियो तर त्यो संभव देखिएन। उनिहरु पुरानै बाटोमा फर्किएका छन। पुरानै शैलीमा देशी विदेशी मालिकसँग गुहार मागिरहेका छन। बिडम्वना नै मान्नुपर्छ, देशमा संविधानसभाको निर्वाचन भयो। निर्वाचितहरु सरकारमा छैनन। दुई दुई स्थानबाट पराजित प्रधानमन्त्री, एक स्थानबाट पराजीत मन्त्री छन। हेर्दा हेर्दै यस्तो पनि हुदोरहेछ। यो सरकार हो या कठपुतली साँच्चै जनतामा भ्रम रहला त ? हामीलाई लाग्छ यो त जनता तर्साउन खडा गरिएको बुख्याँचा मात्र हो।
आज त्यही बुख्याँचाको अर्को रुपमा त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक नेतृत्व प्रकट भएकोछ। त्रिभुवन विश्वविद्यालय देशको सवभन्दा ठुलो र पुरानो जनताको विश्वविद्यालय हो। तर, राज्यका निति निर्माताको सोंच स्वतन्त्र र जनमुखी हुन सकेन। कहिले सामन्ती प्रभुका अगाडि नतमतस्क हुनु त कहिले दाता नामका बैदेशिक स्वामीहरुका अगाडि लम्परसार हुनु नेपाली प्राज्ञहरुको नियति बनेको छ। जनता भन्दछन, शिक्षा जनमुखी हुनुपर्दछ तर त्रिविका प्रशासक भन्दैछन यो मालीकमुखी नै हुनु पर्दछ। उनीहरु भन्दैछन, यदी हामीले प्रमाण पत्र तहको भर्ना खोल्यौं भने हाम्रा विदेशी दाताहरु रिसाउने छन र हामीले चारो पाउने छैनौं। हाम्रा स्वदेशी सारथीहरुले खोलेका निजि +२ हरुमा प्रर्याप्त बिद्यार्थी पुग्नेछैनन। त्यसले शिक्षा क्षेत्रको माफियाकरणलाई असर पुुर्याउनेछ। तसर्थ प्रमाणपत्र तहको भर्ना खोल्न मिल्दैन। उनीहरुको शब्द र कर्मको तालमेल हामीले चित्र र चरित्रमा यसरी नै देख्यौं।
नेपाल सरकारले विद्यालय सुधार नामक शैक्षिक कार्यक्रम अघि सारेको छ। त्यसमा विद्यालयको तह निर्धारण सम्बन्धि फोटोकपी अवधारणा र समुदायमा हस्तान्तरण कार्यक्रम नामको विषाक्त मिठाई वितरण गरिरहेकोछ। तथापी हामीले १२ कक्षासम्मको विद्यालय शिक्षालाई पुर्ण राज्यको दायीत्व भित्र राखिनु पर्दछ भन्ने मत राखिरहेका छौं। विद्यालय तहको शिक्षालाई पुर्ण निःशुल्क र अनिवार्य बनाउने दिशामा माओवादी नेतृत्वको गणतन्त्रको पहिलो निर्वाचित सरकारले काम अगाडि बढाएको थियो। उक्त सरकारलाई नौ महिनामै ढलाइएपछि ती कार्यक्रम पनि ओझेलमा परेका छन। अहिले सरकारबाट विद्यार्थीलाई सहज पहुँचमा उच्चशिक्षा प्रवेश गर्ने विकल्प नदिएरै विश्वविद्यालयबाट प्रमाण पत्र फेज आउट गर्ने अपराधिक निर्णय गरेको छ। जुन निर्णय अन्तरिम संविधानको मर्म र भावना विपरीत छ। संविधानसभा र जनहितका विरुद्धमा छ।
नयाँ संविधानमा शिक्षाको स्वरुप र चरित्र कस्तो हुने भन्ने वहस भैराखेको बेला प्रशासकहरु रातारात शिक्षाको व्यापारिकरणलाई पोस्ने नीति बनाईरहेका छन, संरचना खडा गरिरहेका छन। जनताको पहँुचका संरचना सुधार गर्ने, तीनका शैक्षिक कार्यक्रम र पाठ्यक्रम परिमार्जन गर्ने होइन, भत्काउदैछन र शैक्षिक माफीयाहरुलाई सुम्पीदैछन। विश्वविद्यालयको यो गलत रवैयालाई रोक्न, परम्परागत सोचलाई बदल्न हामीले बारम्बार यत्न जारी राख्यौं। विद्यालय तह(१२ कक्षा सम्म)को शिक्षा राज्यको दायित्व र जनसाधारणको पहुँचमा नआउदासम्म प्रमाणपत्र तह नहटाउ भन्ने आग्रहलाई लत्याईयो। सचेत नागरिक, विद्यार्थी, अभिभावक, १२ वटा विद्यार्थी संगठन आन्दोलनमा उत्रिए। महिनौ बित्दा पनि त्रिवि प्रशासन कुम्भकर्ण झैं निदाईरह्यो। देशको जिम्मेवार विद्यार्थी संगठन भएकोले अखिल(क्रान्तिकारी) बाध्य भएर उनिहरुले परिभाषा गरेको प्रजातन्त्रको मुल्य र आर्दशभित्रको संघर्षको कडा स्वरुप आमरण अनसनलाई प्रयोग गर्यो।
हामी यसलाई नैतिक दवावको आन्दोलनको रुपमा लिएका छौं। उनीहरुसङ्ग सामान्य नैतिकता बाँकी रहेछ भने उनीहरुको गतिबिधि सकारात्मक होला। प्राज्ञहरुको नैतिकताको परिक्षा पनि हाम्रो आमरण अनसनले गर्ने नैछ। आफुलाई बडो प्राज्ञिक र अरु सबै मुर्ख देख्ने नेपालका मुठ्ठीभर प्राज्ञहरुको मनपरितन्त्रलाई चुनौती दिन पनि हामी आन्दोलित भएको छौं। तसर्थ यो आन्दोलनको स्वरुपलाई कम्जोरि ठान्ने प्रयत्न हुन्छ भने त्यो पनि भ्रम नै हुनेछ। हाम्रो आर्दश गान्धी होइनन भगतसिंह हुन। सुरेश वाग्ले, वेनोज अधिकारी र पुर्ण पौडेलहरु हुन। हाम्रो लचकतालाई कम्जोरी ठाने हामी अनसनमा भएपनि हाम्रो भगतसिंह सडकमा हुनेछन। हामीले यति चाहन्छौं कि गान्धिप्रति विश्वास गर्ने हाम्रा कतिपय प्राज्ञ, वुद्धीजीवि र नागरीक आन्दोलनका अगुवाहरु स्पष्ट हुनु राम्रो हुनेछ। अखिल(क्रान्तिकारी) अराजकतामा विश्वास गर्ने संगठन होइन, यो आमुल परीवर्तनमा विश्वास गर्छ। यथास्थीति र अराजकताका विरुद्ध लडछ। यथास्थिति, अराजकता र हिंसाको श्रोत मेटाउन संर्घष गर्छ। यो प्रतिरोधि दस्ताको क्रान्तिकारी सानप्रति कसैले शंका गर्छभने त्यो उसैको कम्जोरी सिवाय अरु हुने केहि छैन।
२०६६।०४।२६ किर्तिपुर
विस्थापनको औचित्य पुष्टि गर्न नसक्ने सरकार
आज हामी आमरण अनसनको तेश्रो दिनमा छौं। सरकार र विश्वविद्यालयको रवैया देख्दा १८ गते देखि थालीएको एक हप्ते क्याम्पस स्तरीय रिले अनसनकै बेला आमरण अनसनमा पुग्नु नै पर्ने भो भन्ने निष्कर्षमा हामी पुगिसकेका थियौं। मुल नेतृत्व नै अनसनमा बस्दा बढी दवाव बन्न सक्ने संगठनको निष्कर्ष अनुरुप अध्यक्ष, कोषाध्यक्ष र सानोठिमी क्याम्पसका सभापति वीरेन्द्र बस्नेत त्यसको लागि तयार भयौं। मेरो लागि संघर्षको मोर्चा नयाँ थियो। युद्धकालमा एक डेढ दिनसम्म भोकै हिड्नु परेको अनुभव त म सँग पनि थियो तर लेखनाथ न्यौपाने र वीरेन्द्र बस्नेत जस्तो प्रहरी र सेनाको हिरासतमा हप्तौं भोक हडताल, अनसनमा बसेको अनुभवी मान्छे भने म थिइँन। साथीहरुले मलाई नै बढी समस्या पर्ला भन्दै थिए। मलाई पनि काल्पनिक अनुभुतिले झस्काईरहेको थियो तर लडाईको मोर्चा जितेर छाड्ने संकल्पले त्यसलाई सहज बनाईदियो। गएको दिनभर त अचम्मै भोक लाग्यो। वरपर कतै तरकारी पकाएको वास्ना आउँदा पो गाहेहुदोरहे छ। नाकले पनि कति सँुघ्न सकेको तर आज खाना सम्झेपनि त्यो प्रतिको रुचि घट्न थालेको छ। शरीर विस्तारै गल्न थालेकोछ। हिडडुल गर्न गाहे बन्दै गएको छ। त्यसको अनुभुति सौचालय जाँदा थाहा हुन्छ। हिजोका दिन देखि शुरु भएको आन्दोलनको चर्चा, यसप्रतिको सर्मथन र भेटघाटमा आउने कमरेडहरु, साथीहरु र आफन्तहरुको उत्प्रेरणाले हामीलाई उर्जाशिल बनाइरहेको छ। प्रतिक्रियावादी कित्तामा यसले वेचैनी पैदा गरेको साथीहरु सुनाउनु हुन्छ। देशभर साथीहरु पुरापुर सडकमा ओर्लिएका छन। हामीलाई गान्धिवादी आन्दोलनकारी भन्नेहरुलाई अस्कल, थापाथली र देशैभर साथीहरुले सशक्त प्रतिरोध सहितको जवाफ दिईराखेका छन। यसको ग्राफ भोलीका दिनमा अझ बढदै जाने निश्चित छ।
हिजो शिक्षा सचिव दिपेन्द्रबहादुर थापाले एउटा कार्यक्रममा भनेछन “प्रमाणपत्र तह विस्थापनको आवश्यक पुर्वाधार तयार नभएकोले आवश्यक आधार तयार गरेर मात्र विस्थापन गर्न पर्दछ।” आखिर सरकारले नै विस्थापनको औचित्य पुष्टि गर्न सकिरहेको छैन। किन विश्वविद्यालयले जर्वजस्ती गरिरहेको छ? हिजो नै बजारमा केहि भ्रामक सामाचार पनि सम्प्रेशन गरीए। लामो समयदेखि विश्वविद्यालय प्रवेश गर्न नसकेका विश्वविद्यालय पदाधिकारीहरु रानीपोखरीको डिआइजी कार्यालयमा विद्यार्थी संगठनसँग बसी बल्खु र अस्कलबाट गिरप्तार विद्यार्थी छोड्नेबारे छलफल भएको थाहा भयो तर यहि छलफलसँग जोडिएर केहि हल्लाहरु फिंजाइएका छन। अहिले तीनवटा विषयमा विद्यार्थी आन्दोलन चलीरहेको छ। प्रमाणपत्र तह विस्थापन विरुद्ध, व्यवस्थापन संकायको परिक्षाका विषयमा र स्नातक र स्नात्कोत्तरका विद्यार्थीको आन्तरिक मुल्यांकनका विषयमा। हामी यता अनसनमा छौं, साथीहरु तीनवटै विषय बोकेर सडक ओछ्याएर बस्नुभएको छ तर केहि मिडिया रामकुमारी जीको हवाला दिएर सबै आन्दोलन फिर्ता भएको सामाचार सम्प्रेशन गर्छन। यहाँ गंम्भीर प्रश्न के भने, यसरी आन्दोलनको भ्रुण हत्या गर्ने कोसीस किन हुन्छ ? नेपाली विद्यार्थीले ०३५ ̷ ०३६ को आन्दोलन बिर्सेका छैनन। केही धोकेवाजहरुलाई आज पनि विद्यार्थी आन्दोलनले गद्धारको नामले चिन्दछ। हामी केही सहयात्रीहरु पनि असम्बैद्यानिक कदम र सैनिक सर्वोच्चताको छायाँ मुनि बसेर कठपुतली सरकारको वफादार पहरेदार बनेर उभिन खोजेका त होइनन? हाम्रो सुझाव छ, कृपया आजको शताब्दीको गद्धार बन्ने चुनौतीपुर्ण कदम नउठाउँ।
विश्वविद्यालयका उपकुलपति बकिरहेछन, “विस्थापनको निर्णय फिर्ता हुदैन।” बिश्व बैंकको सर्तबद्ध डलरमा नेपाली जनताको आवश्यकता भुल्ने यी प्राज्ञको कुरा सुन्दा दया लागेर आउछ। विश्वविद्यालयका नेतृत्व नै शैक्षिक माफियाहरुका संरक्षक भएपछि शैक्षिक जगतको हालत के होला? आखिर शिक्षा सचिव यर्थाथ कुरा बोल्न त बाध्य भए त।
सरकारले स्थापना गरेको उच्च माध्यामिक शिक्षा परिषद भनेको सामुदायीक र नीजि दश जोड दुईलाई सम्वन्धन दिने संस्था मात्र हो। उसँग न त आफ्ना शिक्षक, विज्ञप्राज्ञ छन, न त व्यवस्थीत शैक्षिक कार्यक्रम र त्यसलाई नेतृत्व गर्ने अधिकारी, न त नीजि क्षेत्रलाई प्रभावकारी रुपमा नियन्त्रण गर्ने कुनै निति तथा नियमनकारी निकाय। अधिकार र साधनश्रोतको साँघुरो घेरामा खुम्चीएको परिषदलाई देखाएर प्रमाणपत्र तह विस्थापन गर्दा सार्वजनिक तथा गुणस्तरीय शिक्षा प्राप्त हुने रटान लाउछन, यी माफियाहरु। विश्वविद्यालयको शैक्षिक कार्यक्रम पुरानो भो भन्ने कुरा हामीलाई पनि थाहा छ तर त्यसलाई समय सान्दर्भीक परिर्माजन नगर्ने यहि त्रिवि प्रशासन होइन, जस्ले विगत ५० बर्ष देखि कार्यक्रम संञ्चालन गरीरहेको छ। यहि आधार पेश गर्दै नेपालको संविधानको मर्म र प्रथम गणतान्त्रिक सरकारको जनमुखी निर्णयका विरुद्ध शिक्षालाई अभिजात वर्गकै पेवामा सुम्पीने वर्तमान कठपुतलीहरुको पर्यत्नलाई परास्त गर्नैपर्दछ।
०६६।०४।२७ किर्तिपुर
सामुहिक प्रयत्न,सफल आन्दोलन
“सामुहिक प्रयत्न र सफल आन्दोलन” ,मलाई यो आन्दोलनको समिक्षा यसरी नै गर्न मन लाग्यो। हुन त दशक पहिले देखि यहि एजेण्डामा विद्यार्थीहरु आन्दोलीत हुदै आएका हुन तर यसपाली त्रिविलाई लाख अनुरोध गर्दा पनि उसले कार्यकारी बैठक बसेर विस्थापनको निर्णय गरी छोड्यो। विश्वविद्यालयमा क्रियाशिल जिम्मेवार १३ विद्यार्थी संगठनको सामुहिक डेलीगेशनलाई समेत व्यवास्ता गर्दै गरीएको यो निर्णय चानचुने योजनामा मात्र गरीएको थिएन। यसको सहि आकलन सहित अखिल(क्रान्तिकारी)संर्घषको कडा स्वरुपमा प्रवेश गर्ने प्रस्ताव लिएर संयुक्त आन्दोलनको बैठकमा प्रस्तुत भयो। तर सरकारी विद्यार्थी संगठनहरु विरोधको औपचारीक दायरा नाघ्न सकेनन। त्तपश्चात हामीले नै यसको सहि नेतृत्व दिनु पर्दछ भन्ने निष्र्कषमा हामी पुग्यौं। आमरण अनसन हाम्रो त्यहि संकल्पको परिणाम थियो।
ने.बि.संघ र अखिलका साथीहरु बाहेक प्राय सबै साथीहरुले हामी पनि अनसनमा भौतिक रुपमा सामेल हुनसक्थ्यौ, तपाईहरुले पहल गर्नु पर्दथ्र्यो भन्ने गुनासाहरु पनि पोख्नु भो। गुनासो गर्नेमा मञ्चका विक्की यादव, फेडरेशनका पदम जोशी जी लगायतका साथीहरु हुनुहुन्थ्यो। साथीहरुका गुनासा त जायज नै थिए तर बेला बितिसकेकोले हामीले त्यता समय खर्चिन सकेका थिएनौं। ०६६ श्रावन २५ गते आइतबार दिनको १ बजेदेखि, उपकुलपतिको कार्यालय अगाडि पत्रकार सम्मेलन गरेर शुरु गरेको आमरण अनसन आज २९ गते पाँचौं दिनमा आन्दोलनको सफलतापछि समापन गरीयो।
आन्दोलनले सफलता प्राप्त गर्नमा या त्रिविले प्रमाणपत्र तह विस्थापनको निर्णय फिर्ता लिनुमा हाम्रो गान्धिवादी स्वरुपमा देखा परेको आमरण अनसनले मात्र परीणाममा पु¥याएको भने होइन। माथि उल्लेख गरे झैं साथीहरुको प्रतिरोध कार्यवाही एक महत्वपुर्ण पहलकदमी बन्न पुग्यो। नत्र भने एउटा जिम्मेवार विद्यार्थी संगठनको अध्यक्षकै नेतृत्वमा आमरण अनसन जारी छ, अनसनकारीको जीवन तलमाथी पर्ने खतरा बढदै गएको छ तर विश्वविद्यालयको उपकुलपतिका गैरजिम्मेवार अभिव्यक्ति एक पछि अर्को सार्वजनिक भैराखेका थिए। उनले अस्तिका दिन “मैले भोकै बस भनेको थिएँ र?” भनेछन। हिजो मात्र “दुई चार दिन भौकै बस्दा स्वास्थ्यलाई फाइदा नै पुग्छ” भनेको सुनियो। उनीहरुका यस्ता अभिव्यक्ति सुन्दा केहि साथीहरु भन्दै हुनुहुन्थ्यो, लातले ठोक्न पर्ने मान्छेहरुलाई अनसनले के हुन्थ्यो र? तर हामी भने विश्वस्त थियौ, यीनीहरु थाक्छन, गल्छन र निर्णय फिर्ता लिन्छन। हामी थाक्ने छैनौं किनभने हाम्रा मुद्धाप्रति हामी पुर्णरुपले कन्भिन्स छौं।
उपकुलपनि मलेसिया उड्दैछन भन्ने खबर पनि हामीले हिजो नै प्राप्त गर्यौं। यो गैरजिम्मेवार कदमले हाम्रा साथीहरु मात्र होइन आन्दोलनप्रति सकारात्मक जो कोहिलाई पनि आक्रोशित तुल्यायो। प्राध्यापक, कर्मचारी, पत्रकार र पार्टीका जिम्मेवार कमरेडहरुको शैक्षिक आन्दोलनको मुद्धामा यति ठुलो लगाव मैले पहिले कहिल्यै देखेको थिएन। यत्रो दबाबलाई बेवास्था गर्दै विदेश उड्ने उपकुलपतिलाई एयरपोर्ट भित्रैबाट नियन्त्रणमा लिएर पासपोर्ट जफत गर्नुको विकल्प थिएन। साथीहरुले साहसपुर्वक राती पौने १० बजे त्यो काम फत्ते गरेपछि मात्र शिक्षा मन्त्रालयमा भैराखेको त्रिपक्षिय वार्तामा विश्वविद्यालय भर्ना खोल्न बाध्य भयो।
रातीको १० बजे पछि भएको सहमतिबारे महासचिव हिमाल शर्माले खवर सुनाउनु भयो। एकै क्षणमा त्यो खबर मिडिया मार्फत देशभर सम्प्रेशन भयो। सबैतिरबाट बधाईका फोन र एसएमएस प्राप्त हुनथाले। लखतरान हुदै गएको हाम्रो शरीरमा उर्जा प्रवाह हुन पुग्यो। साथीहरुले खुसीयालीमा जुस लिने प्रस्ताव गर्नु भएको थियो। हामीले भोलीमात्र पार्टी नेतृत्व र विद्यार्थी साथीहरुको उपस्थीतिमा अनसन तोडने प्रस्ताव राख्यौं। सरकारको प्रतिनिधिको रुपमा जुुस बोकेर पुग्नु भएका शिक्षा मन्त्रालयका सह सचिव जनार्दन नेपाललाई पनि त्यहि कुरा गरेर फर्कायौं।
बिहान एकिकृत नेकपा(माओवादी)का उपाध्यक्ष कमरेड मोहन बैद्य किरणद्धारा किर्तिपुर आएर बधार्ईसहित जुस पिलाई अनसन तोडेको घोषणा गरियो। यो विजयी मोर्चामा सक्रियतापुर्वक सामेल हुन पाएकोमा मेरो तर्फबाट सिंगो संगठन र न्यायप्रमी विद्यार्थीप्रति हार्दिक कृतज्ञता प्रकट गर्नै पर्दछ। म आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट स्वास्थ्य जाँच गराई आफ्नो निवास कोटेश्वर पुगेको छु। अनुमान लगाए भन्दा ठिक उल्टो के भयो भने म नै छिटो गल्छु कि भन्ने लागेको मेरै स्वास्थ्य सवभन्दा बढी सन्तुलित पो देखा पर्यो ।
०६६।०४।२९ कोटेश्वर