शहिदको रगतले पुनः रातै भयो कुमाख पहाड
“सल्यान बाँझकाडा गाविसको कागखोलामा प्रहरी र माओवादीबीचको दोहोरो भिडन्तमा प्रहरीद्धारा गोली चलाउँदा तीन जना माओवादी विद्रोहीको घटनास्थलमै मृत्यु भएको र उनीहरुसँग भएको सरसामान जफत भएको समाचार छ।” बि.बि.सी. नेपाली सेवा, मङ्गलबार मङ्सीर ८ गते, २०५६।
तर घटनाको बास्तविकता उल्टो छ। नयाँ जनवादी गणतन्त्र नेपालको स्थापनार्थ नेपाली भुमीमा महान जनयुद्धको संखघोष भएको चार बर्ष यता जनयुद्धले अनेकौं घुम्ति र मोडहरु पार गर्दै, अनेकौं चुनौतीहरु सामना गर्दै, कयौं क्षतिहरु ब्यहोर्दै र कयौं उपलब्धीहरु हात पार्दै अगाडि बढिरहेको छ। लगानीका हिसावले, वलिदानको क्षेत्रमा, विकासका दृष्टीले र योजनाका हकमा पनि जनयुद्धले नयाँ उचाई कायम गरेको छ। पार्टीले आज क्रान्तिको उचाईलाई विकास गरेर आधार इलाका निमार्णको प्रश्नलाई व्यवहारिकता दिन “आधार इलाका निमार्णको महान दिशामा अघि बढौं” भन्ने नाराकासाथ पहिलो योजना कार्यान्वयन गरि दोश्रो योजनामा प्रवेश गरेको छ। यो अवस्थामा पार्टीले दिएका जिम्मेवारीलाई पुरा गर्न दुश्मनसँग पैठेजोरी खेल्ने अभियानमा लामबद्ध भएका महान क्रान्तिकारी योद्धालाई प्रतिक्रियावादी भाडाका टट्टुहरुले जसरी कायरतापुर्वक हत्या गरि झुट्ठा मुठभेडको वकालत गरिरहेका छन। यो फाँसीवादी सत्ताको ‘नैतिकता’ र हत्याराहरुको साँचो ‘आदर्श’ नै हो।
कमरेडहरुसँग मङ्सीर ७ गते साँझ जिम्मेवार कमरेडको साथमा भेटने अवसर पाएको थिएँ। उहाँहरु ७ जना हुनुहुन्थ्यो। भेट भएको बेला आज शहिद भागीराम बटालाको स्मृति दिवस, सल्यान रक्ताम्य भएको दिन, उक्त दिनको स्मृति र शहिदप्रति सम्झना गर्दै केही समय छलफल गर्यौं। त्यसपछि खाना खाएर उहाँहरु हिड्न थाल्नु भयो। त्यतिखेर कमरेड लोकेन्द्र र म फेरि भेट हौंला है कमरेड भन्दै हात मिलायौं। क.टोपबहादुर बुढाथोकी विमलजीले “म औषधि लिन जान लागेको छु कमरेड, तपाईको सम्पर्कमा २५ गते पक्कै आईहाल्छु। तर युद्धको बाटो अनिश्चयको बाटो हो पुनः भौतिक रुपमा भेट नहुन पनि सक्छ, विचार भने ज्युँदै रहोस” भन्नु भएको थियो। त्यसपछि उहाँहरु मध्यरातमा हिड्नु भयो। कमरेड एभरेष्ट(सुर्यविक्रम राना)ले क्रान्ति क्षेत्रबाट केही दिन अगाडि लेखेको पत्रमा भन्नुभएको थियो,–“युद्ध यात्रामा व्यस्तता भएपनि पत्राचार गर्दै गर्नु, युद्ध यात्रामा वास्तवमा देश र जनताका निम्ति वलिदान गर्ने भन्दा ठुलो स्वार्थ हामीसँग के हुन सक्छ र? दुश्मनसँग जीवनको अन्तिम अवस्थासम्म लडिरहनु यही मेरो न्यानो सलाम” पत्रमा लेख्नु भएको थियो। आज कमरेडहरुका ति महान अभिव्यक्तिहरु हाम्रा निम्ति प्रेरणाका श्रोत बनेका छन। मङ्सीर ८ गते विहान ११ बजेतिर प्रतिक्रियावादीको हवाई युद्धको साधन हेलीकोप्टरको अनिष्टकारी आवाज हाम्रो कानमै ठोक्किएको थियो। बर्दिधारी ब्वाँसाहरु यत्रतत्र छरिएका खबर पनि हामीले पाएका थियौं। महान जनयुद्धको विकास प्रक्रिया देखि अत्तालिएका हिटलर र मुसोलिनीका नेपाली सन्तानले पुनः कहाँ, कस्को सिन्दुर पुछ्न बाध्य बनाए, कहाँ, कस्लाई टुहुरा बनाए, कहाँ, कस्को काख रित्तो बनाए हामीलाई आशंका पैदा भएको थियो। घटना विवरणलाई बुझ्दै जाँदा, “मङ्सीर ८ गते विहान ७ बजेतिर एकहुल नरभक्षिहरु कुमाखको काखमा अवस्थित कागखोला गाउँमा पसेछन। गाउँमा पसेपछि एकाएक साथीहरु बसेको सेल्टर घेरा हाल्छन। केही कमरेडहरु घेरा तोड्न सफल हुनुहुन्छ तर कमरेड विमल र कमरेड लोकेन्द्र दुईजना कमरेडहरु बसेको घरको कोठाभित्र नै दुश्मनको कब्जामा पर्नुहुन्छ। त्यतिबेलै अलि तल बारीमा जनताको काममा सघाईरहनु भएका कमरेड एभरेष्ट(सुर्यविक्रम राना)लाई पनि ब्वासाहरुले झम्टिन्छन र तीन जना कामरेडहरुलाई गिरप्तार गरि यातना दिदै एकै ठाँउमा ल्याउछन। उहाँहरुलाई गिरप्तार गरेपछि कुनै पनि जनतालाई नजिक जान दिईदैन। देश र जनताको मुक्तिको निम्ति कटिबद्ध तीनजना होनहार क्रान्तिकारी योद्धाहरुलाई गिरप्तार गरेपछि पार्टीको सबै सुचना पत्ता लगाउन खोज्छन। केही चिज(सुचना)पनि पत्ता लगाउृन नसकेपछि साँझ ५ बजे कुमाखको फेदी ओखरबोट बजार नजिकै बोरीखोलामा लिएर दुश्मनहरुले गोली हानी कायरतापुर्ण तरिकाले हत्या गर्दछन।”
घटनाबारे अस्पष्ट खबर सुनेपछि को–को कसरी दुश्मनको कब्जामा पर्नुभयो। हामी बुझ्न आतुर र बेचैन भयौं। एकजना साथी र म घटनास्थलतर्फ लाग्यौं। हामीमा त्यतिबेला डर, त्रास होइन, आवेग र आक्रोश थियो। यसतो भाव थियो जसले बदलाको संकेत गरिरहेको थियो। हामी सरासर कागखोला गाउँमा पुग्यौं, घटनाको यर्थाथता बुझ्यौं। जनताका अनुहार मलिन थिए। बाजको झम्टाईले बुटट्यानमा लुकेका तित्राका चल्ला जस्तो। “हत्याराहरु हेलिकोप्टर लिएर आए, हामीलाई पिट्नु पिटे, साथीहरुलाई छोपेर लगे”, जनताको भनाई यस्तो थियो। तत्पश्चात गाउँका स्थानीय साथीहरुको सहयोगमा साथीहरुलाई खोज्न बोरीखोलातिर हिड्यौं। बोरीखोला जहाँ दुबैतर्फ अग्लो डाँडा र भिरको बिचमा खोंच परेको छ। खोलामा गरगरे ढाँर छ। खोल्सामाथि ओखरबोट पर्छ। चुत्रा र रैयजको बुट्टयान लगायतको बाक्लो जंगलको झाडी छ। हामी खोज्दै हिड्यौ, साँझ परुन्जेल। पुर्वोत्तर पट्टीको पाखामा लाग्यौं, मान्छे हिडेको जस्तो छ। खोल्सामा कोदालीको बिड देखियो। हामीमा एकाएक श्वास बढेर आयो। छिटो छिटो माथि उक्लीयौं, सारा पाखो नै रक्ताम्मे छ। रगतका फाल्साहरु छन। रगतको पोखरी जमेको छ। खोल्सामा केही माटो खनेर थुपारेको छ। हामीलाई लाग्यो, कमरेडहरुको त्यो महान विचार बोकेको भौतिक शरिर दुष्टले सधैंको लागि भौतिक रुपमा चुडालेर यही माटोले छोपेको छ। त्यतिखेर हाम्रो शरिरमा छिटो–छिटो रक्तसंचार भैरहेको थियो। छाति फुलेको थियो। दुबै हातले माटो फाल्दै गयौं, छातिमा गोलीले छिया छिया भएको, हात खुट्टा खुकुरीले चिराचिरा पारेको, तीनजना कमरेडहरुको भौतिक शरिर चिर निद्रामा डुबेको अवस्थामा फेला पार्यौं। हत्याराहरुले कमरेडहरुको मुखमा पट्टी बाँधेका रहेछन। पट्टी खोल्यौं। हामीमा धैर्यताको बाँध टुटेर आयो। भक्कानियौं, भावविव्लह भयौं। “प्रिय कमरेडहरु दुई थोपा आशु सहितको श्रद्धाञ्जली, हत्याको बदला युद्धमैदानबाट लिएर छोड्ने छौं।” वाक्य यतिमात्र फुट्यो।
सल्यान दार्माकोटमा न्युनस्तरको परिवारमा जन्मेर प्रतिक्रियावादी एवं अवसरवादी प्रवृतिलाई बलियो झापट दिदै, माक्र्सवादी खोल ओढेका संशोधनवादी तथा नवप्रतिक्रियावादीका विरुद्ध वैचारिक धावा बोल्दै, “विद्रोह जनताको अधिकार हो” भन्दै वर्गिय मुक्तियुद्धमा सगर्व सहभागी भई उच्च जातिय अहंकारवादका विरुद्धमा उत्पीडित जाती, जनजातीहरुको मुक्तिका निम्ति नेतृत्व गरिरहनु भएका पार्टी एरियाका सचिवालय सदस्य तथा अखिल नेपाल जनजाती महासंघका केन्द्रीय सदस्य एवं सल्यान जिल्ला अध्यक्ष क.सुर्यविक्रम राना(एभरेष्ट), स्वीकोट निम्न मध्यमवर्गीय किसान परिवारमा जन्मेर स्थानीय जाली फटाहाका आँखाका कसिंगर बन्दै जनयुद्धको थालनीयता भुमिगत जीवन बिताईरहनु भएका पार्टी एरिया सदस्य क. टोपबहादुर बुढाथोकी(विमल) र जाजरकोटको विकट बस्तिमा जन्मेर सल्यानी भुमीमा रगत बगाउनु भएका क.कालीबहादुर राना(लोकेन्द्र)को भौतिक शरिर धर्ति आकाश कम्पायमान बनाउँदै कुमाखको काखमा ढलेका छन। भोलीपल्ट पुनः स्थानीय जिम्मेवार कमरेडहरुको साथमा कमरेड विमलको जीवनसाथी रिता बुढाथोकीसहित ११ जना घटनास्थलमा गयौं। शहिदको रगतको रातो टिका लगाई युद्धमैदानबाटै रगतको बदला लिने र आधार इलाका निमार्णको महान योजना कार्यान्वयन गर्ने सपथ खायौं।
– बर्ष ९, अङ्क ५, २०५६ साल पौष ६ गते मंगलबारको जनादेश सप्ताहिकमा प्रकाशित संस्मरण।
– नोटः २१ बर्ष पहिले लेखेको संस्मरण। यसको ओरिजिनल भाव र त्यतिबेलाको लेखकीय चेतको अभिब्यक्ति होस भनेर जस्ताको तस्तै ब्लगमा राखिएको छ।