धर्तिमा चम्किरहेका चन्द्रको सम्झनामा

“ए ! यो देशका सामन्त, दलाल तथा नोकरशाही पुँजिपतिवर्गका भरौटे, शोषक, सुदखोर र जाली फटाहाहरु हो, कान खोलेर सुन। तिमिहरु गरिब, दलित र श्रमिकलाई हेप्छौं र जनयुद्धलाई केटाकेटी खेल ठान्छौ भने तिमीहरुको सर्वनाश निश्चित छ।” शहिद चन्द्रबहादुर राना (संगीन) यसरी नै उदघोष गर्थे।

औषत मानिस भन्दा अलिकति अग्लो, पातलो र गहँुगोरो चिटिक्क परेको शरीर, हँसमुख अनुहार, कमाण्ड भ्वाइस, धाराप्रवाह भाषणकला, अध्ययनशिलता, जनप्रिय शैली, सर्वहारा श्रमजीवि वर्गप्रतिको असिम प्रेम र बैरिप्रतिको तिब्र घृणा बोकेको एउटा निर्भिक क्रान्तिकारी, होनहार योद्धा जसको नाम थियो, चन्द्रबहादुर राना(संगीन)।

उनको कलम,मात्र कलम थिएन, दुश्मनका लागि संगीन थियो। उनको भाषण, मात्र बोली थिएन, बैरि विरुद्धको हुँकार थियो। उनका कला र सिर्जना, मात्र भावना र संवेग थिएनन, गडगडाउने भेल थिए, जसले खराब विचार, प्रवृति र संस्कृतिलाई बगाउने सामथ्र्य राख्दथे। त्यसैले त उनी जनताको बिचमा जतिदिन रहे आँखाको नानी बनेर रहे भने दुश्मनका लागि आखाको कसिङ्गर।

२०५५ भाद्रमा सम्पन्न पार्टीको चौथो विस्तारित बैठकले छापामार युद्धलाई घुमन्ते विद्रोहीको छापामारवादबाट माथि उठाउने गुणात्मक फड्कोको आवश्यकता बोध गर्दै “आधार इलाका निमार्णको महान दिशामा अघि बढौं!” भन्ने मुलनाराकासाथ पार्टी, सेना, मोर्चा र जनवर्गिय संगठन परिचालन गर्ने फौजी र गैरफौजी योजना र कार्यक्रम अघि सार्यो। पार्टीलाई सुद्धिकरण र सुदृढिकरण गर्ने, जनसेनालाई मुख्य, सहायक र आधारभुत शक्तिको रुपमा तीन तहमा संगठित गरि परिचालन गर्ने, आधार इलाकामा स्थानीय जनसत्ताको भु्रणको विकास गर्ने र जनवर्गिय संगठनमार्फत जनसंगठन र जनसंघर्ष गतिविधि संचालन गर्ने पार्टीका योजना थिए।

कार्तिक देखि योजनाको सम्प्रेशन तथा कार्यान्वयन शुरु भयो। सल्यान जिल्लाका उत्तरी भेगका करिब एक दर्जन गाविसहरुमा गाउ जनसमिति(गाजस)हरु निमार्ण भए। पार्टीले राजनैतिक तथा सांस्कृतिक अभियानहरु सञ्चालन गर्यो। जनसंगठनहरु जिल्लाव्यापी संगठन विस्तारको काममा लागे। माघ महिनामा सल्यान साउनेपानीस्थित झिम्पे टावरमा जनसेनाले सफल फौजी कार्बाही गर्यो। यो पश्चिम  नेपालकै पहिलो ठुलो फौजी कार्बाही थियो भने कजेरी खोलामा पनि माघ महिनामै प्रहरीमाथि एम्वुस भयो।

‘किलो सेरा टु’ र ‘जंगल सर्च अप्रेशन’ नाममा नरसंहारकारी अभियान सञ्चालन गरि माओवादी समाप्त गर्ने सपना देखेको सरकारका सबै अप्रेशनहरु नाकाम हुदै गएका थिए। यसैबिच २०५६ बैसाख २० गते सरकारले संसदीय निर्वाचनको घोषणा गर्यो। राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध हतियार उठाएको माओवादी आफ्नो प्रभाव क्षेत्रमा निर्वाचन वहिष्कार गरि आधार इलाका निमार्णको अभियानमा अघि बढने योजनामा थियो। पार्टीका सबै गतिविधि निर्वाचन वहिष्कारमा केन्द्रीत थिए। पुर्व योजना मुताविक नै मतपेटिकासहित निर्वाचन सामग्री बोकेको निर्वाचन अधिकृत र सुरक्षाकर्मीको टोली बाफुखोलामा एम्बुसमा पर्यो। जसमा प्रहरी इन्सपेक्टरसमेत हाताहातीका परेको खबर सार्वजनिक भयो।

हामी आ आफ्नो क्षेत्रका जनतालाई निर्वाचन वहिस्कारमा लाग्न अपील गरिरहेका थियौं। पार्टीका कमरेडहरुको नयाँ कार्यबिभाजन अनुसार क.संगीनलाई पार्टीले एरिया सेक्रेटरीको जिम्मा सुम्पीएको थियो। संगीन लगायतका कमरेडहरु कुमाखको पश्चिमोत्तरका गाउँहरु स्वीकोट, मर्मपरिकाँडा र चाँदेकरेञ्जी क्षेत्रमा रहनु भएको थियो भने धावा, म लगायतका केही कमरेडहरु कजेरीतिर थियौं।

चुनावको दिन बिहान क. चन्द्रबहादुर राना(संगीन) र क.गणेश शाही(कमल) चाँदे खार्पन क्षेत्रको निर्वाचन वहिस्कार अभियानमा सहभागी हुनुभएको रहेछ। चाँदे खार्पनमा लामो समय देखि जनतामाथि शाषण गरिरहेका पुर्वपञ्च र स्थानीय काँग्रेसीहरु माओवादीको प्रतिकार टोली तयार गरेर बसेका रहेछन। उनीहरुले जनतालाई भोट हाल्न नगए प्रहरीले माओवादीको नाममा मार्छ भनेर आतंकित पार्ने र मतदानस्थलमा लैजाने काम गरेछन।

निर्वाचन बुथबाट फर्केपछि उक्त समुह जाँडरक्सी खाएर बसेको रहेछ। क.संगीनले तपाईहरु मानिसलाई आतंकित बनाएर भोट खसाल्न लैजानु भएछ नि भन्न मात्र के पाउनु भएको रहेछ, नियोजित रुपमा बसेको उक्त जत्थाले उहाँमाथि बञ्चरो प्रहार गरेछ। बञ्चरो प्रहार पछि कान्ला तल जानुभएको संगीनलाई बचाउन खोज्दै गर्दा क. कमलमाथि पनि खुकुरी र बञ्चरो प्रहार भएछ। उक्त जत्थाले उहाँहरुलाई खुकुरी, बञ्चरो, भाला प्रयोग गरेर क्रुर र बिभत्स ढंगले हत्या गरेछन। हत्या पछि उक्त हत्यारो समुह भागेर रातारात सदरमुकाम खलंगा पुगेछन। राज्यपक्षले उनीहरुलाई माओवादीको हत्या गरेकोमा पुरस्कृत गरेछ। यता माओवादी समर्थक जनताले घटना विवरण पार्टी सम्पर्कमा पुर्याएपछि हामीलाई यो अकल्पनिय खबर प्राप्त भयो। पार्टीले उक्त घटनाको सुक्ष्म रुपले छानविन गर्यो। घटनाका मुख्य अभियुक्तहरु गाउँ छोडेर भागीसकेका थिए। केही समय पश्चात घटनाका एक अभियुक्त कार्बाहीमा परे भने बाँकी सरकारद्धारा पुरस्कृत भएर संरक्षणमा बसे।

कमरेड संगीनसँग शहिद हुने युवा गणेश शाही(कमल) पनि अत्यन्तै साहसी र निर्भिक युवा हुनुहुन्थ्यो। बुवा धनबहादुर शाही र आमा लक्ष्मीको कोखबाट ०३५ बैसाख १७ गते जाजरकोट गर्खाकोटमा जन्मनुभएका कमल सपरिवार सल्लीबजार बस्नुहुन्थ्यो। सल्लीबजारबाट पार्टी सम्पर्कमा आई जनसेनामा जोडिनुभएका उहाँ छोटो समयमै चाँदे खार्पनमा शहिद हुनुभयो। बुवा बादी राना र आमा नन्दकलीको कोखबाट ०३१ बैसाख ९ गते सल्यान मर्म – ६, रागेचौरमा जन्मीनु भएका चन्द्रबहादुर राना(संगीन)ले सानै उमेरमा मातृत्व गुमाउनु पर्यो। सानैमा आमा बित्नुभयो। बुवाले सहमाता ल्याउनुभयो। मेरो मातृत्वको अभाव दिदीहरुले पुरा गर्नुभयो। उहाँले मसँग भन्नुभएको थियो। एकरात उहाँले मलाई त्रिवेणी ठुली दिदीकोमा लिएर जानुभएको थियो। हामी बाँकी रात र भोलीपल्ट दिनभर दिदीकहाँ बितायौं। दिदी दिनभर नै हामीसँगै कुरा गरेर बस्नुभयो। दिदीले भाईको भुमीगत जीवनको कत्रो चिन्ता गर्नुहुन्थ्यो। भाई दुश्मन टाढा छैनन, गाँउमै छन, जहाँ भेट्टायो त्यही मार्छौं भन्छन। होस पुर्याएर काम गर्नु भाई। उहाँले यी कुरा कम्तिमा पनि १० पटक दोहोर्याउनु भयो होला। आजभोली दिदी बर्दियातिर बसाई सरेर जानु भएको छ रे। भाञ्जासँग कहिलेकाही फोनमा कुराकानी हुन्छ।

शहिद चन्द्र रागेचौरबाट एसएलसी पास गरेर चौरजहारी पढन गएपश्चात अखिल(क्रान्तिकारी) आबद्ध हुनुभएको हो। शिक्षक, अग्रज र सहयात्रीले उहाँलाई क्रान्तिकारी बन्न उत्प्रेरित गरेका थिए। उहाँले रागेचौर पढ्दा खेरी कालागाउँका राजेन्द्र शाहसँग मितेरी लगाउनु भएको रहेछ। उहाँ चौरजहारी बस्दा मितको घरमा बस्नुहुन्थ्यो, जुन परिवार माओवादी राजनीतिमा आवद्ध थियो। उहाँले शारिरीक श्रममा कहिलै अल्छी गर्नुभएन। गर्मीयामको चर्को धुपमा समेत उहाँलाई खेतबारीमै देखिन्थ्यो। उहाँको नेतृत्वमा हामीले ठुल ठुला जनसेवा र श्रमशिविर सञ्चालन गर्यौं। श्रमप्रति आस्था शोषणप्रति घृणा भन्ने सिद्धान्त अनुसार उहाँ सधैं गतिशिल भईरहनु भयो। जनश्रम भनेको जनतासँग जोडिने सबभन्दा उत्तम हतियार थियो। यसबारे उहाँका निकट सहयात्री विरेन्द्र शाहीले भन्नुहुन्छ, संगठन विस्तार अभियानमा हिडदा पनि उहाँ जनताकोमा काम नगरि खाना नखाने नीति बनाउनु हुन्थ्यो रे। गाउँलेहरु अहिले पनि उहाँको श्रमशिलताको उच्च प्रसंशा गर्दछन।

उहाँ र शहिद लोकेन्द्र प्रकाश गिरी(चिरपरिचित) ०५१ मा जनता मावि रागेचौरमा सम्पन्न पाँचौं जिल्ला सम्मेलनबाट सल्यान जिल्ला समितिको सदस्य बन्नुभयो भने ०५३ देखि संगठनको अध्यक्षको जिम्मेवारी उहाँको काँधमा आईपुग्यो। उहाँकै नेतृत्वमा ०५४ असार ७ र ८ गते भल्चौर २ कुकुरगौरामा सम्पन्न छैठौं जिल्ला सम्मेलनबाट उहाँ जिल्ला अध्यक्ष निर्वाचित हुनुभयो। प्रमुख अतिथि आईपुग्न ढिला भएकोले सम्मेलनको उदघाटन पनि उहाँले नै गर्नुभएको थियो। उक्त सम्मेलनको घोषणा सभा संगठनका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेको प्रमुख आतिथ्यमा जनज्योती मावि फारुलाचौरमा भएको थियो। त्यतिखेर सल्यानको रागेचौर काँग्रेसको पकड एरिया थियो। उहाँ अखिल(क्रान्तिकारी)मा आवद्ध भएको परिवार वरपरकै मानिसलाई चित बुझेको थिएन। उहाँका विरुद्ध अनेकौं झुट्ठा मुद्धाहरु लगाईए र प्रशासनले उहाँको नाममा वारेन्ट जारि गर्यो। जनयुद्धका प्रारम्भिक दिन देखि नै उहाँ पुर्णरुपले भुमिगत बन्नुपर्ने अवस्था सिर्जना भयो।

संगठनको अध्यक्ष भुमिगत रहनुपर्दा अप्ठ्याराहरु थिए। सल्यान, रुकुम र जाजरकोट तीनवटा जिल्लाको केन्द्रीकृत जनसभा चौरजहारीमा भव्य रुपमा गर्ने कार्यक्रम थियो।  केन्द्रीय सदस्य लेखनाथ न्यौपाने प्रमुख अथिति हुनुहुन्थ्यो। उक्त कार्यक्रममा कमरेड चन्द्र जान संभव भएन किनकी उहाँको नाममा वारेन्ट थियो। मंसीर १६–२०, २०५४ मा संगठनको चौधौं राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भयो। उहाँले उक्त सम्मेलनमा भाग लिनु भयो। बन्दसत्रमा ५ मिनेट समय दिईएकोमा उहाँले अध्यक्ष मण्डलको अनुमति लिएर २० मिनेट बोलेर हललाई उद्धेलित बनाउनु भयो। विद्यार्थी संगठनको गतिविधि खुला गर्नुपर्ने तर उहाँ भुमिगत भएकोले केन्द्रीय समितिमा भने बस्नु भएन र सम्मेलनबाट जिल्ला फर्किने बित्तिकै जिल्ला समितिको अध्यक्षबाट राजिनामा दिनुभयो। उहाँले जुन बैठकबाट विदा लिनु भयो, त्यही बैठकबाट म विद्यार्थीको जिल्ला कमिटिको जिम्मेवारीमा आएको हुँ। सयौं उत्तराधिकारी मध्य एकजना मैले पनि उहाँले सुम्पेको अखिल(क्रान्तिकारी) को झण्डा बोके। संयोग मान्नुपर्छ, संगठनको केन्द्रीय समितिको अध्यक्षसम्म पुगेर भुमिका पुरा गर्ने अवसर मलाई प्राप्त भो। यसमा शहिद चन्द्रको मार्गनिर्देशन सदैव रहिरहेको छ, उहाँ लगायत सबै शहिद तथा वेपत्ता योद्धाप्रति हार्दिक नमन गर्न चाहन्छु।

चन्द्र एक असल सिपाही र संगठक मात्र नभई कुशल जनकलाकार पनि हुनुहुन्थ्यो। साहित्यमा उहाँको राम्रो अभिरुची थियो। कविता, कथा, संस्मरण लेखनमा उहाँको विशेष रुचि थियो। उहाँ बाद्यबाद्यन बजाउनु हुन्थ्यो, गीत गुनगुनाउनु हुन्थ्यो र नाच्नुहुन्थ्यो।

उर्लीयो गाउँगाउँमा जनयुद्धको भेल

तोडिन्छन दमनमा दासताको नेल

आईपुग्यो छापामार खुकुरी भिरेर

देश मुक्त गर्ने अठोट लिएर

आईपुग्यो छापामार खुकुरी भिरेर ….

भन्ने गीतमा माल्नेटाको ठाराढुङ्गामा शहिद चन्द्र अहिले पनि टाउँकोमा तारा अंकित रातो कफन बाँधेर नाचिरहेको आभाष हुन्छ। साँस्कृतिक अभियानको क्रममा उहाँ खुकुरी भिरेको छापामार भएर नाच्नुहुन्थ्यो। उहाँ अखिल नेपाल जनसाँस्कृतिक महासंघ सल्यानको अध्यक्ष पनि बन्नुभयो।

विचार, राजनिति र साहित्यमा उहाँको राम्रो दख्खल थियो। नयाँ नयाँ अध्ययन सामग्रीको खोजी, अध्ययन र त्यसको सम्प्रेशनमा उहाँ निकै सक्रिय भईरहनुहुन्थ्यो। अध्ययनसँगै उहाँको रुचिको अर्को विषय हो पत्रकारिता। उहाँ जनादेशको सम्वाददाता पनि हुनुभएको थियो। जनादेश साप्ताहिकलाई गाउँ गाउँसम्म पुर्याउने व्यवस्थित सञ्जाल तयार पार्नुभएको थियो। उहाँले आफ्ना साथीहरुलाई पत्रिकामा रिर्पोटीङ तथा युद्ध पत्रकारिता कसरी गर्ने भन्नेमा सधैं उत्प्रेरित गरिराख्नु हुन्थ्यो।

उहाँले कसैलाई प्रेम गर्नुहुन्थ्यो या थिएन थाहा भएन। उहाँ २५ बर्षे जवानीसम्म प्रेम र विवाहबारे करिब बेखबर जस्तै हुनुहुन्थ्यो। लाग्थ्यो उहाँलाई यो विषयमा सोच्ने फुर्सद नै छैन। सम्मेलन सकेर काठमाडौंबाट फर्केपछि उहाँसँग पुर्वतिरको कुनै महिला साथीले एक दुईपटक पत्राचार गरेको मलाई याद छ। त्यो पत्रमित्रता मात्र थियो कि प्रेम पनि बुझ्न सकिएन।

आजको दिन क. चन्द्रबहादुर राना(संगीन) शहिद भएको २१ बर्ष पुरा भएको छ तर हाम्रो प्रिय शहिद चन्द्र धर्तिको चन्द्र बनि चम्किरहनु भएको छ। युद्ध पछिका १४ बर्ष पनि बितिसकेका छन। देशले संघीय लोकतान्त्रिक गणतन्त्रको स्वरुप धारण गरेको छ। संविधानसभाबाट संविधान बन्यो। कम्युनिष्ट पार्टीहरुको एकता भयो। कम्युनिष्ट पार्टीलाई दुईतिहाई जनमत प्राप्त भयो। देशलाई समाजवादको दिशानिर्देश गरियो। शहिदका अधुरा सपना पुरा गर्ने प्रतिवद्धता व्यक्त भए। यो खुसीको कुरा हो।

तर, निर्माणाधिन नेकपामा चुलिएको सत्तास्वार्थ र मौलाएको गैरकम्युनिष्ट चिन्तन र प्रवृतिले हामीलाई नराम्रोसँग झस्काएको छ। राजनितिभित्रको अराजनितिले अत्यन्तै पीडाबोध भएको छ। वर्गीय मुक्तिको सपना देखेर राजनितिमा होमिएका हामी जस्ता भुईमान्छे र आम जनतालाई यस्ता घटनाले पीडा थप्दा रहेछन। हामीलाई विश्वास छ, नेतृत्वले खराबीसँग सम्झौताहिन संघर्ष गर्ने छ। घुम्ती र मोडहरुमा विवेक पुर्याउने छ। नयाँ पुस्ताले पनि स्टेरिङ समात्न साहस गरौं। कमरेड चन्द्रबहादुर राना(संगीन) र गणेश शाही(कमल)प्रति पुनः हार्दिक श्रद्धाञ्जली।

२०७७ बैसाख २०, काठमाडौं

Comment