एउटा बर्बर हत्याकाण्डको रिर्पोटिङ
कथामा पढें जस्तो, दन्त्यकथामा सुने जस्तो, मध्ययुगीन बर्बरतालाई बिर्साउने त्यो हत्या जसबारे काठमाडौ अनभिज्ञ नै थियो सायद, यसको कतै चर्चा भएन। जब म सोलु पुगे तब नराम्रोसङ्ग झस्कन पुगें। यति ठुलो आततायी घटना आम सञ्चार र सुचनाप्रवाहको नजिक कसरी पुग्न सकेन होला म विस्मित भएँ। आजका दिनमा त यति ठुला घटना गुपचुप घटाईन्छन भने विगत युद्धकालमा भएका घटनाको यर्थाथ कसरी जनसमक्ष पुगोस। झुटको खेतीमा यसरी नै टिक्दा रहेछन शाषकहरु भन्ने मलाई निकै समयसम्म लागिरह्यो।
मेरो लागि यो नै सोलुखुम्बुको पहिलो यात्रा थियो। यात्रारत रहँदा राजन मुकारुङको दमिनी भीर पढदै गएको थिएँ। जसमा श्रजकले पुर्वि नेपालको एउटा सामाजीक घटनालाई सिर्जनाको आधार विषय बनाएका रहेछन। दमिनी भीरमा गाँउको बस्नेतकाजी कालीबहादुरको साहुरिन तिर्न नसकेर बिहे गरेको दुई महिना नपुग्दै कथाको पात्र सुके आफ्नी प्यारी श्रीमतीलाई घरमा छोडेर बिदेसीयो। रिन लिएको तीन महिना बितेको दिन काजी सुकेको घरमा आयो। दमिनी घरमा एक्लै थिई। दमीनिलाई एक्लै देखेपछि काजिको अपराधिक र हिंश्रक मनोवृति प्रकट भयो। काजिले दमिनीलाई घिर्सार्दै घर भित्र पुर्यायो र जर्बजस्ती उसको सतित्व लुटेर फर्कियो। दमिनीले त्यो घटनालाई सहन सकिन र त्यसै रात घर नजिकैको भिरबाट हामफालेर प्राण त्याग गरि। त्यो भीरलाई अहिले पनि गाउलेहरु दमिनी भीर भन्छन।
काठमाडौं देखि सल्लेरीसम्मको यात्रामा मैले पुस्तक पढिँसकेको थिएँ। मलाई दमीनी भिरले एकपटक विगततिर फर्कायो। सामन्ती सत्ताका मैमत्त शासकहरुले कति दमीनी भिरको रचना गरे। यसको कुनै लेखाजोखा छैन। सामन्त, जमिन्दार र तीनका पिछलग्गु भुरे टाकुरे रजौटा तथा भारदारहरुको अत्याचार र गरिबीले थिचिएका निमुखाहरुको यो कहालीलाग्दो जीवनलाई मुकारुङले सुन्दर शब्दमा उनेका छन। लेखकलाई नमन गर्न मन लाग्यो। यी र यस्तै अत्याचार र उत्पीडनले नै विगत दश बर्ष नेपाली जनताले गौरवमय क्रान्तिमा आफुलाई वलिदान गर्न तयार भए। मैले एकपटक जनयुद्धका लालसिताराहरुलाई सम्झन पुगेँ।
जब म सल्लेरी पुगेँ र साथीहरुसँगको अन्र्तक्रियामा सामेल भएँ, मेरा लागि एउटा नयाँ रहस्योदघाटन जस्तो लाग्यो। यस्तो कहालीलाग्दो, आततायी र पाशविक घटना जसले मलाई अघिल्लो दिनभरको दमिनी भिरलाई नि विर्साईदियो। आफुलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली काँग्रेसका नेता र उनका लठैतहरुले रचना गरेको विभत्सताको व्याख्या गर्न पनि गाह्रो छ। यीनिहरु यसरी पाशविकताको पराकास्टामा पुग्छन होला भन्ने कुरा मैले सोचेको पनि थिइँन। चुनाब जित्न के सम्म गरेनछन यीनीहरुले। यसको एउटा जीवन्त घटना हो, सोलुखुम्बुको देउसा हत्याकाण्ड।
दोश्रो संविधानसभाको निर्वाचनको प्रचार प्रसारको बेला थियो। कार्तिक तेश्रो साता सोलुखुम्बुको देउसा गाँउमा काँग्रेस कार्यकर्ता र माओवादी कार्यकर्ताको बिचमा हात हालाहालको अवस्था श्रृजना भएछ। स्थानीयहरुको भनाई अनुसार घटनालाई सहजीकरण गरि सामान्य अवस्थामा फर्काउनतिर होइन, यसलाई भड्काउने, रक्तपात मच्चाउने र आतंकको राज खडा गर्ने दिशामा काँग्रेस नेता नै उत्रिएछन। काँग्रेस मुख्य नेतृत्वको विश्वासपात्र भएर सोलुखुम्बुको ‘जिम्दारी‘ सम्हालेका उनी जब पहिलो संविधानसभामा पराजित भए तत्पश्चात आफ्नो गुमेको ‘जिम्दारी‘ फिर्ता गर्न हत्या, आतंक र बलात्कारको सहारा लिन थाले। उनकै गुरुयोजनामा सोलुखुम्बुमा दोश्रो संविधानसभाको निर्वाचनलाई हत्या र आतंकको अभियानमा बदलिएछ। घटनाका जानकारहरु भन्छन, कार्तिक २७ गते राती १ बजे देउसा गाविस वडा नं. ७ मा पदमे भनिने राज राईको नेतृत्वमा आततायी आक्रमण भयो। स्थानीय माओवादी कार्यकर्ताका घरलाई निशाना बनाईयो। बुवालाई खोज्दै गएको हत्यारो जत्थाले छोरी रश्मी राईलाई घरमा सुतीरहेको अवस्थामा नियन्त्रणमा लिई सामुहिक बलात्कार गरि घाँटी रेटेर हत्या गरेछन। मैले एकपटक दमिनी भिर सम्झीएँ। जहाँ सामन्ती राजाका स्थानीय भरौटे(काजी)को बलात्कारको पिडा सहन नसकी दमिनीले भीरबाट हाम फालेर आफ्नो प्राण त्याग गरी तर देउसामा नवसामन्तका भरौटेहरुको सामुहिक बलात्कार पछि खुकुरीले रश्मि राईको घाँटी रेटियो। कति बर्बर छ आततायीहरुको यो लोकतन्त्र? कति पाशविक र निन्दनीय छ, हत्याराहरुको यो अपराध कर्म? के २१औं शताब्दीले रश्मि राईहरुको बर्बरतापुर्वक वलि चढाएर लोकतन्त्रको विजय उत्सब मनाउने हो?
रश्मि राई एउटा बच्चाकी आमा हुन। उनी गाँउकै देउसा मा. वि. मा अध्ययनरत थिइन। उनका बुवा माओवादीका स्थानीय कार्यकर्ता हुन।उनको पाशविक हत्याको कारण उनको बुवाको माओवादीप्रतिको लगाव हो। के अभिभावक माओवादी हुनुको कारण उनका सन्ततीले यति ठुलो मुल्य चुकाउनु पर्ने हो? संविधानसभाबाट जनताको संविधान निमार्ण गर्ने जनअनुमोदीत बाटोबाट नेपाली समाजको रुपान्तरण गरि छाड्ने माओवादी आकाङ्क्षा कसरी दण्डनिय भयो? हैन भने देउसाको यो बर्बरता यो देशका लोकतन्त्रले किन देखेन। यो देशको प्रेसको आँखाले किन दृष्टि पुर्याउन सकेन? किन मानवअधिकार र महिला अधिकारको आवाजले देउसालाई खोजेन? मसँग हजार प्रश्नहरु हुर्रिदै आएका छन। उनी माओवादीको सन्तान हुनुको नाताले अखिल(क्रान्तिकारी)को देउसा मावि इकाईको सदस्य थिइन। यही नै उनको पाशविक हत्याको अर्को कारण होला। यो आततायी हत्या मानव सभ्यताकै एक बर्बरता हो। जसलाई जति निन्दा गरे पनि कमै हुन्छ।
घटना पछि हत्याराहरु समातिएनन। शव लिएर पोष्र्टमार्टमको लागि सदरमुकाम आउन लागेको आफन्तहरु प्रहरीको घेराभित्र समेत असुरक्षित भए। हत्यारा वरिपरि घुमीरहँदा प्रहरी मुकदर्शक र रमीते भए। प्रमुख जिल्ला अधिकारी सिताराम कार्की र प्रहरी प्रमुख बद्रीविक्रम थापा घटनाका निस्पक्ष छानविनतिर होइन ढाकछोप गर्न तिर लागे। जिल्लामा बनेको जनदवावलाई थेग्न नसकेपछि मात्र दुई जना अपराधीलाई समातिएको छ तर नेविसंघ सोलुको आन्दोलनको धम्की र बलबहादुर केसीको दबाव भन्दै तिनलाई पनि छोडियो भने त्यो पनि सोलुका जनताका लागि अच्चम हुने छैन। नेविसंघ सोलुका मान्छेहरु अहिले पनि हत्यारालाई छुटाउन आन्दोलन गरिरहेका छन।
घटनाका मुख्य अभियुक्त आज पनि बल बहादुर के.सी.को संरक्षणमा काठमाडौंमै हिडिरहेका छन। उता सोलुखुम्बु अहिले पनि सन्त्रस्त छ। देउसागाँउ आतंकमै बाँचेको छ। घटनाका १७ जना अभियुक्त मध्यका कयौं अपराधीहरु देउसामै सुरक्षीत छन। जिल्लाको स्थानीय प्रशासन काँग्रेस नेतृत्वको निर्देशनमा अपराधीलाई संरक्षण गर्न लागि परेका छन। यसरी राज्य नै आतंकको श्रोत र संरक्षक बनेमा जनताले के गर्ने?
यो घटनाको श्रोता बन्दै जाँदा मलाई विगतको सभ्झना आयो। विगतको ‘प्रजातान्त्रिक’ सरकारले आफुसँग विमति राख्ने जनताले अधिकारका कुरा गर्दा यही शैलीको आक्रमण भयो। ०४८ को आम निर्वाचनबाट सबभन्दा ठुलो पार्टीको हैसियतमा नेपाली काँग्रेस नै सरकारमा थियो। रोल्पा, रुकुम लगायतका जिल्लाहरुमा ‘रोमीयो’ र ‘कम्बिङ’ अप्रेशन नाममा ठुला ठुला दमन अभियान सञ्चालन गरियो। राज्य आतङ्कले क्षतविक्षत गाउँबस्ती माओवादी जनयुद्धमा सामेल हुन बाध्य भए। जनयुद्धको समाधान राज्यले बलप्रयोगबाट गर्न खोज्यो र यसको पहिलो निशाना गोरखाका बालक दिलबहादुर रम्तेललाई बनायो। कक्षाकोठामा पढाईरहेको शिक्षक जनमोर्चाका नाममा गिरप्तार हुँदा हाम्रो सरलाई छोडि दे भन्ने विद्यार्थी सरकारी हिंसाको पहिलो शिकार बन्यो।
रोल्पामा लली रोकाहरुले रश्मि राईको जस्तै हालत ब्यहोर्नु पर्यो। मलाई सम्झना छ, सहिद दिलबहादुर रम्तेलको स्मृति दिवश(वलिदान दिवस)मा सल्यान थारमारेमा जम्मा भएका हजारौं निहत्था विद्यार्थीहरुलाई कमाण्डो पुलिस र तरुण दलले संयुक्त आक्रमण गरि विद्यार्थी धनबहादुर थापा र खिमबहादुर डिसीको हत्या गरे। ०५३ को स्थानीय निर्वाचनमा एमालेको तर्फबाट निर्वाचित गाविस अध्यक्ष हेमराज केसीले यो त मानवअधिकारको उलंघन भयो मात्र के भन्न पाएका थिए। तरबार र बन्दुक प्रयोग गरि प्राण पखेरु उडाईयो। म थारमारे घटनाको एक प्रत्यक्षदर्शी हुँ। सायद हामीलाई त्यही घटनाले एउटा विद्यार्थीबाट पेशेवर विद्रोही बनायो।
हिजोका यी घटनासँग आजको सोलुखुम्बुलाई साथमा राखेर समिक्षा गर्दा हामीलाई ज्यादै ठुलो पिडाबोध हुन्छ। शान्ति र संविधान निमार्णको ऐतिहासिक जिम्मेवारी लिएर हजारौं सहिदको बलिदान र सयौं वेपत्ता योद्धाको समर्पण, हजारौं घाइतेको चहराईरहेको घाउसँगै लाखौं जनताको अद्धितिय आन्दोलनबाट बनेको लोकतान्त्रिक राज्य किन यति गैरजिम्मेवार र लाचार बनेको होला? हिजो रोल्पाको थबाङमा मुलजित रोका र निमु रोकाहरु काँग्रेसी आक्रमणमा मारिँदा काठमाडौंको सरकारले हत्यारालाई पुरस्कृत गर्यो। के आज रश्मि राईहरु सोलुमा मारिँदा पनि हत्यारा पुरस्कृत हुने नै हुन? के यी घटनाले जनताको नयाँ विद्रोहलाई संगठित गर्दैन?
घटना पश्चात् दुई पटकसम्म बक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हत्यारालाई सख्त कार्बाहीको माग गरेको अखिल(क्रान्तिकारी) सोलुले मंसीर ७ गते आईतबारको दिन सांकेतिक प्रतिरोध स्वरुप जिल्लाव्यापी शिक्षणसंस्था बन्दको घोषणा गर्यो। उनै प्रहरी प्रमुखले शिक्षण संस्था बन्द गर्नेलाई जेल हाल्छु भन्दै हत्यारालाई संरक्षण गर्ने बाटो अख्तियार गरिरहेका छन। जनताको रगत पसिनाबाट नुन खाएर जनरक्षकको बर्दी लगाएर जनभक्षक बन्ने यीनलाई कसले कार्यबाही गर्ने? सरकार यसको जवाफ दिन सक्छ?
नयाँ पत्रिका, पुष १०, २०७० मा प्रकाशित