स्मृतिमा प्रकाश दाहाल
संघीय प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको रौनक निकै अघि बढिसकेको थियो। पार्टीको सम्पुर्ण पंक्ति निर्वाचन अभियानमा होमिएको थियो। पार्टी अध्यक्ष कमरेड प्रचण्ड सचिवालयको टिम सहित पश्चिम नेपालबाट क्रमशः पुर्वतिरका कार्यक्रममा सरिक हुदैहुनुहुन्थ्यो । पार्टीका सिनियर नेताहरु देशबाहीरका कार्यक्रममा सरिक हुन सम्भव नभएकोले समाजवादी पार्टी अफ बङ्गलादेशको निम्तोमा पार्टीको प्रतिनिधित्व गर्दै युवराज चौलागाई र म ढाका पुगेका थियौं । महान अक्टुबर क्रान्तिको सतबार्षिकीको अवसरमा एसपिबिले ढाकामा दुई दिवसीय अन्र्तराष्ट्रिय सेमीनारको आयोजना गरेको थियो ।
अघिल्लो दिन ढाकाको प्रमण्डलस्तरिय आन्तरिक अन्र्तक्रिया र नारायणगन्ज जिल्लाको भेटघाट कार्यक्रम, यी दुबै कार्यक्रम सकेर विश्रामस्थलमा फर्किदा करिब रातको दुई बजिसकेको थियो। साँझ अबेरसम्मको कार्यक्रमको चापले विहान निद्रा ढिला खुल्यो। काठमाडौंबाट भतिज लेखराज शाहको फोनले गर्दा व्युँझायो। घडिमा सात बजेको थियो। उनले प्रकाश दाहालको ह्रदयघात भएको र नर्भिक हस्पिटलमा पु¥याईएको खबर सुनाए। म आत्तिए र युवराज चौलागाईलाई उठाए र खबर सुनाएँ। उहाँलाई पनि मलाई झैं यो खबर पत्याउन कठिन भयो। काठमाडौंमा अरु श्रोतहरुबाट खबरको आधिकारिकता बुझ्ने प्रयास थाल्यौं । क्षणभरमै फेसबुकका भित्ताहरु रंगीईसकेका थिए। अनलाईन र टेलीभिजनको ब्रेकिङ न्युज प्रकाश दाहाल रहेनन, अल विदा प्रकाश दाहाल, समाचारको स्क्रीनबाट आँखा निकालें, आफुलाई सम्हाल्न गाह्रो भयो । बाथरुम पसें। युवराज जी पनि मसँग बोल्न नसकेर एकोहोरो बन्नु भएको थियो।
फेसबुकमा एउटा स्टाटस लेखें। शब्द धेरै व्यक्त गर्न सकिनँ। आयोजकलाई भनेर काठमाडौं फिर्ता हुने टिकट खोज्न लगायौं, भेटिएन। आफैले काठमाडौंमा सम्पर्क ग¥यौं, संभव भएन। एसपीबिका कमरेडहरुको योजना अनुसार उक्त औपचारिक कार्यक्रममै कमरेड प्रकाशप्रति श्रद्धाञ्जली अर्पण गरियो। हामी गंभीर शोक र पीडासहित भौतिक रुपमा ढाकाको कार्यक्रम हलमा थियौं तर सम्पुर्ण दृष्टि नर्भिक हस्पिटल, पेरिसडाँडा र पशुपति आर्यघाटमा केन्द्रीत भैरह्यो। साथीहरु शोकसागरको दृष्य लाइभ गरिरहेका थिए, मोबाईलको स्क्रिनमा हेर्न कठिन थियो। ढाकाको कार्यक्रम हलमा बगेको शोकाँश्रु आज सम्झँदा पनि सम्हालिन गाह्रो हुन्छ।
हामी माझबाट प्रिय कमरेड साकार दाहाल प्रकाश भौतिक रूपमा विदा भएको पनि एक बर्ष पुरा भैसकेको छ। उनको अनुपस्थितिमा आज जति पनि राजनैतिक परिवर्तन भएका छन, उनको यो सपना थियो, जुन उनले आफ्नै आँखा अगाडि देख्न पाएनन। सायद आज प्रकाश भएको भए, एकताको यो प्रक्रियाले अलि बढि गति लिन्थ्यो होला। नेताहरुबिचमा संवादको वातावरण अझ बढि सहज र सरल हुन्थ्यो होला। पार्टी कार्यालय र अध्यक्षको सचिवालयको काममा बढि सहजता र सरलता हुन्थ्यो होला। नेतृत्वको पारिवारिक तनावको त कुरै नगरौं, एक सबल योद्धा, जिम्मेवार सदस्य, एक जिम्मेवार बाबु, श्रीमान, पारिवारीक दायीत्व काँधमा बोकेको छोरा, भातृत्वको भावना र मातृत्वको मुटुको टुक्रा जसको अभावमा अध्यक्षको परिवार कसरी गुज्रिरहेको छ मसँग व्यक्त गर्ने कुनै शब्द छैन। यो क्षति वर्तमानको भोगाई मात्र होइन, कम्युनिष्ट आन्दोलनमा भविष्यको यात्रामा भएको एक महशुस गर्न सकिने धक्का हो।
उनले मलाई सम्बोधन गर्दा सधैं दाई भनेर शुरु गर्थे। दाई तपाई कता हो ? के छ सिंहदरबारतिर ? बुवाले कुरा गर्न खोज्नु भएको छ? विद्यार्थीको के छ? निर्वाचनमा त्यहाँ के हुन्छ ? ल बुवासँग कुरा गर्नुस रे ? दाई ल आईहाल्नुस त बुवाले खोज्नु भएको छ। लगायतका विभिन्न संवाद मात्र होइन, “दाई अब हाम्रो अगाडि अन्तिम अवसर छ कि गर या मर । यसपालि त जस्तोसुकै चुनौती सामना गरेर हामी सफल हुनै पर्छ । यो पार्टीको लागि, नेतृत्वको लागि र हाम्रो वर्गको लागि पुन लयमा फर्कने अवसर हुन सक्छ। व्यक्तिगत चाहनाहरुलाई फेरी एकपटक सुलीमा नचढाई सफल बनिदैन दाई।” एक परिपक्व राजनैतिक कार्यकर्ताको रुपमा उनको प्रस्तुती कम मुल्यवान थिएन। विद्यार्थी संगठनको मुल नेतृत्वको टिममा आएपछि र मुलतः संगठनको मुख्य नेतृत्व सम्हाले पछि अध्यक्ष र उहाँको सचिवालयसँगको सम्वन्धमा बढि निकट भएँ। विद्यार्थी मोर्चाको अध्यक्षबाट विदाई भएको सातौंदिन मात्र वितेको थियो, कमरेड अध्यक्ष देशको प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुग्नु भयो। प्रधानमन्त्रीको यो चुनौतीपुर्ण यात्राको एक सदस्य भएर जिम्मेवारी सम्हाल्ने अवसरकै सिलसिलामा कमरेड प्रकाशसँग बढि निकट रहेर काम गर्ने अवसर जुटेको हो।
कमरेड प्रकाश सामान्य परिवारमा जन्मे, संघर्षपुर्ण आँधिमय दिनहरू छिचोल्दै आफुलाई आमुल परिवर्तनको क्रान्तिकारी अभियानको सारथी बनाए। सर्वहारा हेडक्वार्टरको रक्षार्थ व्यक्तिगत जीवनलाई तिलाञ्जली दिए । पार्टीभित्र र बाहिरका सबै खाले गलत प्रवृतिसँग चनाखो भएर संर्घषमा खरो उत्रिए। मान्छे हुनुको नाता उनले कतिपय मानविय कम्जोरीका बाबजुद ती कम्जोरीबाट सबक सिक्दै अघि बढेका थिए। जतिबेला उनी हाम्राबीचबाट अस्ताए, म दावाकासाथ भन्न सक्छु, उनी समान्य मान्छे मात्र थिएनन। उनीसँग जीवन र जगतलाई बुझ्ने र बदल्ने नयाँ चेत र जाँगर थियो । त्यसलाई समायोजन गर्ने कौशलता थियो। समाजका विभिन्न अवयवहरुसँगको उनको घुलनशिलता मुलतः युवाहरुबिचमा उनको उपस्थिति एक उदीयमान विम्ब बनेर खडा हुदै थियो। उनी अध्यक्षको पारिवारीक जीवनमा मात्र होइन राजनैतिक जीवनमा समेत सारथीको रुपमा खडा हुदै थिए । उनका जीवनका झाँकीबारे यहाँ धेरै भनिरहनु पर्देन होला।
जब म प्रधानमन्त्रीको टिममा रहेर काम गरिरहेको थिए । प्रधानमन्त्री दोश्रोपटक भएपनि हाम्रो टिम भने पहिलो पटकको र काचै थियो । हामी सबै सिकारु नै थियौं । हामीले सहज कार्यविभाजन ग¥यौं। देशलाई नयाँ सन्देश दिनु थियो, विश्वासको । राजनीतिका थुप्रै प्रश्नहरुको काम गरेर उत्तर दिनु थियो । कार्यविभाजन अनुसारको काम गर्ने मियो प्रकाश नै बन्न पुगे । रातदिन नभनि प्रधानमन्त्रीसँग साथमा रहेर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्वन्धका मुद्धाहरु डिल गर्नुपर्ने काम चानचुने थिएन। सायद प्रकाश जी नभएको भए व्यवहारिक कोणबाट हेर्दा यो सम्भव थिएन । उनले नै यो सब भुमीका पुरा गरे । विभिन्न कवच लिएर गलत मनसायका साथ प्रधानमन्त्री कार्यालय वा निवासमा छिर्ने मान्छेको कमि थिएन । त्यसबाट प्रधानमन्त्री र उनको टिमलाई बचाउने कुरा पनि चानचुने विषय थिएन । आफ्नै नजिकका देखि पहुँचवाला राजनैतिक नेतृत्व किन नहुन त्यस्तो मनसाय छ भन्ने आँकलन गरि ढोकाबन्दको नीति अख्तियार गर्ने कुरामा प्रकाश कठोर बन्न तयार भए । प्रकाश आफै भन्थे, “विचौलियाको विगविगी भएको आजको समाजमा विचौलियाहरु पहुँचवाला नेतृत्व र आफन्तको फुर्को समातेर भित्र पस्न खोज्छन, चनाखो हुनुपर्छ, यीनले हामीलाई डुबाउँछन ।” यो उनको राजनैतिक परिपक्वताको द्योतक थियो ।
पत्रकारिता क्षेत्र कुनै बेला उनको कटु आलोचक थियो । प्रधानमन्त्री कार्यालयमा हुँदा धेरैले त्यो सम्बन्ध प्रधानमन्त्रीको लागि बाधा बन्छ कि भन्ने आशंका गरेका थिए । तर हामीले धेरै समय कुर्न परेन । उनको सहज सम्बन्ध सञ्चालनको प्लेटफर्ममा देशका ठुला मिडिया देखि श्रमजीवी पत्रकारहरुको समुह केन्द्रीत भई रचनात्मक सहयोगको मोर्चामा उभियो । सत्तापक्ष देखि प्रतिपक्षसम्मका उच्चस्तरिय नेतृत्व देखि देशका विद्धत वर्गको सहज सुचना आदान प्रदान र सम्बन्ध सञ्चालनमा उनी धेरै काविल देखिए । परराष्ट्र सम्वन्ध संचालनमा पनि उनले आफ्नो बुवा र देशको प्रधानमन्त्रीलाई राम्रो साथ र हात दिए । तसर्थ मैले कमरेड प्रकाशको बारेमा मेरो पुस्तक छिमेक यात्रामा उल्लेख गरेको छु कि, “उनी नभएको भए हाम्रो सचिवालय र प्रधानमन्त्रीको सफलतामा धेरै ठुलो अभाव रहन्थ्यो होला । ” आज उनी छैनन र हामीलाई त्यही अभाव खड्कीरहेको छ। बुवाको सहयोगी मात्र होइन सल्लाहकारको भुमीकामा उठी सकेको एक जिम्मेवार कमरेडको अभाव पार्टी अध्यक्षकोमा पक्कै होला । यसलाई पुरा गर्न भएका साथीहरु सफल हुनुहुनेछ । उनका योगदानबाट हामीले सिक्नेछौं, यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
२०७५ मंसीर ३ गते, काठमाडौं