कमरेड आक्रोशसँगको अन्तिम भेट
एक निर्भिक कमाण्डर, जसले कहिल्यै चिप्लो दलेर कुरा गर्न जानेन। हो भने हो, होइन भने होइन।
एक कुशल कमाण्डर, जसले कुनै लडाईबाट पनि हारेर फर्किन मानेन। उसले जहाँ लड्न गयो, जितेर आयो। उसले अन्तिम लडाईं पनि वीरतापूर्वक लड्यो। लडाईं जित्यो र जित्यो मृत्युलाई पनि।
प्रिय कमरेड राजेन्द्र बुढाथोकी (आक्रोश)– लाल सलाम!
आजभन्दा १८ बर्ष पहिले दाङ सतबरियाको सशस्त्र प्रहरी वेसक्याम्पको लडाईंमा शहादत प्राप्त गर्ने कमरेड आक्रोश (शिवरथ काँरागाउँ) सँगको अन्तिम भेटको स्मरण गर्दै उहाँसँगै उक्त मोर्चामा शहादत प्राप्त गर्ने बहिनी शारदा चन्द ‘अर्जुना’ भल्चौर–तकमारा, हिरा पुन ‘लक्ष्मी’ मुलखोला–काफलपानी, उदय रावत डाडाँगाउँ–स्याला, प्रेमबहादुर यरी ‘पवित्र’ कुपिण्डे–स्वारा, डम्बर विक ‘समय’ झिम्पे–रोक्चा लगायत सम्पूर्ण वीर सहिदहरुप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण सहिद परिवारमा उच्च सम्मान तथा समवेदना प्रकट गर्दछु।
बल्ल तिहार कि मल्ल तिहार?
२०५८ मङ्सिर १ गते तिहारको चौथो दिन परेको थियो। त्यो दिन गोर्वद्धन पुजा अर्थात् गोरु पुजा थियो। हाम्रोतिर गोरु तिहारलाई बल्ल तिहार पनि भनिन्छ। शिक्षक नेता रत्नबहादुर वली सरले “आज बल्ल होइन, मल्ल तिहार पो भयो” भन्नुभयो। भावमय वातावरण एकछिन हाँसोको फोहोरामा बदलियो। हामी एक हल मल्ल (रमेश मल्ल र रमेश कुमार मल्ल) लाई अखिल (क्रान्तिकारी) सल्यानले अविर माला लगाएर बिदाई गर्न गइरहेको थियो। उक्त बिदाई समारोह साँच्चै भावमय थियो। सल्यान बाँझकाडाको धानटाकुराबाट हामी बिदाईको हात हल्लाउँदै अगाडि बढ्यौं।
हुन त मैले सल्यान छोडेको आठ महिना भइसकेको थियो। पार्टीको अग्रगामी छलाङको योजनामा आधारित अग्रगामी कदम अभियान अगाडि बढेको थियो। नेकपा (माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलनको कार्यदिशा अनुरुप तयार गरिएको उक्त अभियानले पश्चिम पश्चिम फर्क, पूर्व पूर्व फर्क भनेको थियो। त्यसको उद्देश्य माओवादी आन्दोलनलाई देशव्यापी विस्तार गर्ने रहेको थियो।
मैले उपाध्यक्ष रमेश कुमार मल्ल ‘आशिष’लाई अखिल (क्रान्तिकारी) सल्यानको कार्यवाहक अध्यक्ष सुम्पिएर सुदूरपश्चिमको अभियानमा २०५७ चैत्र अन्तिम साता नै निस्किसकेको थिएँ।
शुरुमा तीन महिना भनेको उक्त अभियान पछि तीन महिना थपियो। यहीँ बीचमा देशमा कुख्यात दरबार हत्याकाण्ड भयो। जेठ १९ पछि राजा भएका ज्ञानेन्द्र शाहले शक्ति सञ्चयको उद्देश्य राखेर आफ्ना कारिन्दा शेरबहादुर देउवामार्फत् वार्ताको तुरुप फाले। माओवादीले पनि दोश्रो राष्ट्रिय सम्मेलनबाट गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधानसभाको चुनावको राजनैतिक कार्यनीति अघि सारेको थियो। देशमा युद्धविरामको अवस्था सिर्जना भयो। यो बीचमा हामीले सुदूरपश्चिममा केही शक्ति केन्द्रीत गरेर सबै जिल्लामा संगठन विस्तार, भेला तथा सम्मेलनका कार्यक्रम आयोजना ग¥यौं। यता सल्यानमा पनि साथीहरुले २०५८ भाद्र २७ र २८ गते जिल्ला भेला गरि उपाध्यक्ष रमेश कुमार मल्ललाई अध्यक्ष बनाई संगठन पुनर्गठनको काम गर्नुभयो।
काठमाडौंबाट विराटनगर पुगेको विद्यार्थी सम्मेलन
शान्ति प्रक्रियाका बीचमा देशव्यापी रुपमा माओवादीको पक्षमा जनलहर देखा प¥यो। राजा र संसदीय दलहरुप्रतिको जनताको असन्तोष र आक्रोश माओवादीको एजेण्डातर्फ सोझियो। यो अवस्था देखेर सरकार अत्तालियो। असोज १ गते उद्घाटन गर्न तयार अखिल (क्रान्तिकारी)को एकताको १५ औं राष्ट्रिय सम्मेलनका विरुद्ध सरकारले काठमाडौंमा निषेधाज्ञा जारी ग¥यो। हामी सुदूरपश्चिमबाट अनेक बाधा अबरोध छिचोल्दै विराटनगर पुग्यौं।
२०५८ असोज ८ देखि १२ गतेसम्म राष्ट्रिय सम्मेलन पूर्वाञ्चलको सुन्दर नगरी विराटनगरमा भव्यतापूर्वक सम्पन्न भयो। सम्मेलनको उद्घाटन तत्कालीन माओवादी वार्ता टोली संयोजक कृष्णबहादुर महराले गर्नुभयो। वार्ता टोली सदस्यहरु अग्नि सापकोटा र टोपबहादुर रायमाझीले पनि उक्त सम्मेलनलाई सम्बोधन गर्नुभयो।
तत्कालीन अनेरास्ववियूबाट कमरेड कृष्ण केसीको नेतृत्वमा हिमाल शर्मा लगायत हजारौं नेता कार्यकर्ताले विद्रोह गरि अखिल (क्रान्तिकारी)को झण्डामुनि गोलबन्द हुनुले पनि त्यतिबेला माओवादी आन्दोलनप्रतिको जनआकर्षणलाई स्पष्ट गर्दछ। बैठकपछि ललितपुरको हात्तीवनमा बसेको केन्द्रीय समितिको बैठकसम्म आउँदा देश कता जाँदैछ भन्ने चित्र स्पष्ट भइसकेको थियो। प्रतिक्रियावादीहरु संविधानसभाको सट्टा माओवादीलाई दमन गर्ने र आत्मसमर्पण गराउने दाउमा लागेका थिए।
हामीलगत्तै पश्चिम कमाण्डको भेला तथा प्रशिक्षणको लागि दाङमा केन्द्रीत भयौं। जनमुक्ति सेनाको सुरक्षा र व्यवस्थापनमा उक्त भेला सम्पन्न भयो। कमरेड कमल पुन दाङबाट अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य हुनुहुन्थ्यो, उहाँ तत्कालीन जनमुक्ति सेनाका कमाण्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को भाई हुनुहुन्थ्यो। उहाँले पार्टी तथा जनमुक्ति सेनासँग कार्यक्रम व्यवस्थापनको समन्वय गर्नुभएको थियो। उहाँ पछि बेपत्ता पारिनुभयो। सम्मेलन सकिएपछि देउखुरी उपत्यकातर्फ झर्दै गर्दा लमहीको उत्तरी चुरे पर्वतमालामा अध्यक्ष देवेन्द्र पराजुली र महासचिव पूर्ण पौडेलसँग बिदाईका हात हल्लाउँदै छुट्टियौं। पूर्ण दाईसँग छुट्टिएको अहिले भर्खरै जस्तो लाग्छ, काठमाडौं फर्किएपछि उहाँ वेपत्ता पारिनुभयो। त्यसपछि हाम्रो भेट कहिल्यै हुन पाएन।
सेती महाकाली नै मेरो कर्मथलो बन्यो
कमरेड जनम बराललगायतका हामी साथीहरु कैलालीतर्फ लाग्यौं। पार्टीको सेती महाकाली उपक्षेत्रीय व्युरोको प्रशिक्षणमा सहभागी भयौं। सम्मेलनपछि कमरेड जनम बराल अखिल (क्रान्तिकारी) सेती महाकाली (सेम) क्षेत्रको संयोजक भएर जानुभएको थियो। म पनि अब सुदूरपश्चिममा अभियानकर्मी थिइँन। केन्द्रीय समितिले मेरो कार्यक्षेत्र पनि सेती महाकाली क्षेत्र तोकिसकेको थियो। घर परिवार, सल्यानको पार्टी र संगठन छोडेर गएको आठ महिना बितिसकेको थियो। देश अर्को भीषण युद्धमा जाने निश्चितप्रायः थियो। तसर्थ मैले पार्टी क्षेत्रीय ब्युरो कार्यालय र संगठनका संयोजक जनम बरालसँग घर भेटघाटको लागि बिदा मागें र सल्यानतिर लागें।
म छोटो समय लिएर सल्यान आएको थिएँ। आमा बुवा, जीवनसाथी अञ्जनालगायत परिवारसँग भेटें। दाजु, दुई जना भाई, अञ्जनासहित सबै पार्टीका पूर्णकालीन कार्यकर्ता थिए। आगामी युद्धको आवश्यकताले बलिदानको कोटा चुक्ता गर्न परे हामी जो कोही पनि तयार हुनुपर्दछ भन्दै परिवारमा छलफल भयो र विद्यार्थी जिल्ला समिति बैठकको निम्तोमा बाँझकाँडा धानटाकुरातिर प्रस्थान गरें।
राष्ट्रिय सम्मेलनमा नेतृत्व निर्माणको प्रक्रियाले जिल्लामा केही असन्तुलन पैदा गरेको थियो। महिला नेतृत्व विकासको लागि उपाध्यक्ष सुम्निमा डिसीलाई केन्द्रीय समितिमा ल्याइयो तर अध्यक्ष रमेश ‘आशिष’जी आउनुभएन। त्यसले जिल्लामा गोलमाल सिर्जना भैसकेको रहेछ, जुन स्वभाविक पनि थियो। हामीले साथीहरुलाई सम्झाउने प्रयास ग¥यौं। अध्यक्ष रमेश कुमार मल्ल ‘आशिष’ले राजीनामा पेश गर्दै अब उप्रान्त पार्टीको जिम्मामा गएर क्रान्तिको सेवामा निरन्तर लाग्ने कुरा गर्नुभयो। उहाँको राजिनामा अनुमोदन गर्दै बैठकले उपाध्यक्ष सुम्निमा डिसीलाई नै संयोजक बनाउने निर्णय ग¥यो।
लडाईंमा कमरेड आक्रोश घाइते हुनुभएछ। उहाँलाई स्वास्थ्य केन्द्रमा ल्याइएछ। स्वास्थ्यकर्मी साथीहरु भन्छन्, “हातमा गोली लागेकोले ब्याण्डेज गरेर आराम गर्न भन्यौं तर उहाँले मान्नुभएन र पुनः बाँधेको हात झुण्डाएर अर्को हातले पिस्तोल बोकी लडाईंको मोर्चामा जानुभयो र फर्किनु भएन।”
परिवार र संगठनबाट विदा लिएर हिड्दा मनमा चैन थिएन। अर्कोतर्फ नयाँ जिम्मेवारीसहित आउँदो आँधीहुरीमा आफूलाई कसरी सतिसालझैं खडा गर्ने भन्ने चुनौती पनि थिए। रमेश जी ढोरचौरसम्म बिदाईमा साथ दिन आउनुभयो र बिदा हुनुभयो। मसँग भने एकजना रहरलाग्दो युवा तिलकराज भण्डारी बैठक छोडेर दाङसम्म पु¥याउन आउनुभएको थियो। उहाँका नयाँ नयाँ जिज्ञाशा, प्रश्न र तर्कशीलताले मलाई दाङसम्म पुग्नलाई एक्लोपन महसुस हुन त दिनुभएन नै अझ उद्देलित पनि बनाइराख्नु भयो। मैले त्यतिबेलै यो मान्छे एउटा सम्भावना भएको युवा हो है भन्ने ठम्याएको थिएँ। उहाँ अहिले पनि विद्यार्थी आन्दोलनको शीर्ष तहमा काम गरिरहनुभएको छ। हामी मंसिर १ गते साँझ नै बस चढेर तुल्सीपुर आइपुग्यौं।
तुल्सीपुरमा आक्रोशसँगको भएको भेट नै अन्तिम भयो
शिवरथका पुनबन्धुले सञ्चालन गरेको होटेल दाङ भ्याली पुग्दा झिसमिसे साँझ परिसकेको थियो। हामीसँग होटेलमा कमरेड राजेन्द्र बुढाथोकी ‘आक्रोश’सँग भेट भयो। उहाँ, उहाँसँग भएका अर्का कमाण्डर, म र तिलक जी भएर लामो गफगाफ ग¥यौं। उहाँहरु पनि त्यही होटेलमा बस्नुभयो। कमरेड आक्रोश मेरो मनपर्ने कमाण्डर हुन्। यसको एउटा कारण मेरो दाजु र उहाँ लामो समयसम्म एउटै फर्मेशनमा रहेर काम गर्नुभयो। उहाँहरुसँग बेलाबखत भेट भइरहन्थ्यो। जतिबेला लालसेनाले आफ्ना तीनवटा प्लाटुनको फर्मेशन बनायो, त्यतिबेला एक नम्बर प्लाटुन रोल्पा, दुई नम्बर प्लाटुन रुकुम र तीन नम्बर प्लाटुन जाजरकोटमा नियमित सेनाको रुपमा काम गर्थे। सल्यानबाट भने जाजरकोट कार्यक्षेत्र लिएको प्लाटुनमा एक सेक्सन टिम पठाइएको थियो।
उक्त सेक्सनका कमाण्डर कमरेड संग्राम हुनुहुन्थ्यो। उहाँ २०५६ माघमा भएको सल्यानको रामपुर इप्रका कार्बाहीमा घाइते हुनुभयो र २०५९ बैसाख १९ गते भारतको पञ्जाबको एक अस्पतालमा उपचारकै सिलसिलामा सहिद हुनुभयो। सल्यान दमाचौरमा जन्मिनुभएका संग्राम एक साहसी कमाण्डर हुनुहुन्थ्यो। सदस्यहरुमा कमरेड आकाश (कैलालीमा सहिद), कमरेड आक्रोश, कमरेड संघर्ष (दाई), कमरेड प्रभात, कमरेड अजय, कमरेड कुबेर, कमरेड कमानसिंह र कमरेड सेवासिंह हुनुहुन्थ्यो।
कमरेड आक्रोशले त्यतिबेलादेखिका थुप्रै फौजी मोर्चाबारे कुरा गर्नुभयो। सुदूरपश्चिममा माओवादी आन्दोलनको विस्तारबारे कुरा गर्दा उहाँ खुबै खुशी हुनुभयो। कमरेड आकाशको प्रसंगमा भने उहाँले बडो दुःख व्यक्त गर्नुभयो। हामीले धेरै राम्रो कमाण्डर गुमायौं भन्दै कसरी कमाण्डर मात्र सहिद बने भन्ने चासो पनि राख्नुभयो। मैले बिस्तारमा भनें। कमरेड आकाश सेती महाकाली क्षेत्रमा बनेको पहिलो प्लाटुनको कमाण्डर हो। फर्मेशन गठन गरेर तालिम सकेपछिको पहिलो कार्बाही नै ०५८ जेठ १६ को लालबोझी कार्बाही थियो। पहाडी भुगोलमा जन्मे हुर्केको र लडेको कमाण्डरलाई तराईको पनि सिमाक्षेत्रमा दिउँसो नै आक्रमण गर्ने लडाईंको कमाण्ड गर्नु जोखिम नै थियो। तैपनि उहाँले लडाईं त जिताउनु भयो तर आफु रहनुभएन । हतियार बुझाउँछु भनेर हात उठाएको दुश्मनले गोली दाग्छ भन्ने उहाँले सोच्न पनि पाउनु भएन। उहाँ चौकीको झ्याल नजिक पुग्दा उसले टाउकोमै फायर गरेको रहेछ।
त्यसपछि आक्रोशले आकाशको बारेमा केही कुरा थप्नु भयो। हामी लडाकु दलदेखि नै सँगै काम ग¥यौं, थुप्रै लडाईंहरु सँगै लड्यौं। एक कुशल कमाण्डर हुनुहुन्थ्यो। रुकुमकोटको लडाईंमा सँगै लडेर हामी फर्किएका थियौं। कमरेड भुपेन्द्रप्रकाश गिरी ‘सर्वजित’ (मेरो काका) लगायत ८ जना साथीहरु रुकुमकोटमा सहिद हुनुभयो। त्यस लगत्तै आकाश र सुरेश पश्चिम जानुभएको हो। आकाश सहिद भैसक्नु भयो। तपाईंहरु सुरक्षा सतर्कतालाई ख्याल गर्दै काम गर्नुहोला। हामी पनि यता ठूलै तयारीमा छौं। तपाई अब खबर उतै सुन्नुहुन्छ भनेर उहाँले कुरा टुङ्ग्याउनु भएको थियो।
त्यसपछि हाम्रो बीचमा भेट हुन पाएन। उहाँसँगको भेट सहिदको सूचीमा र तस्बीरमा हुन्छ। भेट हुन्छ त केवल स्मृतिमा, भावनामा र अजम्बरी सपनामा। ती पराक्रमी कमाण्डरहरुको वीरताको इतिहास भनिरहन मन लाग्छ, लेखिरहन मन लाग्छ र कलम समाउने प्रयत्न गरिरहेको छु।
दाङ आक्रमणः शाही सत्ताको दुस्वप्नमाथि धावा
हामी मङ्सिर २ गते दाङबाट छुट्टियौं। आक्रोश लगायतका कमरेडहरु आफ्नो काममा निस्कनु भयो। तिलकजीले मलाई धनगढी जानका लागि कोहलपुरसम्म जाने गाडीमा चढाउनुभयो र हात हल्लाउनु भयो। त्यसपछि मात्र बिदा भएको अनुभूति भयो। सडकमा गाडी गुडिरह्यो, भावनाका तरङ्गहरु छाल बनेर उर्लिरहे। निरन्तर जारी रह्यो पश्चिम नेपालको यात्रा।
पार्टी ब्यूरो इन्चार्ज कमरेड जनार्दन शर्मा ‘प्रभाकर’को सम्पर्कमा कैलाली पुगें। आसन्न परिस्थितिको सामना गर्ने पूर्वतयारीमा पार्टीका सबै कमरेडहरु लागिरहनुभएको थियो। हामी पनि लाग्यौं। मेरो कार्यक्षेत्र कञ्चनपुर– डडेल्धुरा थियो। त्यहाँ पुग्दा नपुग्दै दाङ, स्याङ्जा र सोलुमा जनमुक्ति सेनाले भीषण हमला ग¥यो। घोराही व्यारेक हमलामा जनमुक्ति सेनालाई ठूलो सफलता मिल्यो। यो शाही सेनामाथिको पहिलो माओवादी आक्रमण थियो। यो आक्रमण माओवादी समाप्त गर्ने रणनीतिको रुपमा वार्तालाई उपयोग गरिरहेको ज्ञानेन्द्र शाहीको दुस्वप्न माथिको प्रहार थियो। अब भने शाही सत्ता र माओवादी बीचको युद्ध आमनेसामने भैसकेको थियो।
दाङ आक्रमणमा जनमुक्ति सेनाका लालजोडी सपना र विजोगको शहादत भएछ। ८ जनाको क्षति भएको उक्त लडाईंमा सल्यानका मात्र तीन जना सहिद हुनुभएछ। मेरो गाउँको प्रिय भाई झक्कुप्रकाश थापा ‘विकल्प’, भल्चौर पुखातका तिलक चन्द ‘सागर’ र झिम्पे हारिचौरका खिमबहादुर बुढा ‘विजय’ सहिद भएको खबर केही समयपछि सल्यानबाट गणेश शाही प्रतीकले पठाएको पत्रबाट जानकारी पाएँ। उक्त पत्रमा मंसिर २४ को कपुरकोट आक्रमणमा मेरा बालसखा प्लाटुन कमाण्डर ददिराम बुढाथोकी ‘पूर्णिमा’, ढाकाडामका ज्ञानबहादुर केसी ‘जागृति’, बामेका खलबहादुर बुढाथोकी ‘बारुण’ र कालागाउँ कौछेका लिलाधर केसी ‘प्रदीप’को शहादत भएको पीडादायी खबर प्राप्त भयो।
२०५८ मंसिर २३ गते नै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा सेती महाकालीका संयोजक जनम बराल, पूर्वकेन्द्रीय सदस्य तथा पार्टी नेता लेखनाथ पौडेललगायतका १० जना कमरेडहरुको कैलाली बेलादेवीपुर- ३, सेहेरीमा खाना खाइरहेको बेला शाही सेनाद्वारा नियन्त्रणमा लिई विभत्स ढंगले हत्या गरिएछ। सल्यान जाने बेला बिदा भएपछि कमरेड जनम बरालसँग पनि फेरि भेट हुन पाएन। उहाँले सेती महाकालीको अखिल (क्रान्तिकारी) को झोला मेरो काँधमा सुम्पिएर बिदा हुनुभयो।
युद्धमोर्चामा जनयुद्धको बार्षिकोत्सव
शाही सत्ताले देशमा संकटकाल घोषणा गरेर माओवादीलाई समाप्त पार्ने अभियान शुरु गरेको थियो। सरकारले देशव्यापी झुठा मुठभेडको नाममा आम जनहत्या र श्वेतआतङ्क मच्चाइरहेको थियो। त्यसको प्रतिरोधमा जनयुद्धको बार्षिकोत्सवको अवसर पारी अछाम सदरमुकाम मंगलसेनमा फागुन ४ गते जनमुक्ति सेनाले भीषण आक्रमण गरि शाही सेनाको ब्यारेकसहित सदरमुकाम कब्जामा लियो। थुप्रै सरकारी सुरक्षाकर्मीलाई युद्धबन्दी बनाइयो। यता फागुन ९ गते विवेक, आकर्षण, आक्रोशलगायतका कमाण्डरहरुको कमाण्डमा सल्यानको शीतलपाटी प्रहरी चौकी जनमुक्ति सेनाले कब्जामा लियो। सेती महाकाली र भेरी कर्णालीतिर केन्द्रीत भएको शाही सत्ताको ध्यानलाई बिकेन्द्रीत गर्न उक्त कार्बाही सफल भयो। सल्यान शीतलपाटीको फौजी कार्बाहीमा सल्यान कालागाउँकै कमरेड चेतनाको शहादत भएछ।
२०५८ चैत्र २९ गते आजकै दिन जनमुक्ति सेनाले दाङको सतबरिया र लमहीको सशस्त्र प्रहरी वेसक्याम्पमा आक्रमण ग¥यो। सतवरियाको वेस क्याम्प काँग्रेस नेता खुमबहादुर खड्काको घरको आँगन परिसरमै खडा गरिएको थियो। उक्त लडाईंमा कमरेड आक्रोश घाइते हुनुभएछ। उहाँलाई स्वास्थ्य केन्द्रमा ल्याइएछ। स्वास्थ्यकर्मी साथीहरु भन्छन्, “हातमा गोली लागेकोले ब्याण्डेज गरेर आराम गर्न भन्यौं तर उहाँले मान्नुभएन र पुनः बाँधेको हात झुण्डाएर अर्को हातले पिस्तोल बोकी लडाईंको मोर्चामा जानुभयो र फर्किनु भएन।”
कमरेड विवेक र संघर्षका अनुसार युद्धमा पुगेपछि हरेक कमाण्डरलाई युद्धमा जित्नुपर्ने दबाब त अवश्य हुन्छ नै तर उहाँसँग जुन इच्छाशक्ति थियो, त्यो अभूतपूर्व नै थियो। उहाँलाई नजिकबाट बुझ्नेहरु भन्छन्, जनमुक्ति सेनाको फर्मेशन अपग्रेडको क्रममा भएको निर्णयले उहाँलाई कहीँ न कहीँ छोएको थियो रे। आजका दिनमा पनि यस्ता घटना त दोहोरिइरहेका छन्। तर युद्धकालको संवेदनशीलता नै फरक हुन्थ्यो। उहाँले साथीहरुसँग अब कमाण्डरको विश्वास जित्न सहिद नै हुने त होला भनेको कुरा बडो विचारणीय रहेको छ।
फेरि पनि कमरेड आक्रोशले दाङ भ्यालीमा भनेका शब्दहरु अहिले पनि मेरो मानस्पटलमा प्रतिध्वनित भइरहन्छन्। हामी आज पनि सकुशल छौं तर उहाँ सहिदको लाममा लामबद्ध भइसक्नुभएको छ। क्रान्तिमा बलिदानको लागि प्रेरित गर्ने त्यो वर्गप्रेम धर्मराउने त हैन भन्ने चिन्ता लागिरहन्छ। हामीसँग सहिदको रगतले निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र छ। देशलाई समाजवादको बाटोमा हिडाउने सपना पनि छ। बहुसंख्यक जनताको साथ र समर्थन पनि छ। मात्रै हाम्रो इमान्दारितामा इतिहासले पटक पटक परीक्षा लिइरहेको छ। सफलता र असफलता हाम्रा जीवन व्यवहारले नै निर्देशित गर्नेछन्। लरखराउने छुट भने हामी कसैलाई पनि छैन।
२९ चैत, २०७६