सुदूरपश्चिम अभियान र कमरेड आकाशसँग सहयात्राका अन्तिम दिनहरु
अग्रगामी कदम अभियान र सुदूरपश्चिम यात्रा
कमरेड आकाश अर्थात् मेरो अनन्य मित्र तथा आदरणीय कमरेड रुपलाल बोहरा । हामी बीचबाट सदाको लागि भौतिक बिछोडको करिब दुई दशक बितिसकेछ। हिजो जस्तै लाग्छ, जतिबेला हामी पाँच भाई सल्यानबाट सेती महाकालीको लागि प्रस्थान गर्दै थियौं, साँच्चिकै नौलो अनुभूति भइरहेको थियो।
२०५७ माघ २६ देखि फागुन १ गतेसम्म सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को दोश्रो राष्ट्रिय सम्मेलनले महामन्त्री कमरेड प्रचण्डद्वारा प्रस्तुत भएको “महान अग्रगामी छलाङः इतिहासको अपरिहार्य आवश्यकता” भन्ने शीर्षकमा एउटा ऐतिहासिक दस्तावेज पारित गरेको थियो। उक्त सम्मेलनले विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलन तथा जनयुद्धको पाँच बर्षका अनुभवको समीक्षा, क्रान्तिका परम्परागत रुसी र चिनियाँ मोडेलबाट माथि उठेर दीर्घकालीन जनयुद्ध र आम जनविद्रोह फ्युजनको कार्यदिशा विकसित मात्र गरेन, जनयुद्धको प्रकृयामा विकसित विचार श्रृंखलालाई “प्रचण्डपथ” को रुपमा संश्लेषण गर्यो।
सम्मेलनले महान अग्रगामी छलाङको पहिलो योजना कार्यान्वयनको अवधि एक बर्ष तोकेको थियो। योजनाको मुल नारा “आधार इलाका र स्थानीय सत्ताको सुदृढ र विस्तार गरौं, केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौं” थियो। यो नाराले जनयुद्धको आगामी योजनालाई अभिव्यक्त गर्दथ्यो। हामी पार्टीको यही योजनालाई कार्यान्वयन गर्न “पश्चिम पश्चिम फर्क र पूर्व पूर्व फर्क” भन्ने पार्टी निर्देशनलाई लागू गर्न पश्चिम कमाण्डको अग्रगामी कदम अभियान अन्र्तगत मुख्य आधारइलाकाको विशेष (राप्ती, लुम्बिनी र धौलागिरी) उपक्षेत्रीय ब्युरोबाट विस्तारको इलाका सेती महाकाली उपक्षेत्रीय ब्युरो अन्र्तगतको पार्टी काममा जाँदै थियौं।
पार्टीको सोही राष्ट्रिय सम्मेलनले सेती महाकाली उपक्षेत्रीय ब्युरो इन्चार्जमा जनार्दन शर्मा प्रभाकरलाई पठाएको रहेछ। उहाँसँग विशेष उपक्षेत्रीय ब्युरोको प्रशिक्षणमा भेट भयो। उहाँले आफू पश्चिम जाँदै गरेको र केही साथीहरु पश्चिम जाने योजना पनि रहेको बताउनु भयो। त्यसमा सल्यानबाट पनि केही कमरेडहरु जान सक्ने कुरा उहाँले बताउनु भयो। मैले उहाँलाई आफू सेती महाकालीमा अभियन्ता बनेर जान इच्छुक रहेको बताएँ। उहाँले सुदूरपश्चिम अभियानमा जानको लागि बलियो छाती र दरिलो खुट्टा, दरिलो छाती र दिमागमा प्रचण्डपथ आवश्यक सर्त भएको बताउनु भयो। मलाई आफूसँग उक्त योग्यता रहेको दावा गरे। हामी प्रशिक्षणबाट दाङसम्म सँगै झर्यौं। उहाँ दाङबाट पश्चिम लाग्नुभयो भने हामी भने सल्यानतिर उक्लियौं।
सल्यानमा जिल्ला पार्टीको बैठक आयोजना भएको थियो। बैठकमा पार्टी नेतृत्वबाट सेती महाकाली अभियानमा जाने प्रस्ताव पेश भएपश्चात् अरु कमरेडहरु अलमलजस्तै देखिनु भयो। मैले हात उठाएर “म सेती महाकाली अभियानमा जान इच्छुक रहेको जनाउ दिएँ। किनकि म मानसिक रुपमा तयार भैसकेको थिएँ। मेरो प्रस्तावलाई बैठकले अनुमोदन गर्यो। तत्पश्चात सल्यानबाट अभियानमा जाने अरु कमरेडहरुको नाम पनि टुङ्गो लाग्यो। हाम्रो टिममा जनमुक्ति सेनाको तर्फबाट कमरेड रुपलाल बोहरा (आकाश) र दिपक शाही (सुरेश) तथा जनकलाकारद्वय डिल्ली खड्का (बसन्त) र तर्कबहादुर नेपाली (संघर्ष) थिए। बालापनदेखि सँगै हुर्किएका साथीहरु अभियानमा सँगै सहभागी हुने निर्णयले मलाई खुसी र उत्साहित तुल्याएको थियो।
कमरेड आकाश र सुरेश इप्रका रुकुमकोटमाथि भएको जनसेनाको रेडमा सहभागी भएर सल्यान आइपुग्नुभयो। उक्त कार्बाहीमा एउटै प्लाटुनमा रहेर सँगैको आर्कमा लडिरहेको कमरेड भुपेन्द्र प्रकाश गिरी (सर्बजित)लाई छोडेर आएको कुराले उहाँहरु ज्यादै दुःखी हुनुहुन्थ्यो। सेती महाकाली जाने हतारोले गाउँघरतिरको भेटघाट पनि त्यति राम्रोसँग गर्न पाइनछ।
२०५७ साललाई बिदा गर्न दुई दिन बाँकी थिए। हामी सल्यानको बुँरासेबाट दाङको ओरालो झर्यौं। एकातिर पार्टीले लिएको महान अग्रगामी छलाङको स्प्रीडलाई चुम्ने हुटहुटी अर्कोतिर राप्तीको सेरोफेरोबाट टाढा र अपरिचित क्षेत्रमा पुग्दाको चुनौतीपुर्ण काल्पनिक चित्र बोकेर दाङ झरेका थियौं।
दामा दिदीको मार्गदर्शन
सल्यानको अन्तिम सिमानाको गाउँ सारपानी गर्पामा कमरेड दामा शर्मासँग भेट भयो। उहाँ पनि पश्चिम जाने तयारीमा भएको कुरा बताउनु भयो। उहाँ रुकुम (घर)सम्म पुगेर फर्किने कुरा गर्नुभयो। उहाँसँग भएका कुराकानीले हामीलाई सेती महाकालीको सामान्य भौगोलिक चित्र र हाम्रो आत्मगत अवस्थाबारे बुझ्न मद्दत गरेको थियो।
दामा दिदीले कैलालीमा आफ्नो जीवनसाथी कमरेड यज्ञश्वर शर्मा (बारुण)लाई गुमाउनु भयो। उहाँ आफैले सेम (सेतीमहाकाली)को क्रान्तिकारी आन्दोलनमा थुप्रै आँसु र पसिना बगाउनु भयो। उहाँसँग सुदूरपश्चिमका जीवन्त अनुभूतिहरु थिए।
यज्ञश्वर शर्माको पंक्तिमा नाम लेखाउने संकल्प
हामीलाई दाङको एक दिने बसाई नै नौलो थियो। जनतासँग अन्तरघुलनको लागि भाषिक ज्ञान अनिवार्य सर्त हो भन्ने कुरा हामीले दाङ पुगेपछि अनुभूति गर्यौं। हामीलाई एउटा थारु गाउँमा सेल्टरको व्यवस्था गरिएको थियो। त्यहाँको भाषिक कठिनाई हाम्रा लागि एउटा चुनौतीपूर्ण शिक्षा बनिसकेको थियो।
हामीले दाङ सेल्टरमा रहँदा केही छलफल गर्यौं । कमरेड आकाशले त्यतिबेलै भन्नुभएको थियो। “अपरिचित भूगोल, नयाँ जनता र तराईको फाँटमा हुने संघर्षको अनुभव आफैमा नयाँ र चुनौतीपूर्ण छ। तर हामी हारेर फर्किने छैनौं बरु कमरेड यज्ञश्वर शर्माको पंक्तिमा आफ्नो नाम लेखाउने छौं।”
हाम्रो त्यो छलफल भावमय थियो। हामी सबैले कमरेड आकाशलाई भन्यौं। सेम पुगेपछि हाम्रो जिम्मा कहाँ–कहाँ पर्छ थाहा छैन तथापि तपाई उमेर र अनुभवमा हामी सबैको अभिभावक जस्तै हो। यसलाई पनि एउटा जिम्मेवारी ठानिदिनु होला।
२०५८ बैसाख १ गते हामी कैलालीको लागि दाङबाट गाडी चढ्यौं। हामीसँग साथमा कम्मरमुनि लुकाएका तीन वटा डायरी र झोलामा एक–एक जोडा कपडाबाहेक अरु केही पनि थिएन। पूर्वपश्चिम राजमार्ग हुँदै हामी जति जति पश्चिमतिर हुँइकिदै थियौं त्यति नै घरपरिवार, बाआमा, जीवनसाथी र प्रिय कमरेडहरुको ममता यसैत्यसै उर्लिरहेको थियो। म लगायत हामी सबैका लागि यो नै सुदूरपश्चिम नेपालको पहिलो यात्रा थियो। हामीलाई एउटा गह्रुँगो जिम्मेवारीले थिचेजस्तो अनुभूति थियो।
गाडीमा एक अर्काका भावना साट्ने सम्भावना थिएन। प्रहरी पोष्ट र निकुञ्जभित्रका सेनाका चेकपोष्टमा पुग्दा शरिर भारी भएर आउँथ्यो। हामीले गाडीमा डायरी फेला परि हालेमा जिम्मा नलिने र यदि शंका गरेर केरकार गरिहालेमा एक अर्काबारे जानकारी नभएको बयान दिने सल्लाह गरिसकेका थियौं। बाटोमा थुप्रै चेकिङ भए पनि हामीले यात्रा सफलतापूर्वक पूरा गर्यौं।
कैलाली लम्की बजारमा झर्दा अँध्यारोले साम्राज्य फिंजाइसकेको थियो। हाम्रो सम्पर्क ढकाल बस्त्रालयमा भनिएको थियो। थप गन्तव्यको लागि हामीलाई एक जना गाइड प्राप्त भो। हामी त जता लियो उतै जाने भयौं तर हाम्रो रुट गाइडले दिशा भुल्नु भो। करिब आधा रात हिडेर धन्नै भारतको बोर्डर पुगिएछ। थोरै समय आराम गर्यौं। बिहानको झिसमिसेमा हामी कौवापुर पुग्यौं। कौवापुर, जहाँ आदरणीय कमरेड यज्ञश्वर शर्मा, भीम भाट लगायतका नेतृत्वलाई सेल्टरमा घेरा हाली नियन्त्रणमा लिएर क्रूरतापूर्वक हत्या गरिएको थियो। त्यही रक्तिम भूमिमा उभिएर सहिदको सपना पूरा गर्ने संकल्प गर्यौं। कैलालीको चुरे श्रृंखला सुँगुरखालको उकालो लाग्यौं। बिहानीको सिर्सिरे हावामा पश्चिम तराईको रमाइलो दृश्यावलोकन गर्दै चुरे श्रृंखला उक्लीरह्यौं। जुन चुरे त्यसयताका करीब आधा दशक कर्मभूमि बनेर रह्यो।
ओरेकोटको वक्षस्थलबाट विदाई हुँदा
पार्टीको सेती महाकाली उपक्षेत्रीय ब्युरोको प्रशिक्षण, प्लाटूनको तालिम तथा फर्मेशन घोषणाको कार्यक्रम चुरेको घाँटी नाँघेर ओरेकोट जङ्गलको वक्षस्थलमा रहेछ। हामी पुग्दा प्रशिक्षण कार्यक्रम शुरु हुनै लागेको थियो। तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेपछि सल्यानबाट गएका हामी पाँच जनाकै कार्यविभाजन भयो। हाम्रो टिम तीन भागमा बाँडिने भयो। रुपलाल बोहरा (आकाश) सेती महाकालीमा गठित जनमुक्ति सेनाको पहिलो प्लाटुन (१३ नम्बर प्लाटुन) को कमाण्डर चुनिनु भो। दिपक शाही (सुरेश) जिल्ला नम्बर २ (डडेल्धुरा, बैतडी, दार्चुला) को स्क्वाइड कमाण्डर नियुक्त हुनुभयो। उहाँ दुई जना सैन्य तालिमको लागि क्याम्पिङतिर लाग्नुभयो। पार्टी नेता कार्यकर्ताको उपस्थितिलाई हेरेर बसन्त र संघर्ष डडेल्धुराको पार्टी अभियानमा खटाइनु भयो। म अभियानमा जाँदा पार्टी जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) सल्यानको अध्यक्ष थिएँ। मलाई अभियानमा जाँदा कार्यक्षेत्र विद्यार्थी नै हुन्छ जस्तो लागेको थिएन तर आवश्यकताले पुनः विद्यार्थी मोर्चा सम्हाल्नुपर्ने भयो। विद्यार्थीको क्षेत्रीय टिम बनाई तत्कालीन संरचना अनुसार अछामबाहेक आठ वटा सुदूरपश्चिमका जिल्लामा अभियानात्मक रुपले अखिल (क्रान्तिकारी)को संगठन विस्तार, प्रशिक्षण र जिल्ला भेलाहरु गर्ने योजना बनायौं।
२०५८ बैसाख ५ गते बिहान कमरेड आकाश र सुरेशसँग संक्षिप्त छलफल गरि बिदाईका हात मिलायौं। एउटा गर्विलो जिम्मेवारी पूरा गरेर तीन महिनापछि अभियानको समीक्षामा भेट्ने वाचा थियो। आखिर त्यही बिदाई नै कमरेड आकाशसँगको अन्तिम बिदाई हुन पुग्यो।
अखिल (क्रान्तिकारी) कञ्चपुर जिल्ला समितिका अध्यक्ष शरदचन्द्र अवस्थी, कैलाली जिल्ला अध्यक्ष शिवराज ज्ञवाली, कञ्चनपुरका जिल्ला समिति सचिव जनक बुढासहित हामी चार जनाको टोलीले कञ्चनपुर र कैलालीमा विद्यार्थीको जिल्लास्तरिय प्रशिक्षण सम्पन्न गर्यो। चुरे नाघेर डडेल्धुराको भित्री मधेश पुग्यौं। जोगबुढामा अभियानकर्मी बसन्त र संघर्षसँग भेट भयो। उहाँहरु कला र गलाको प्रयोग गर्दै जनसंगठन विस्तारको काममा जुटिसक्नुभएको थियो। केही दिन उहाँहरुसँग रहेर विद्यार्थीहरुलाई संगठित गर्ने काममा लागियो। जोगबुढा आलिताल हुँदै सदरमुकाम डडेल्धुरा पुगेर शिक्षा क्याम्पसको भेला गर्यौं। काफलको रुखमुनि हरिसिंह मालको नेतृत्वमा बसेर क्याम्पस समिति बनायौं र उहाँकै नवयुग होटेलमा पाहुना भयौं।
अखिल (क्रान्तिकारी) को क्याम्पस समिति अध्यक्ष भएकै कारण संकटकाल लागु गरेपश्चात् उहाँलाई होटेलबाटै गिरप्तार गरियो, निर्मम याताना दिइयो र सेनाको हेलिकोप्टरमा राखेर कञ्चनपुर जेल सार्ने नाममा कायरतापूर्वक हत्या गरियो।
सहानाको टिमसँग छेलामा जम्काभेट
हामी चार जनाको टोली डडेल्धुरा जिल्ला समितिको पुनर्गठन गरेर जोगबुढा, छेला, पुर्णागिरी, खटिमा हुँदै पिथौरागढ पुगेका थियौं। हामी छेलाबाट किस्ती तर्ने तयारीमा रहेको बेला सहाना प्रधान नेतृत्वको नेकपा मालेको टिम पुर्णगिरी बाँध मार्चको लागि जोगबुढाको छेला पुगेको थियो। सहाना प्रधान प्रतिकूल स्वास्थ्यको कारण सदरमुकाममा बस्नु भएछ। छेलामा पहिलो पटक सिमाविद बुद्धिनारायण श्रेष्ठ, हिरण्यलाल श्रेष्ठसँग साक्षात्कार गर्ने मौका मिलेको थियो।
पिथौरागढदेखि दार्चुलासम्म
हाम्रो एक रात पिथौरागढमा मोहनजीको डेरामा बित्यो। मोहनजीले नै हामीलाई दार्चुला लिएर जानुभयो। सदरमुकाममा कुवँर जीको पाहुना भएर एकरात बिताएर हामी दार्चुलाको विकट ग्रामीण क्षेत्रमा प्रवेश गर्यौं। हामीलाई यो रुटको सबै सूचनासहित मार्गनिर्देशन कमरेड जयराज भट्टले गर्नुभएको थियो। हामीलाई कुँवर जीले सदरमुकामबाट नयाँ मान्छे गाउँतिर लाग्दा पुलिसले पीछा गर्ने भएकोले अँध्यारोमा नै हिडिहाल्न सुझाव दिनुभएको थियो।
हामीले बिहान अँध्यारोमै होटेल छोड्यौं। अलिकति माथि उक्लिएपछि डाँडामा बसेर थकान मेटायौं। पारी पट्टी भारतको धार्चुला झिलिमिली बत्तीले धपक्क बलेको छ। पहाडका बीच बीचबाट मोटर गाडी झल्लल बत्ती पार्दै र साइरन बजाउँदै हुइकिरहेका छन्। पहाडका कन्दराहरु पनि बिजुली बत्तीले उज्यालै छन्। यता महाकाली वारीपट्टिको हाम्रो सदरमुकाम भने औंशीको अन्धाकारमा डुबेको छ। निस्पट्ट अँध्यारोमा ठिङ्ग उभिएको अजङ्गको पहाडको धूमिल आकृति हाम्रो अगाडि खडा छ। मोटर देख्न पारी जानु पर्छ। नुन खोज्न पारि जानुपर्छ। दार्चुला र धार्चुलाको बीचमा एउटा फलामे पुल छ। पारीका मान्छेका अगाडि वारीका मान्छेको दर्जा नै फरक ठहरिन्छ। दिनानुदिन अपमानको भारी बोकेर जीवनका उकाली ओराली ब्यहोरिरहेको एउटा आम नेपालीको ब्यथा सिंहदरबारले स्पर्श गर्न त कता हो कता दिल्ली दरबारमा आफै लम्पसार परेर नेपाली जनमनमा अस्मिता लुटाइरहेको छ। यही हो हाम्रो व्यथा मोहन जी भन्दै हुनुहुन्थ्यो।
पिथौरागढमा उच्च शिक्षा हाँसिल गरिरहनुभएका उहाँ विषयको ज्यादै मसिनो बौद्धिक विश्लेषण गर्नुहुन्थ्यो। मोहन जीसँग अँध्यारोमा फुसफुसाउँदै हामी उकालो लागिरह्यौं। एउटा अजङ्गको उकाली पार गरेपछि हाम्रो पहिलो स्टेशन खार गाविसको सुण्डमुण्ड गाउँ बन्यो। खारमा हामी बेलुकापख मात्र पुगेका थियौं। सञ्चारविच्छेद भएर गाउँ पुग्दा झण्डै सुण्डमुण्डमा स्थानीय मिलिशियाको बन्दुकको निशानामा परिएन। दरो केरकारपछि मात्र न्यानो स्वागत पाइयो। दार्चुलाको दोश्रो रात सुण्डमुण्डमा बित्यो। सुण्डमुण्ड हाल नेकपाका प्रदेशसभा सदस्य कमरेड मानबहादुर धामी (सन्तोष)को गाउँ हो। उनी त्यतिबेला जनमुक्ति सेना १३ नं. प्लाटुनमा थिए। उनको गाउँ सेरोफेरोको मार्मा क्षेत्र माओवादी आन्दोलन विस्तार भैरहेको क्षेत्र रहेछ।
शोकधुनले पुर्याएको दरबार हत्याकाण्डको खबर
चराहरुको चिरबिर चिरबिर आवाजले निद्रा भङ्ग भयो। बाहिर सिमसिम पानी परिरहेको थियो। समाचार सुन्न रेडियो खोल्यौं तर एकोहोरो शोकधुन बजिरहेको थियो। एकाबिहान ! सिमसिमे पानी ! अनि शोकधुन ! विरक्त लाग्दोरहेछ। के भो होला? आपसमा प्रश्न प्रतिप्रश्न गर्यौं। केहीबेरको उकुसमुकुुसपछि रेडियोबाटै थाहा भो, बिनासकारी दरबार हत्याकाण्ड १ त्यसपछि थपिए थुप्रै प्रश्नहरु अब के हुन्छ? सरकारले माओवादी विरुद्ध शाही सेनाको परिचालन गर्न खोज्दा राजा विरेन्द्रले स्वीकृति दिएका थिएनन्। उनले माओवादी पनि यही देशका नागरिक भएकोले समस्यालाई सम्वादको माध्यमबाट हल गर्नुपर्छ भने भन्ने कुरा मिडियाबाट बाहिरिएको थियो। कतै यो हत्याकाण्ड पनि माओवादीविरुद्ध लक्षित त हैन भन्ने प्रश्न साथीहरुले उठाउनु भयो।
दिन ढल्किदै गर्दा पानी पर्न रोकियो। रेडियोले एकोहोरो शोकधुन र केही अपडेट दिइरहेको थियो। हामी मार्माको यात्रामा निस्कियौं। त्यो दिनको वेलुका हाम्रो बसाई मार्मामै भयो। जनभेला गरेर अन्तरक्रिया गर्यौं। माओवादीबारे थुप्रै भ्रमहरु रहेछन्, चिरफार गर्यौं। उक्त समय दार्चुलामा भर्खरै माओवादी गतिविधि विस्तार भइरहेको थियो। मानबहादुर धामी (सन्तोष), ललितसिंह ठगुन्ना (प्रविण) लगायत ६ जना कमरेडहरु सैन्य तालिमको लागि कैलालीमै हुनुहुन्थ्यो भने मानसिंह ठगुन्ना (विवेक) पार्टी कार्यकर्ताको रुपमा जिल्लामा क्रियाशील हुनुहुन्थ्यो।
हामीले उहाँलाई खोज्दै र विद्यार्थी भेलाका लागि प्रतिनिधि तयार गर्दै सिप्टी पुग्यौं। कमरेड विवेक सिप्टीमै हुनुहुँदोरहेछ। हामी पुगेको खबरले उहाँको भागदौड भएछ। किनकि शहरतिरबाट आएका जस्ता एउटै उमेर समूहका पाँच जना युवाहरुको उपस्थिति गाउँको लागि नयाँ हुने स्वाभाविक भयो। धेरै मेहेनेत गरेर मात्र हामीले आफ्नो परिचय दियौं तर पनि उहाँसँग भोलिपल्ट बिहान मात्र भेट हुन सक्यो। विवेकसँगको भेटपछि हामी जिल्ला भेलाको लागि २१ गते फेरि सुण्डमुण्डमै फर्केर आयौं।
कमाण्डर ढलेको असह्य खबर
दिदीहरु दामा शर्मा र माया भाट कैलालीबाट हाम्रो सम्पर्कमा आइपुग्नु भो। हामी छुट्टिएको करीब डेढ महिना भैसकेको थियो। डडेल्धुराबाट हिडेदेखि हाम्रो खबरको माध्यम रेडियो हो। त्यसको समाचार पनि कति पत्याउनु। कहिले बीबिसी पनि सुन्न बिर्सिन्छ। कैलालीमा माओवादीद्वारा प्रहरी चौकी कब्जाको अपुष्ट समाचार सुनिएको थियो तर यथार्थ थाहा थिएन।
कैलालीको खास खबर के हो भनेर दिदीहरुलाई सोध्यौं। दामा दिदीले पहिलो स्वरमै भन्नुभयो, “यसपालि पनि सुदूरपश्चिमको माटोले कमाण्डरकै रगतको माग गर्यो रमेश जी।” शुरुमा त मैले उहाँको कुरा बुझिनँ। उहाँ भन्दै जाँदा थाहा भयो, कैलालीको पहलमानपुरमा भएको ऐतिहासिक किसान विद्रोहको तीन दिनपछि २०५८ जेठ १६ गते लालबोझीको प्रहरी चौकी कब्जा गर्दा नवगठित प्लाटुनका कमाण्डर, मेरो प्रिय सहयोद्धा, एक कुशल कमाण्डर कमरेड आकाशको शहादत भएछ।
मलाई सम्हालिन गाह्रो भो। एकाएक दाङको सेल्टरमा उहाँले गरेका कुराको याद आयो। उहाँको शहादतको खबरले मर्माहत बनायो। साथीहरुले सम्हालिन आग्रह गर्नुभयो। कमाण्डरको भूमिकामा रहेर पूरा गर्ने कति सपना र योजनाहरु थिए उहाँका, सबै अधुरा भएर गए। मलाई अर्को गहुँगो जिम्मेवारीले थिचेको महशुश भयो।
दार्चुलाको त्यही विकट गाउँ सुण्डमुण्डमा विद्यार्थीको जिल्ला भेला सम्पन्न गर्यौं र भेलामा कमरेड आकाश लगायत सम्पूर्ण सहिदहरुको सपना पूरा गर्ने संकल्प गर्यौं। उक्त भेलामा सहिदको सपना पूरा गर्ने सपथ लिएका कमरेडहरु शरद अवस्थी (लोकेश) जनमुक्ति सेनाद्वारा गरिएको कालिकोट पिली आक्रमणमा सहिद हुनुभयो। उहाँ त्यतिबेला जनमुक्ति सेनाको कम्पनी कमिश्नार हुनुहुन्थ्यो। शिवराज ज्ञवालीलाई कैलालीमा शाही सेनाले नियन्त्रणमा लिई हत्या गर्यो। कमरेड विवेक दाचुर्लाकै गोकुलेश्वर इप्रका कब्जा गर्दा सहिद हुनुभयो भने माया दिदी र मोहन जीको पनि पार्टी काममा हिडिरहेको बेला कैलाली र दार्चुलामा शहादत भयो। कमरेड आकाशलगायत सम्पूर्ण आदरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
लालबोझी मोर्चा, सुपमा विजय अभियानको प्रारभ्भ
सेती महाकालीको पहिलो फौजी मोर्चामा कमाण्डर आफै बलिदान भएर लडाई जिताएको पनि १९ बर्ष पूरा भएछ। जुन विजयले सिंगो सेती महाकाली क्षेत्रको विजय अभियानको ढोका खोलेको थियो। त्यसको करिब एक महिनामै सेती महाकालीका पूरै ग्रामीण क्षेत्रबाट प्रतिक्रियावादी सत्ताको राजनीतिक र फौजी उपस्थिति रिक्त भएको थियो। फौजी कार्बाहीसँगसँगै अघि बढेका राजनीतिक तथा संगठन विस्तारका अभियानले क्षेत्रव्यापी रुपले माओवादी आन्दोलनमा ध्रुबीकरणको लहर सिर्जना भयो। आन्दोलनको त्यो पुँजी आज आ आफ्नो ठाउँबाट समाजवादी क्रान्तिको आधार तयार गर्ने दिशामा लागिरहेको छ।
परिस्थिति बदलियो, हामी पनि बदलियौं
संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानसभाबाट निर्मित नयाँ संविधान र कम्युनिष्ट पार्टीबीचको एकता र झण्डै दुई तिहाईको जनअभिमत इतिहासको त्यही अद्वितीय बलिदानको जगमा संभव भएको हो।
प्रिय कमरेड आकाश ! युद्धका संगीन मोर्चाहरु भन्दा खतरनाक र विस्मयकारी मोर्चाहरु शान्ति र समृद्धिको आवरणभित्र ढाकिएका हुँदारहेछन्। मानवजाति, वर्गीय पक्षधरता र राष्ट्रिय अस्तित्वको लडाई अझ चुनौतीपूर्ण मोडमा रहेको वर्तमानमा देश र जनताको मुक्तिभन्दा अरु सबैथोक तुच्छ ठान्ने तिम्रो महान आदर्शलाई प्रेरणाको रुपमा लिने कोशिस गरिरहेको छु।
प्रिय कमरेड, तपाईको बुवा आमा दाङ दङ्गीशरण गाउँपालिकाको हेकुलीमा जीवनका उतरार्ध ब्यथित गरिरहनुभएको छ। तपाईको जीवनसंगीनी (हाम्री दिदी) पूर्णिमा बोहरा आफ्ना तीन छोरा र छोरीको साथ दङ्गीशरणमै जीवन निर्वाह गरिरहनुभएको छ। छोराहरु जीवनको खोजीमा कहिले देश र कहिले विदेशमा जवानी खर्चिरहेका छन्।
प्रिय आकाश, मैले नढाँटी भन्नुपर्छ- पार्टी कार्यकर्ता र सहिद तथा बेपत्ताका आफन्तजनलाई राजनीतिक चेतनाले लैस बनाउने, संगठित गर्ने र समाज रुपान्तरणको ऊर्जामा बदल्ने अभियानमा हामी चुकिरहेका छौं। हामी व्यक्तिगत स्वार्थ, सत्तास्वार्थ र निजत्वले नराम्रोसँग जेलिएका छौं। राजतन्त्र ढालेर आएका हामी क्रान्तिकारी गणतन्त्रमा क्रान्तिकारी समाजवादी बन्न डराइरहेका छौं। हामी वर्गीय पक्षधरताका लागि होइन, पद र प्रतिष्ठाका लागि मरौला जस्तो गर्छौं। जनयुद्धले स्थापित गरेको त्याग, बलिदान र समर्पणको संस्कृति नेतृत्वको कुर्सीको रिले दौडमा बदलिएको देख्दा नयाँ ढँगले मनविद्रोहलाई जनविद्रोहमा संगठित गर्न थालौंजस्तो लाग्न थालेको छ।
अन्तमा, पुनः भावपुर्ण श्रद्धाञ्जली !
घर परिवार, निजत्व, व्यक्तिगत आकांक्षाभन्दा माथि, कयौं माथि मानव जीवनको मुल्य खोज्दै दुनियाँको मुक्तिको सपनामा सचेततापूर्वक आफ्नो जीवनको बलि चढाउने महान योद्धा कमरेड आकाश लगायत सम्पूर्ण स्वप्नाद्रष्टा महान सहिदहरुमा उन्नाईसौं स्मृति दिवसको सन्दर्भमा हार्दिक श्रद्धाञ्जली !
२०७७ जेठ १६ काठमाडौं